धरानमा पुष्प व्यापार मेला शुरु(फोटोफिचर)

धरान,पुष २७। ‘घर आगन होस या नदि किनारा, रोपी स्वदेशी फुल विरुवा बनाउ पुर्वाञ्चल हराभरा’ भन्ने नाराका साथ दोस्रो पुर्वाञ्चल पुष्प व्यापार मेला बिहिबारदेखि शुरु भएको छ ।
पाँच दिने पुष्प व्यापार मेला धरान १२ स्थिन अमान बजारमा शुरु भएको हो । फ्लोरिकल्चर एशोसिएशन नेपालले आयोजना गरेको मेलामा ३० वटा व्यावसायिक स्टलसहित ३२ वटा स्टल राखिएको छ । पुष्प मेलामा फुलसँगै एउटा अग्र्यानिक कृर्षि उत्पादनको स्टल पनि छ । मेलामा मौसमी फुलहरु, आलंकारिक बोटविरुवा, सुनाखरी, कम्पोष्ट मल, फुलको गानो, विउविजन, कृर्षि औजार, उपकरण, ग्रिन टि,प्याकेजिङका सामग्रीहरुको प्रर्दशनी तथा बिक्री कक्ष राखिएको छ । ‘गत बर्षको भन्दा व्यवस्थित र बढी पुष्प व्यावसायीहरु सहभागी छन्, सर्वसाधारणहरुको पनि फुलप्रति धेरै नै चासो बढेकोले हामीलाई पनि उत्साह दिलाएको छ,’ मेला संयोजक एवं एशोसिएशनका उपाध्यक्ष रामजी प्रसाद तिम्सिनाले भने ।
आयोजकका अनुसार मेलामा भारतको दार्जिलिङका पुष्प व्यावसायीको पनि सहभागीता रहेको छ भने इलाम, झापा, मोरङ र सुनसरीका डेढ दर्जन बढी पुष्प व्यावसायीहरु पनि छन् । यसपाली फुलको सिजनमा पुष्प मेला भएकोले गत बर्षभन्दा बढी प्रकारका फुलहरु पाइने आयोजकको भनाई छ । पुषदेखि जेठ महिनासम्मलाई फुलको मुख्य सिजन मानिन्छ । गत बर्ष फागुनमा मेला आयोजना भएको थियो । ‘गत बर्षको भन्दा यसपाली धेरै नै फरक र भेराइटीका फुलहरु छन्,’एशोसिएशनका जिल्ला समितिका अध्यक्ष पुष्प व्यावसायी खगेन्द्र पोख्रेलले भने,‘आफुले चाहेअनुसारको फुलहरु लैजान सक्नुहुन्छ ।’
यसपाली गोदावरी, अर्किड, एन्थोरियमको भेराइटी, एन्टेरियम, लालुपाते, क्याकटस, एजेलिया, क्याटेलिया, फनिक्स, डेलिया, साल्बिया, क्यामेलिया, गुलाब तथा बोइन्साइहरु धेरै प्रकारको फुल र बोटविरुवा स्टलमा छन् । मेलामा सय भन्दा बढी प्रकारका फुलहरु छन् । ‘सानो विरुवा १० रुपैयादेखि डेढ लाखसम्मको विरुवा, फुलहरु पनि राखिएको छ,’ एशोसिएशनका जिल्ला सचिव प्रेम पराजुलीले भने,‘धेरै ठाउँबाट नर्सरीहरु आएको छ, एउटामा नभएको फुल र विरुवा अर्कोमा पाइन्छ । नयाँ नयाँ विरुवा र फुलको प्रजाति विकास भइसकेको हुन्छ, त्यो पनि देख्न र किन्न पाइन्छ ।’
विदेशी फुलको आयातलाई कम गर्न स्वदेशमा नै पुष्प व्यावसायीहरुको संख्या वृद्धि गर्न पुष्प मेला गरिएको आयोजकको भनाई छ । पुष्प मेलाहरुले व्यावसायको बजारीकरण, विकास, विस्तारका साथै सर्वसाधारणहरुलाई फुल एवं बोटविरुवाप्रति अभिरुची बढाउने एशोसिएशानले जनाएको छ । नेपालमा सन् १९५० देखि काठमाण्डौंबाट सामान्यस्तरको पुष्प व्यावसाय शुरु भएको मानिन्छ । पछि पोखरा, हेटौडा, काभ्रे, विराटनगर, धरान, धनगढीलगायत शहरमा पनि पुष्प व्यावसाय विस्तार भएको हो । आर्थिक बर्ष २०७३/०७४ सम्म आइपुग्दा ३९ जिल्लामा करिब ६ सय ७८ पुष्प व्यावसायीहरु भइसकेका छन् भने करिब १ सय ५३ हेक्टर क्षेत्रफलमा पुष्प व्यावसाय भइरहेको एशोसिएशनले जनाएको छ । आर्थिक बर्ष २०७३/०७४ मा कुल १ अर्ब ७१.२९३ करोड बराबर फुलको करोबार भएकोमा निर्यात भने ३.६५ करोड मात्र भएको छ ।
मेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं धरानका मेयर तारा सुब्बाले पर्यटन प्रर्वद्धन गर्न धरानलाई फुलको शहरकोरुपमा विकास गर्न चाहिरहेको बताए । साथै उनले पुष्प प्रर्दशनी तथा मेलाको लागि बजेट गर्ने र त्यसअघि पुष्प व्यावसायीहरुसँग पनि छलफल गर्ने प्रतिवद्धता जनाएका थिए । एशोसिएशनका केन्द्रीय अध्यक्ष कुमार कसजुले बजेट बिनियोजन अघि पर्याप्त छलफल गर्न सुझाव दिएका थिए । सरोकारवालाहरुसँग छलफल गरेर अघि बढेमात्र फुलको सहर बनाउने लक्ष्य धरानको पुरा हुने उनले बताए ।
....................

                              रितु नर्सरी प्रथम

पाँच दिने पुष्प व्यापार मेलामा सहभागी नर्सरी एवं स्टलहरुमा इटहरी २४, तरहराको न्यु रितु नर्सरी प्रथम भएको छ । बिहिबारदेखि शुरु भएको मेलामा सजावट, विरुवालगायतको आधारमा नितु नर्सरी पहिलो घोषित भएको हो । यस्तै, सुन्दर हरैचा १२ विराटचोकको दिपेश नर्सरी दोस्रो भएको छ भने दमक ११ को महादेव नर्सरी तेस्रो भएको छ । उनीहरुले क्रमशः नगद ४ हजार २ सय, ३ हजार ४ सय र २ हजार ६ सय नगद र ट्रफी पुरस्कार हात पारे ।
यस्तै, महादेव नर्सरीले अर्नामेन्टल प्लान्टमा पनि उत्कृष्ट घोषित हुदै नगद थप १ जार ७ सय र ट्रफी थाप्यो भने पवित्रा नर्सरीले सिजनेवलमा उत्कृष्ट हुदै नगद १ हजार ७ सय र ट्रफी हात पार्यो । न्यु गोर्खा मिलिनियम नर्सरीले अर्नामेन्टल फ्लवरमा उत्कृष्ट घोषित हुदै नगद १ हजार ७ सय हात पार्यो । विजेता तथा उत्कृष्ट नर्सरी सञ्चालकहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं मेयर तारा सुब्बाले नगद र ट्रफी हस्तान्तरण गरेका थिए ।















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे