अशिक्षा र कुसँस्कारविरुद्ध नाटक ‘ईङघङ’

धरान,माघ १० । किरात लिम्बू सँस्कृतिमा केलाङ(च्याब्रुङ) र मुन्धुमको महत्व सर्वोपरी छ । महत्वपुर्ण कार्यमा च्याब्रुङ नाच्नु, मुन्धुमी परम्परा अंगाल्नु लिम्बू जातिको जीवन हो । बिहेमा सोल्टी सोल्टीनीहरु रातभरि धान नाच्दै रमाउनु, माया प्रिति गाँस्नु र बिहे गर्नु लिम्बू सँस्कृतिभित्रको रोमान्टिक पाटो हो ।
लिम्बू समाज नबुझ्नेलाई लाग्नसक्छ, कति छाडापन भएको । लिम्बू समाजभित्र महिलालाई स्वतन्त्रता छ । महिलासँग बोल्नलाई त निक्कै आटिलो पुरुष चाहिन्छ । पुर्वी लिम्बूवानको एउटा गाँउ । जहाँ जेठा सुब्बा लिम्बू भएर जन्मिएपछि केलाङ नाच्नु र मुन्धुम बुझ्नुपर्छ भन्ने मान्यता राख्छन् । आफुलाई मन परेकी लिम्बूनी ‘स्वाङफेमा’ बाट बिहेको स्वीकृति पाउने प्रतिक्षा गर्दा गर्दै उमेर ढल्कन लागिसकेको हुन्छ । दुवैको मायाप्रितिको सुवास गाउँभरि फैलिएको छ, ठिठाठिटीहरु मौका पाउनासाथ दुवैलाई खुब जिस्काउछन् । लिम्बूनीलाई पनि जेठा सुब्बा असाध्यै मन पर्छ । तर, स्कुलमा पाइला पनि नटेकेकी उनलाई पण्डित ध्रुव दत्तको भविष्यवाणीले झस्काइरहन्छ । पण्डितले हात हेर्दै भनेको थियो, ‘तिमीले बिहे गर्यौं भने त बुढो मरिहाल्छ !’
गाउँमा एउटा दलित, गरिब परिवार पनि छ । परिवारमा वनकाइला, काइली र जवान छोरी छे । काइला र काइली हाते मिशिन लिएर गाउँभरि कपडा सिउदै छाक टार्छ । गरिबिले थिचिएको काइला, काइलीले छोरीलाई पढाउन सक्दैनन् । काइलीलाई त छोरी पढाउने मन थियो, तर काइलाले नै काम सिकाउने भन्दै स्कुल पठाउदैनन् । पण्डित ध्रुव दत्त जन्म कुण्डली बनाउदै गाउँलेको भविष्य हेर्दै गाउभरि डुल्छ । गाउँसमाजमा छुवाछुतले अझै जरो गाडेर बसेको छ । उ त झन् पण्डित न पर्यो । काइला काइलीलाई नछोइ परपरै हुन्छ । काइला काइलीसँग पानी नचल्न जात भनेर तर्कने तिनै पण्डित उनीहरुको जवान छोरीप्रति र्याल चुहाउछ । घरमा एक्लै भएको मौकामा अनेक आश्वासन दिएर गर्भवती बनाउछ ।
काइला रिसले चुर हुदै छोरी, श्रीमतिलाई कराउछ, कुट्छ । काइली आप्mनो कर्मलाई धिर्कादै भन्छिन्,‘छोरीलाई बेलैमा पढाउ भने, नक्कली हुन्छे अनि घरमा काम कस्ले गर्छ भनेर स्कुल पठाएनौं । पढेलेखेको यस्तो हामी जस्तो हुदैनथ्यो ।’ अन्त्यमा, काइला र काइलीको छोरीलाई स्वीकार गरी पण्डित ध्रुव दत्त सहर भासिन्छ, यसले समाज परिवर्तनको संकेत गर्छ । तर, दलितको छोरी स्वीकार गरेपछि बाहुनको छोरालाई गाउँमै बस्ने अवस्था सृर्जना गर्नुपर्ने र सामाजिक न्याय दिलाउन ‘ईङघङ’ले नेपाली समाजलाई घच्घच्याउछ । ‘स्वाङफेमा’ले पनि पण्डितको भविष्यवाणी झुटो भएको महसुस गर्छे र जेठा सुब्बासँग बिहेको मञ्जुरी दिन्छे ।
लिम्बू समाजको रहनसहन, सँस्कार र सँस्कृतिलाई उत्कृष्ट पारामा प्रस्तुत गरेको नाटक ‘ईङघङ’ जातीय छुवाछुत र अशिक्षाविरुद्ध साच्चैको सन्देश दिन सफल छ । नेपालमा धेरै राजनीतिक परिवर्तन भयो, व्यावस्था फेरियो तर मान्छेभित्रको मानसिकतामा अझै परिवर्तन आउन सकेको छैन । शिक्षाको अभावले कुसँस्कार, अन्धविश्वास, छुवाछुतलाई तोड्न र पश्चिमा सँस्कृतिबाट मौलिक सँस्कृतिको पहिचान जोगाइराख्नुपर्ने नाटक ‘ईङघङ’को सार हो । रंगभुमि एकेडेमीको प्रस्तुती नाटक ‘ईङघङ’ धरान ८ स्थित सभागृहमा मंगलबार मञ्चन भएको थियो । अब माघ १५ गतेसम्म दिनहु मञ्चन हुनेछ । नाटक हेरिसकेर धरानका अग्रज रंगकर्मी, नाट्यकर्मीहरुले युवा कलाकारहरुको खुलेर प्रसंसा गरेका थिए । करिब डेढ घण्टासम्म कलाकारहरुले संवाद, लिम्बु लवज, अभिनय र बिषयबस्तुले दर्शकहरुलाई बाधेर राख्न सकेको छ ।
धरानमा रंगमञ्च र नाटकको महौल सृर्जना गर्न ७ दिनसम्म निरन्तर नाटक मञ्चन गर्ने निर्णय गरिएको रंगभुमिका अध्यक्ष एवं निर्देशक विष्णु मोक्तानले बताए । उनले भने,‘नाटक निरन्तर हुन्छ भन्ने देखाउन र धरानमा नाटकीय महौल बनाउन ७ दिनसम्म नाटक मञ्चन गर्दैछौं । साथै, व्यवस्था परिवर्तन भएर पनि फेरि नसकेको समाजको मानसिकताविरुद्ध सन्देश दिनु पनि हो ।’ नाटक ‘ईङघङ’मा विष्णु मोक्तान, दिपेन्द्रसिं दर्नाल, कुमारी राई, तुलसा थापा, हरि इवाहाङ लिम्बू, प्रसिका निरौला, सोनम मगर, निश्चल कुलुङ, मिलन राई, गेबी लिम्बू, शंकर थापा र उदिप लिम्बूको सशक्त अभिनय छ । नाटकको लेखन तथा निर्देशन विष्णु मोक्तान, निर्माण संयोजन स्पन्दन राजा, संगीत विनायक राई र केलाङ नृत्य कुमार हुक्पा चोक्पा चोङबाङको रहेको छ ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे