खानेपानी आयोजनामा १८ बुँदे सहमति


धरान,माघ ११ । विजयपुर दरबार क्षेत्र परिसरमा खानेपानी टंकी बनाउन रुखहरु काटिएपछि विवाद उत्पन्न भएर रोकिएको एककिृत शहरी विकास आयोजनाअन्तर्गत धरान खानेपानी आयोजनाको विजयपुर सब–सिस्टमको काम अघि बढाउन सहमति जुटेको छ ।
चार किरातजन्य संघसंस्था, विजयपुर दरबार संरक्षण संघर्ष एवं वार्ता समिति र धरान उपमहानगरपालिकाबीच विभिन्न १८ बुँदे सहमति भएको हो । पटक पटकको वार्ता र संवादको क्रममा पछिल्लो पटक माघ ९ गते दुवै पक्षबीच भएको सहमतिलाई बिहिबार उपमहानगरपालिकामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो । यो सहमतिसँगै आयोजनालाई विजयपर दरबार क्षेत्र परिसरमा प्रस्तावित ६ लाख लिटर क्षमताको खानेपानी टंकी निर्माण गर्ने बाटो खुलेको छ । २०७३ चैतमा किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाजलगयातको विरोधपछि विजयपुर सब–सिस्टमको निर्माण कार्य पुर्णरुपमा रोकिएको थियो ।
सहमतिको पहिलो बुदामा नै आजको मितिमा सहमति भएकोले निर्माण कार्य अगाडि बढाउने उल्लेख छ । यस्तै, विगतको सहमतिअनुसार प्राविधिक टोलीले आन्दोलनकारीको तर्फबाट विकल्पको रुपमा अघि सारेको विजयपुरको पुरानो पानी ट्याँकी र शिवधारा सामुदायिकवनको अधिनमा रहेको वेशक्याम्प मोड माथिको जमिनको स्थलगत अध्ययन गरेपनि उपयुक्त नभेटेपछि आयोजनाले अघि सारेको स्थानमा नै टंकी निर्माण गरी धराने जनताहरुलाई खानेपानीउपलब्ध गराउनु पर्ने भएको उल्लेख छ । रुख फाँडिएको ७ कठ्ठा जमिनमध्येको कुनै छेउ २ कठ्ठा जग्गामा पुजास्थललाई असर नपारी खानेपानी ट्याङ्की निर्माण गर्ने र वाँकी जमिनआई.एल.ओ. महासन्धी १६९ अनुरुप क्षतिपुर्तिको रुपमाआदिवासी ४ किरातहरुको साँस्कृतिक स्थलको रुपमाप्रयोग गर्न दिने पनि सहमति भएको छ ।
यस्तै,विजयपुर क्षेत्रमा रहेको बुद्धिकर्ण दरवार, मठ, मन्दिरहरुलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्नको लागि अविलम्ब आन्दोलनकारीहरुको सहमतिमा विज्ञ टोली गठन गरी उपमहानगरपालिकाको तर्फबाट यही आर्थिक बर्षमा २०७४÷७५ बाट बजेट विनियोजन गरी कार्य अगाडि बढाइने पनि सहमति भएको छ । साथै, यही आर्थिक बर्षमा बजेट विनियोजन गरी विजयपुर दरवार संरक्षण समितिको सहभागितामा दरवारको सिमाङ्कन र संरक्षणका लागि घेराबाराको कार्य थालिने सहमति भएको छ । विजयपुर दरवार संरक्षण समितिलाई उपमहानगरपालिकाको तर्फबाट मान्यता दिई उपलब्ध भएको नामावलीलाई र समितिलाई मान्यता दिईएको पनि सहमतिमा उल्लेख छ । विजयपुर दरबार क्षेत्रलाई संरषण तथा धार्मिक पर्यटकीयस्थलकोरुप्मा विकास गर्न बजेट विनियोजन गर्ने, एडिविको सेफ गार्डिङ पोलेसी अनुरुप ४ किरात आदिवासी संघसंस्थासँग धरान उपमहानगरपालिकाले लिखित अनुमति लिनेलगयात महत्वपुर्ण सहमति भएको छ ।
विजयपुर दरवार भएको ठाउँ वा विजपुर गढीमा भएको बसोबास सम्मानजनक ढंगबाट स्थानान्तरण गरी सो स्थानमा दरवारको संरचना निर्माण गरी हाङ बुद्धिकर्ण रायको सालिक निर्माण गर्ने । विजयपुरको उत्तर तर्फ विजयपुरका संस्थापक विजयनारायणको दरवार भएकोले सो स्थानलाई दरवारको प्राचिन संरचना निर्माण गरी विजयनारायण रायको शालिक निर्माण गर्ने, विजयपुर दरबार क्षेत्रमा खानेपानीको टंकी तथा भौतिक पूर्वाधारहरुको निर्माण गर्दा चार किरात आदिवासीको संस्कृति झल्कीने गरी निर्माण गर्नेलगयात सहमति भएको छ । सहमतिमा वार्ता एवं संघर्ष समितिकोतर्फबाट यायोक्खा जिल्ला अध्यक्ष कमला राई, याक्खा छुम्मा अध्यक्ष रेवत याख्खा, चुम्लुङ अध्यक्ष मोहनकुमार हुक्पा चोङवाङ, सुनुवार सेवा समाजकी अध्यक्ष ऐशा सुनुवार, वार्ता समिति सदस्य गोपाल देवान, कमल लिम्बू, शालिक सतासक, हेमन सुनुवारलगयातको हस्ताक्षर रहेको छ । यस्तै, धरान उपमहानगरपालिकाकोतर्फबाट प्रमुख तारा सुब्बा, उपप्रमुख मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकीय अधिकृत गणेण तिम्सिना, आयोजना व्यवास्थापक राजु पोखरेल, वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद खतिवडाको हस्ताक्षर रहेको छ ।
मेयर सुब्बाले सहमतिलाई शुक्रबार बस्ने कार्यपालिका बैठकबाट अनुमोदन गरि खानेपानी आयोजनाको कामलाई अघि बढाउने प्रतिक्रिया दिए । उनले भने,‘महत्वपुर्ण सहमति भएको छ, कार्यपालिका बैठकबाट यो सहमतिलाई अनुमोदन गरेर आयोजनाको कामलाई अघि बढाउछौं ।’ विजयपुर सब सिस्टममा आएको विवादले आयोजनाका काम रोकिएर तोकिएको समयमा सम्पन्न भएको छैन भने थप ९ महिनाको म्याद पनि घर्किन लागेको छ । एक अर्ब ४८ करोड लागतको आयोजनाको बजेट पनि बृद्धि भएर पौने २ अर्ब पुगिसकेको आयोजनाको भनाई छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे