नयाँ पदमार्ग तथा होम स्टेबारे अध्ययन

धरान,पुष २३ । आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि धरान र आसपासको क्षेत्रमा नयाँ पदमार्ग र होम स्टे(घरबास) को सम्भाव्यताबारे धरान उपमहानगरपालिकाको एक टोलीले स्थलगत अध्ययन गरेको छ ।
धरान पर्यटन प्रर्वद्धन समितिको सहसंयोजक किसोर थुलुङको नेतृत्वमा पत्रकारसहितको एक टोलीले नयाँ पदमार्ग र होम स्टेबारे स्थलगत अध्ययन गरेको हो ।
पर्यटनको विकास तथा प्रर्वद्धनबारे लामो समयदेखि धरानमा चर्चा चलेपनि उपमहानगरपालिकाले स्थलगत अध्ययन गरेको यो पहिलो हो । करिब डेढ दशकपछि नयाँ अधिकारसहित जनप्रतिनिधि चुनिएपछि उपमहानगरपालिकाले धरान पर्यटन प्रर्वद्धन समिति गठन गरेको छ । समितिले पहिलो चरणअन्र्तगत धरानमा पदमार्ग र होम स्टेबारे अध्ययन गरेको जनाएको छ । ‘कुन कुन ठाउँहरु पदमार्गको गन्तव्यस्थल छन्, नयाँ कुन कुन हुनसक्छ र ती ठाउँहरुमा होम स्टेको सम्भावना कतिको छ भनेर स्थलगत अध्ययन अवलोकन कार्य शुरु गरेका छौं,’समितिका सहसंयोजक थुलुङले भने,‘स्थानीयहरुसँग छलफल गर्यौं, नयाँ पदमार्गसँगै स्थानीयले पर्यटनबारे कति बुझेका छन् भन्ने पनि हामीलाई स्पष्ट भयो ।’
पदमार्ग अध्ययन टोली धरान ४ वसन्तटारस्थित अग्र्यानिक गाउँ हुदै दानाबारी र गढीथुम्की पुगेको थियो । दानाबारीमा वडा ४ का अध्यक्ष मानबहादुर राई र स्थानीयबासीसँग होम स्टेबारे छलफल गरेको थियो । दानाबारी पछिल्लो समय धरानेहरुको लागि हाइकिङ गन्तव्य बनेको छ । यहाँको भ्यु पोइन्टबाट मौषम खुल्दा धरानको सतप्रतिशत सुन्दर दृष्यावलोकन गर्न सकिन्छ भने तराईको मनोरम दृष्य पनि देखिन्छ । छलफल सकरात्मक भएपनि स्थानीयबासीलाई पर्यटन, होम स्टे र यसको महत्वबारे बुझाउन प्रर्वद्धनअघि सचेतनाको खाँचो रहेको सहसंयोजक थुलुङले बताए । ‘प्रर्वद्धन र विकास गर्छु भनेर मात्र नहुने रहेछ । पर्यटन के हो, पर्यटकलाई कसरी सेवा सत्कार गर्ने, के दिने र के लिने, कसरी लिने भनेर पहिलो चरणमा बुझाउनु पर्ने रहेछ,’थुलुङले भने,‘दानाबारी हुदै सागुरीगढी गाउपालिकाको काम्फेक निस्कने नयाँ रुट पहिचान गर्यौं, प्राकृतिक सुन्दरता छ, त्यसमा थप आकर्षण बढाउनु मात्र पर्छ । तर स्थानीयमा पर्यटनको आधारभुत कुरा बुझाउनै बाँकी छ ।’
अध्ययन टोली दानाबारीबाट हर्दिया, सेर्गे हुदै भेडेटारको काम्फेक पुगेको थियो । त्यहाँ पनि होटल व्यावसायीसँग छलफल गरेको टोली ऐतिहासिक सागुरी गढी हुदै धरान फर्किएको थियो । टोली फर्कदा धरान धनकुटा कोशी राजमार्ग सञ्चालनमा आउनुअघि सर्वसाधारण हिड्ने बाटोबाट धरान झरेका थिए । दानाबारी, हर्दियादेखि सेर्गे गाउँ हुदै नाम्जेको बीचमा इको ट्रयाक र क्यानोनिङको लागि उपयुक्त स्थल पनि फेला परेको समितिका सदस्य एवं साहसिक खेल पर्यटनसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणी जिमीले बताए । ‘मान्छेहरु प्रकृति र ग्रामिण वातावरण मन पराउछन् । दानाबारीदेखि नाम्जेसम्म इको ट्रयाक हो, यो मार्गमा वनस्पति, धरातलीय वनावट असाध्यै आकर्षक छ । बाटोमा वाटरफल झरना पनि भेट्यौं, क्यानोनिङको सम्भावना पनि छ,’इको टुरिज्ममा मास्टर्स गरेका जिमीले भने,‘अचेल गाउँ पनि शहर जस्तै छ, तर यो पदमार्गमा पहिलाको जस्तै ग्रामिण जनजीवन, रहनसहन देख्न पाइन्छ ।’
यो पदमार्गमा दानाबारीसम्मको १ दिनको हाइकिङ  गर्न सकिन्छ भने २ दिन एक रात वा ३ दिन २ रातको प्याकेजमा ट्रेकिङ गर्न सकिन्छ । पर्यटन प्रवद्र्धन समितिले गन्तव्यस्थलको पहिचान र साहसिक खेल प्रर्वद्धन गर्न सहसंयोजक राई र सदस्य जिमीलाई जिम्मा दिएको थियो । टोलीले चाडै विष्णुपादुका क्षेत्रमा पनि पदमार्ग पहिल्याउने छ । यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुल प्रवेशद्धार अघिको रुपलाई सुन्दर बनाउन सदावहार फुल रोप्नको लागि प्रतिष्ठान र वडा १८ सँग पनि सहकार्य गरिने समितिले जनाएको छ । यस्तै, सदस्य कृष्ण साहको नेतृत्वमा भानुचोकदेखि छाताचोकससम्म रेलिङ मर्मत गरी फुल रोप्ने, वडा १४ का अध्यक्ष कृष्ण भटराईको नेतृत्वमा विजयपुर क्षेत्रमा पुर्वाधार बढाउनलगायतको कार्यविभाजन गरेको समिति सहसंयोजक थुलुङले बताए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे