अग्र्यानिक शनिबारे हटिया शुरु(फोटोफिचर)

धरान,पुष २२ । अग्र्यानिक कृर्षिजन्य तथा घरेलु उत्पादनको बजारीकरण गर्ने उद्देश्यले शनिबारदेखि धरान १२ स्थित अमान बजारमा अग्र्यानिक शनिबारे हटिया शुरु भएको छ ।
शनिबारे हटिया बजार व्यावस्थापन समितिले शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म शनिबारे हटियाको शुरुवात गरेको हो । यो हटिया प्रत्येक शनिबार लाग्नेछ । सुनसरी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य जयकुमार राई, प्रदेशसभा सदस्य प्रदिप भण्डारी, पुर्व मेयर मनोज मेन्याङ्बो, सुनसरी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष गिरीधारी सापकोटालगायतको उपस्थितिमा हटियाको औपचारिक शुरुवात गरिएको थियो । अग्र्यानिक खेती गरिरहेका कृषक तथा घरेलु उत्पादनलाई प्रोत्साहन दिलाउने उद्देश्यले शनिबार बिहान मात्र लाग्ने भनिएको हटिया उपभोक्ताको माग अनुसार समय थप गर्ने बजार व्यावस्थापन समितिले जनाएको छ ।
हटियाको पहिलो दिनमा अग्र्यानिक उपभोक्ताहरुको उल्लेख्य सहभागिताले बजार व्यावस्थापन समितिसँगै कृषकहरु पनि उत्साहित बनेका छन् ।
अग्र्यानिक कृषकहरुले बजार पाएकोमा खुशी व्यक्त गरेका छन् भने उपभोक्ताहरुले पनि उत्पादन खरीद गर्ने थलो भेटेको भन्दै हटियालाई निरन्तरता दिन सुझाव दिएका छन् । ‘बजार नपाएर उत्पादन के गर्ने भनेर अन्यौलमा भएका अग्र्यानिक कृषकहरु उपभोक्ताको उपस्थितिले कृषकहरु उत्साहित छन् । पहिलो दिनको कारोबार पनि राम्रो भयो,’समितिका अध्यक्ष काजी गिरीले भने,‘उपभोक्ता, बुद्धिजिवीहरुले पनि निरन्तर हटिया लगाउन सुझाव दिएका छन् । दैनिकरुपमा नभएपनि सातामा एक पटक अग्र्यानिक उत्पादन खरीद गर्न पाइयोस् भन्ने छ ।’ उपभोक्ताको माग वमोजिम पुष २७ गतेदेखि माघ १ सम्म अमान बजारमा नै लाग्ने दोस्रो पुष्प मेलामा पनि अग्र्यानिक कृर्षि उत्पादन राखिने उनले बताए ।
हटियालाई प्रत्येक शनिबार सञ्चालनमा ल्याउने र उपभोक्ताको माग वमोजिम उत्पादन आउन सक्ने भएपछि दैनिक रुपमा पनि सञ्चालन गर्ने समितिको भनाई छ । शनिबार चार घण्टा मात्र लागेको हटियाको पहिलो दिनमा नै ४३ हजारको हराहारीमा कारोबार भएको समितिकी उपाध्यक्ष सुभेच्छा अधिकारी बताइन् । उनका अनुसार सबैभन्दा बढी धरान ४ वसन्तटारस्थित अग्र्यानिक सब्जीको स्टलमा २० हजार बजारको हरियो तरकारी बिक्री भएको थियो । हटियामा हरियो तरकारी, गुन्द्रुक, किनिमा, नेटल टि(सिस्नोको चिया), जैविक कोइला(ब्रिकेट), घरेलु चकलेट, नेबुला ब्राण्डको उत्पादन, लोकल अण्डा, दाल, लप्सीको अचार, बेसार, मह, सुकुटीलगायतको स्टल थियो । ‘उपभोक्ताहरुमा खानेकुरा र स्वास्थ्यप्रति सचेत रहेछन् । केही रुपैया महंगो होला तर अग्र्यानिक उत्पादन स्वास्थ्यकर हुन्छ भन्ने बुझेका छन्,’सोताङ अग्र्यानिक फर्मका सञ्चालक एवं युवा कृषक कृष्ण राईले भने,‘यस्तो बजारले किसानले लगानी र श्रमको उचित मुल्य पाउछन्, तर बजार स्थायी र दिगो हुनुपर्छ ।’
अग्र्यानिक सब्जीका नियमित ग्राहक धरान ३ का वडा सदस्य विकास बनेपालीले शहरिया जीवन शैली र खानपानले स्वास्थ्यमा धेरै असर परिरहेकोले अग्र्यानिक कृर्षि उत्पादनको प्रर्वद्धन गर्न जरुरी रहेको बताए । पुर्व मेयर मनोज मेन्याङ्बोले उपभोक्ता र कृषकबीच सिधै सम्पर्क हुने भएकोले उपभोक्ताले दुवै पक्षलाई फाइदा पुग्ने बताए । प्रतिनिधिसभा सांसद जयकुमार राईले बिषादी, रासायनिक मल तथा केमिकल प्रयोग गरेको कृर्षि उत्पादनले स्वास्थ्यमा धेरै असर गरिरहेकोले अग्र्यानिक कृर्षि उत्पादनको उपभोग गर्नेतर्फ सर्वसाधारण उपभोक्तालाई प्रेरित गर्न आवश्यक रहेको बताए । ‘धरानमा मात्र होइन, यस्तो हटिया सबैतिर आवश्यक छ । तर, अग्र्यानिक उत्पादनमा मिसावट हुन दिनु भएन,’उनले भने । प्रदेश सांसद प्रदिप भण्डारीले पनि बिषादी र रासायनिक मल प्रयोगलाई न्युनिकरण गर्न अग्र्यानिक कृषक र बजारलाई प्रोत्साहन गर्नुपर्ने बताए ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे