पिण्डेश्वर, दन्तकाली र बुढासुब्बाको मौलिकता जोगाउन पुरात्तत्वको चासो

धरान,माघ १ । धरानको विजयपुरगढीमा अवस्थित ऐतिहासिक एवं पौराणिक महत्व बोकेका मठमन्दिरहरुको मौलिकता हराउदै गएको भन्दै पुरात्तत्व विभाग यसको संरक्षणमा जुटेको छ ।
सरोकारवालाहरुको वेवास्ता एवं लापरवाहीले यहाँका महत्वपुर्ण मन्दिरहरुको परम्परागत शैली एवं मौलिकता हराउदै गएपछि विभाग चिन्तित बनेको हो । धरान १४, विजयपुरगढीमा धार्मिक एवं ऐतिहासिकरुपमा महत्वपुर्ण बुढासुब्बा, पिण्डेश्वर र दन्तकाली मन्दिर छ । यी तीन मन्दिरहरु ऐतिहासिकरुपमा सेनकालीन समयको करिब ५ सय बर्ष पुरानो पुरात्तात्विक मह्तवको मानिन्छ भने धार्मिकरुपमा पनि यी मन्दिरहरु ठुलो आस्थाको केन्द्र बनेको छ । ती मठमन्दिरहरुको मौलिकता संरक्षण गर्न अहिले विभाग तीन वटै मन्दिरहरुको गुरुयोजना बनाउने तयारी गरिरहेको छ । यसको लागि विभागको टोलीले तीन वटै मन्दिरलाई मौलिक एवं परम्परागतशैलीमा संरक्षण गर्न ड्रइङ डिजाइन गरिरहेको छ । ‘यहाँको मठमन्दिरहरु पुरात्तात्विक महत्वका छन्, त्यसैले यी मन्दिरहरुमा जथाभावी आधुनिक सामग्री प्रयोग गरेर संरचनाहरु बनाउनुहुन्न,’विभागका उपसचिव सन्दीप खनालले भने,‘हाम्रो चासो भनेको मन्दिरहरुको जीर्णोद्धार, पुनर्निमाण, मर्मत गर्दा परम्परागत शेलीमा होस्, मौलिकता नमेटियोस् भन्ने हो ।’
आर्किटेक र सिभिल इञ्जिनियरसहित आएको विभागको टोलीले आइतबार र सोमबार पिण्डेश्वर र दन्तकाली मन्दिरको स्थलगत अध्ययन गरेको छ भने बुढासुब्बा मन्दिरको पहिल्यै स्थलगत अध्ययन गरिसकेको जनाएको छ । तिनै वटा मन्दिरहरुको गुरुयोजना तयार गरेर त्यसैअनुरुप मात्र संरचनाहरु बनाउन पनि स्थानीय तह, व्यवस्थापन समितिहरुलाई आग्रह गरिने विभागको भनाई छ । ‘उपमहानगरपालिकाले पहिलो प्राथमिकता दिन्छौ भनेको छ, हाम्रो डिजाइन पहिला त्यही बझुाउछौं । त्यहाँबाट सक्दैनौं भनेपछि विभागले पनि निर्माणमा समन्वय गर्छ,’उपसचिव खनालले भने,‘मौलिकता बिग्रने गरी जथाभावी संरचना बन्न नदिन स्थानीय सरकार, मन्दिर व्यावस्थान समिति र स्थानीयबासीहरुले पनि चासो राख्नुपर्छ ।’
दन्तकाली मन्दिरको परम्परागत शैली एवं मौलिकता परिवर्तन भई आधुनिक शैलीको संरचना निर्माण भएकोप्रति विभाग बढी चिन्तित बनेको हो । पछिल्लो समय दन्तकाली मन्दिरमा ग्रेनाइडको छानो हाल्न थालेपछि विवाद उब्जिएको थियो । उपमहानगरपालिकाले ग्रेनाइडको छानो हाल्न रोक लगाए पनि हालसम्म विवाद थाती नै छ । उपमहानगरले नै यसबारेमा विभागलाई पत्राचार गरेर जानकारी दिएको थियो । सती देवीको दन्त पतन भएको मानिने दन्तकाली हिन्दुधर्मावलम्बीहरुको प्रसिद्ध शक्तिपिठमध्ये एक हो । ऐतिहासिक दृष्टिकोणले भने यो पुरात्तात्विक महत्वको मन्दिर हो । विजयपुरका तीन मुख्य मन्दिरमध्ये दन्तकालीको स्वरुप धेरै फेरिएको जानकारहरु बताउछन् ।
दन्तकाली मन्दिर पहिला गुम्बज शैलीमा थियो । २०४५ सालको भुकम्पले क्षति पुगेपछि यसको पुनर्निमाण गरिदा फेरिएर प्यागोडा शैलीमा निर्माण भएको हो । अन्य सबै संरचनाहरु पनि मौलिकरुपमा नभई आधुनिक शैलीमा नै निर्माण भयो । पिण्डेश्वर र बुढासुब्बामा पनि ख्याल नगरी जथाभावी संरचना बनाउने गरिएको छ । नेपालको प्राचीन स्मारक संरक्षक ऐन २०१३(पाँचौ संशोधन)ले सय बर्ष नाघेका मौलिक संरचना, सम्पदाहरुलाई पुरात्तात्विक भनेको छ । यस्ता संरचना एवं सम्पदाहरु मौलिक स्वरुपमा नै हुनुपर्ने विभागको भनाई छ । तर, यहाँका मठमन्दिरहरुको मौलिकता संरक्षणमा भने कसैले पनि चासो नदिदा आधुनिक मठमन्दिरकोरुपमा ठडिएको पाइन्छ । ‘पहिला जस्तो थियो, त्यस्तै शैलीमा बनाउ भन्यो भने विभाग तयार छ, तर हामीसँग बजेट कम छ । स्थानीय, उपमहानगरपालिकाले सहयोग गर्यो भने भत्काएर मौलिक, परम्परागत शैलीमा बनाउन सकिन्छ,’उपसचिव खनालले भने,‘सिमेन्टको प्रयोग मान्दैनौं, त्यसको विकल्पमा सुर्की चुना प्रयोग गर्नुपर्छ । यसको आयु नै सय बर्षबाट सुरु हुन्छ । मौलिक स्वरुप, उचाई, आकार, प्रकार होस भन्ने हाम्रो सरोकार हो ।’
विभागका अनुसार पुरात्तात्विक महत्वका संरचनाहरुमा सिमेन्ट, मार्वल वा ग्रेनाइडजस्ता कुनै पनि सामग्री निर्माण गर्न दिइनुहुदैन । यसमा स्थानीय बासिन्दा, उपमहानगरपालिका आफै पनि सचेत र सजग हुनुपर्छ । वडा १४ का अध्यक्ष कृष्ण भटराईले आफ्नो वडाको सम्पदाको मौलिकता संरक्षण गर्न वडा, नगरपालिकाबाट पहल गर्ने बताए । उनले भने,‘विभागको सुझाव अनुसार यी सम्पदाको मौलिकता जोगाउन पहल गछों । स्रोतको खोजी गरेर व्यवस्थान समिति, पुजारी, गुठीसबै निकायसँग छलफल र समन्वय गर्छु ।’
........................................................

                                    उत्खनन गर्न तयार छौं ः विभाग


विजयपुर गढीमा अवस्थित भताभुङ्गे राजाको दरबार भनिने सेनवंशी राजाको दरबार क्षेत्रमा उत्खनन गर्न पुरात्तत्व विभागले चासो देखाएको छ । यसको लागि सरोकारवाला समुदाय र धरान उपमहानगरपालिका सहमत भए विभागले उत्खनन गर्ने उपसचिव खनालको भनाई छ । ‘भताभुङ्गे दरबार भनिएको सेनवंशी राजाको दरबार हो, यसको उत्खनन गर्न पायौं भने पर्यटनको हिसाबले त फाइदा हुन्छ नै, इतिहासको निरन्तरतालाई पनि जोड्न सक्छौं,’खनालले भने,‘पाल्पा, मकवानपुरका सेनवंशी इतिहासलाई विजयपुर निरन्तरता दिनसक्छौं ।’ उपसचिव खनालले उपमहानगरपालिकाबाट उत्खननको सहमतिसहित पत्र प्राप्त भए विभागले काम शुरु गर्ने बताए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे