धरानमा मेयरले एकलौटी र मनोमानी निर्णय गरेको कांग्रेसको आरोप

धरान,माघ ११ । बहुमतको वलमा धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले जथाभावी र एकलौटी निर्णय गर्न थालेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस धरान उपमहानगर समितिले कडा आलोचना गरेको छ ।
कांग्रेसले बिहिबार पत्रकार सम्मेलन गर्दै मेयरको गलत रवैयाको विरुद्ध जिम्मेवार प्रतिपक्षीकोरुपमा जनदबाब सृर्जना गर्ने पनि घोषणा गरेको छ । कांग्रेसका निवार्चित ५ जना वडाअध्यक्षहरुसहित आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सभापति तिलक राईले बहुमतको दम्भले मेयर सुब्बा एकलौटी र गैरजिम्मेवाररुपमा अघि बढेको भन्दै चर्को आलोचना गरे । कांग्रेसले चुनाव पछिको ७ जनप्रतिनिधिहरुको कार्यशैलीलाई सुक्ष्मरुपमा नियालेको उल्लेख गर्दै खानेपानी मुहानको समस्या, विभिन्न बिषयगत समिति गठन, जलाधार क्षेत्र सिमांकन, कर्मचारी भर्ना, गाडी खरीद, वाइपास सडक, धरान बसपार्क, एयरपोर्ट निर्माण, सुकुम्बासी समस्या समाधान, आर्थिक सहयोग र ठेक्कापट्टाको बिषयमा उपमहानगर नेतृत्वले मनोमानीढंगले काम गरेको आरोप लगाएको छ । पत्रकार सम्मेलनमा कांग्रेस नगर सभापति राईले भने,‘उपमहानगर नेतृत्वमा बहुमत छ भन्ने दम्भ र घमण्ड देखियो । मसँग बहुमत छ भन्दैमा जे पनि निर्णय गर्न सक्छु, गराउन सक्छु भन्ने दम्भ नगरबासी र नगरको हितमा छैन । जे जति विवादहरु देखिएको छ, यसमा एकलौटी र मनोमानी ढंगले कामहरु भएका छन् ।’
नगर कार्यपालिकामा एमालेको दुई तिहाई बहुमत छ । धरानको २० वटा वडामध्ये एमालेको १४, कांग्रेसको ५ र माओवादी केन्द्रको एक जना अध्यक्ष जितेका छन् भने पछि थप ७ जना कार्यपालिका सदस्य पनि एमालेबाटै चुनिएका छन् । कांग्रेसले वडा १३ का बासिन्दाले खर्दु जोरधारे मुहानको बिषय उठाउदा कांग्रेसले उठाएको भन्दै वेवास्ता गरेको, विभिन्न समिति र उपसमितिहरु गठन गर्दा औपचारिक वा अनौपचारिकरुपमा जानकारी नगराएको साथै कार्यपालिका सदस्यहरुसँग छलफल पनि नगरेको, कर्मचारी आवश्यकता भएपनि विधि र प्रक्रिया नपुर्याई नियुक्ति दिएको भन्दै कडा विरोध जनाएको छ । यस्तै, कोशी राजमार्गको वाइपास र धरान चतरा सडकको वाइपासबारे स्थानीय सरकारले गम्भीरतापुर्वक छलफल, परामर्श नगरेको भन्दै कार्यशैलीको चर्को आलोचना गरेको छ । ‘प्रदेश र प्रतिनिधिसभा चुनावअघि मेयर वस्ती वस्ती पुगेर घर नम्बर बाड्दै थिए, अहिले त्यो काम ठप्प छ । त्यो त चुनावी प्रोपगण्डा मात्र थिएछ । गाडी आवश्यक होला, तर विधि र प्रक्रिया त पुरा गर्नुपर्छ नि,’सभापति राईले भने,‘मेयरको बास्केट फण्डमा एक, डेढ करोड राखेर आफ्नो घरको पैसा बाडेजस्तरी जहाँ पायो त्यही बजेट बाडिरहेको छ, त्यो अधिकार कस्ले दियो ?’
विभिन्न ठेक्काहरु पनि जसलाई दिन चाहेको हो, त्यही फर्म वा ठेकेदारलाई मिल्ने मापदण्ड बनाएर ठेक्का पनि सेटिङ लगाउने कार्य भइरहेको कांग्रेसले आरोप लगाएको छ । कांग्रेसबाट जितेका वडाअध्यक्षहरुलाई होच्याउने, काममा बाधा पुर्याउने, वडामा गएर आफुखुशी बजेट बाडिदिने, समन्वय नगर्नेजस्ता गतिविधि भइरहेको कांग्रेसबाट जितेका वडाअध्यक्षहरुले बताए । ‘अहिलेसम्म जे जति बिषयगत समितिहरु बन्यो, सल्लाहकार समिति बन्यो, ती सबैमा हामीसँग सरसल्लाह र छलफल नै गरिएन । हाम्रो कुरा नै सुन्न चाहनुहुन्न, एकल निर्णय गरेर भएपनि जान्छु भन्नुहुन्छ,’वडा १४ का अध्यक्ष कृष्ण भटराईले भने । यस्तै, वडा १८ का अध्यक्ष प्रविण राईले गाडी खरीद, कर्मचारी नियुक्ती, बिग बुद्ध बनाउने सहमति, फोहोर व्यावस्थापनमा २० बर्षको सहमतिलगायत बिषयमा कार्यपालिका सदस्यहरुलाई कुनैपनि जानकारी नै नभएको बताए । ‘कार्यपालिका बैठक छ भनेर मोवाइलमा म्यासेज आउछ, बैठकको एजेण्डा के के छ भन्ने कुनै जानकारी नै दिइदैन । कम्तीमा ३ दिनअघि नै बैठकको एजेण्डाहरु पठाउनुस भन्दा पनि सुनेनन्,’उनले भने ।
वडा नं २ का अध्यक्ष माधवगोविन्द श्रेष्ठले पनि गाडी खरीदबारे नगरसभा र कार्यपालिका बैठकमा अहिलेसम्म चर्चा नभएको जिकिर गरे । साथै, उनले लोकसेवा तयारी कक्षा सञ्चालनबारे मेयरका सचिवालयमा रहेका प्रेस संयोजकले २० हजार बजेट माग्दै पत्र पठाएपनि आफुले वडाको बजेट माथि नपठाउने भन्दै अस्वीकार गरेको पनि खुलासा गरे । ‘लोकसेवा तयारीको लागि बजेट निकासा गरिदिनुपर्यो भन्दै पत्र बोकेर आएका थिए, वडामा कार्यक्रम हुन्छ भने मात्र दिने भनेर मानिन,’उनले भने ।
       .........................................

राजनीतिक मुद्दामा मात्र परामर्श ः मेयर सुब्बा

धरानका मेयर तारा सुब्बाले भने राजनीतिक बिषयको महत्वपुर्ण मुद्दाहरुमा मात्र राजनीतिक दलहरुसँग परामर्श गर्ने स्पष्ट पारेका छन् । विकास निर्माण र प्रशासनिक कार्यहरु सम्पादन गर्दा भने अन्य दलहरुलाई सोधिरहन जरुरी नभएको मेयर सुब्बाको जिकिर छ । ‘जनताले बहुमतका साथ जिताएको स्थानीय सरकार हो, त्यसैले विकास निर्माण, प्रशासनिक काम गर्न अन्य दलहरुलाई सोधिरहनुपर्ने जरुरी छैन,’मेयर सुब्बाले भने,‘स्थानीय सरकारले नियम, कानुनको परिधिमा रहेर कार्यसञ्चालन र सम्पादन गर्छ, कुनै दललाई सोधेर गरिरहनु पदैन । हामीलाई सोधेन भन्नु त सरम लाग्नुपर्ने हो ।’
मेयर सुब्बाले लोकसेवा तयारी कक्षाको लागि बजेट मागिएको बिषयमा २ सय जनालाई तालिम दिलाउने उद्देश्यले वडाको बजेट एकीकृत गर्ने र तालिम पनि एकीकृतरुपमा नै सञ्चालन गर्ने तयारी गरिएको बताए । वडा कार्यालयमा पठाएको पत्रबारे उनले भने,‘यस्तो व्यहोराको पत्र पठाउनु भनेर कार्यालयबाट लेटर पठाएको हुनसक्छ ।’


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे