इञ्जिनियरीङ तथा इन्डष्ट्रियल एक्स्पोमा गृहणी पनि दंग(फोटोफिचर)

धरान,पुष २६ । घर नजिकै एक्स्पो लागेको खबरले विद्यार्थीहरुले के गरेका रहेछन् भन्ने कौतुहलताले धरान ८, साम्पाङ चोककी गृहणी आरती मगर बुधबार दिउसो पुर्वाञ्चल क्याम्पसको खेल मैदानमा पुगिन् । इञ्जिनियरीङ तथा इन्डष्ट्रियल एक्स्पोमा राखिएको प्रविधि तथा मेशिन, औजारहरु देखेर उनी दंग परिन् ।
उनले उहिल्यै हातले धान रोपेकी थिइन् । एक्स्पोमा धान रोप्ने मेशिन राखेको देखिन् । मेशिनबाटै मकै छोडाउन सकिने प्रविधि पनि हेरिन् । भुकम्प प्रतिरोधी घर कस्तो हुन्छ ? कसरी सुरक्षित हुन्छ भन्ने पनि बुझिन् । ‘विद्यार्थीहरुले के के बनाएको रहेछ, हेरौं भनेर आएको त धेरै राम्रो कामहरु गरेको रहेछ,’अवलोकन गर्दै गरेकी मगरले प्रतिक्रिया दिदै भनिन्,‘कम मेहनतमा धेरै काम हुने मेशिन, औजारहरु रहेछ ।’ गृहणी मगरले बुझे जस्तै बुधबारदेखि शुरु भएको तीन दिने एक्स्पोमा विद्यार्थीहरुले आविष्कार गरेका अथवा व्यावहारिकरुपमा प्रयोग गरेका नयाँ प्रविधिहरु प्रर्दशनीमा राखिएका छन् । ती प्रविधि, मेशिनहरुले ठुला उद्योग, कलकारखानादेखि कृर्षि क्षेत्र र नागरिकको दैनिक जीवनलाई सहज बनाउन सक्ने विद्यार्थीहरुको भनाई छ ।
अध्ययनको क्रममा आफुहरुले व्यावहारिकरुपमा गरेको प्रोजेक्ट वर्क अथवा आविष्कारहरु समाजको लागि उपयोगी सिद्ध हुने इलेक्ट्रोनिक्स दोस्रो बर्षका विद्यार्थी रेगन कार्कीले बताए । उनले भने,‘पढाईको क्रममा व्यावहारिक प्रयोग गर्दा केही न केही उपलब्धी, प्रविधिको आविष्कार भएको छ, यी सबै व्यक्तिगतरुपमा होइन समाजलाई नै उपयोगी हुन्छ । एक्स्पोले यस्ता खोज, आविष्कारहरु सबैको सामु पुर्याउछ ।’ उनको टिमले आवाजले नै बत्ति, पंखा, टिभि, एसि बन्द र खोल्न सकिने प्रविधिको विकास गरेका छन् । तीन दिने एक्स्पोको पहिलो दिनमा नै अवलोकनकर्ताहरुको भीड लागेको थियो । ती मध्ये अधिकांश स्कुल, कलेजका विद्यार्थीहरु निक्कै चासोका साथ एक्स्पोमा पुगेका थिए ।
यो एक्स्पो पुर्वाञ्चल क्याम्पसस्थित नेपाल तराई विद्यार्थी नवजागरण संघले आयोजना गरेको हो । एक्स्पोमा ५० वटा स्टल रहेको छ । सोही क्याम्पसका सिभिल, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल, आर्किटेक, कृर्षि इञ्जिनियरीङ, मेकानिकललगायत विभिन्न विभागका विद्यार्थीहरुको प्रोजक्ट वर्क अर्थात नयाँ खोज, आविष्कारहरु प्रदर्शनीमा राखिएको छ भने इटहरी, धरानलगायत विभिन्न स्थानका प्राविधिक कलेज र विद्यालयका विद्यार्थीहरुले पनि आफ्नो प्रोजेक्ट प्रर्दशनीमा राखेका छन् । एक्स्पोमा विउ छर्ने मेशिन, आकाशे पानीलाई संकलन गरेर पिउन योग्य बनाउने प्रविधि, सोलर ड्रायर, धान रोप्ने मेशिन, मोवाइलबाट एलइडि स्क्रिनमा सुचना पठाउने प्रविधि, भुकम्प प्रतिरोधी घर, घुम्ने पुल, फ्लाई ओभर सिस्टम, आवजले नै बत्ति, पंखा, एसि, टिभि खोल्न र बन्द गर्ने अटो मोसन प्रविधिलगायत खोज तथा आविष्कारहरु अवलोकन गर्न सकिन्छ । आयोजक संघले तीन दिने एक्स्पोमा कम्तीमा २५ हजारले अवलोकन गर्ने अनुमान गरेको जनाएको छ । एक्स्पोको क्रममा क्याम्पस भित्रका विद्यार्थीहरुबीच मेज सल्भ वार र कलेज बाहिरका विद्यार्थीहरुबीचमा रोबो वार प्रतियोगिता पनि हुनेछ । यसको लागि रोबोटिक क्लबले विभिन्न कलेज र स्कुलका विद्यार्थीहरुलाई प्रशिक्षणसमेत गराएका थियो ।
कृर्षि इञ्जिनियरीङका विभागीय उपप्रमुख समीर शाक्यले एक्स्पोमा राखिएको विद्यार्थीहरुको आविष्कारले प्रदेश नं १ लाई इञ्जिनियरीङ र औद्योगिक क्षेत्रमा उचाईमा पुर्याउन सकिने बताए । ‘हामीसँग पुजी र जनशक्तिको कुनै अभाव छैन, खाँचो छ त सही प्रविधिको, औजार वा मेशिनको । त्यही कारणले जति उत्पादकत्व राष्ट्रले पाउनुपर्ने हो, पाएको छैन’उनले भने,‘यस्तो एक्स्पोहरुबाट र विद्यार्थीहरुको खोज, आविष्कारहरुबाट यसको पुर्ति हुनसक्छ ।’ कार्यक्रम संयोजक धर्मेन्द्र यादवले विद्यार्थीहरुले अध्ययनसँगै राष्ट्रलाई लाभ हुने गरी सिकेको व्यावहारिक ज्ञानलाई प्रर्दशनी गर्न एक्स्पोले मद्दत पुग्ने बताए । विद्यार्थीहरुको प्रोजेक्ट वा आविष्कारले नेपालको औद्योगिक क्षेत्र, कृर्षि क्षेत्रको प्रगतिको लागि धेरै लाभदायी हुने उनले बताए । क्याम्पसका स्ववियु सभापति अनुभव पोख्रेलले पनि एक्स्पो मार्फत अभिभावकहरुले आफ्ना छोराछोरी वा विद्यार्थीहरुले व्यावहारिकरुपमा के सिक्यो भनेर थाह पाउन सक्ने धारणा राखे ।












Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे