शनिबार गोधुलीको फाइनलमा वडा ८ र १७ भिड्दै


धरान,पुष २८ । अन्तर वडास्तरीय १८ आंै रेडबुल गोधुली फुटबल रनिङ कप २०७४ को फाइनलमा शनिबार(पुष २९ गते) वडा १७ र वडा ८ बीच भिडन्त हुदैछ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा हुने फाइनलमा आयोजक वडा १७ पहिलो पटक उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ ।
 वडा ८ भने पाँचौं पटक उपाधि उचाल्ने दाउमा छ । दुवै वडा फाइनलमा आमने सामने भएको यो दोस्रो पटक हो । यसअघि १५ औं सँस्करणमा भेट हुदा वडा ८ ले बाजी मारेको थियो । शुक्रबार खेल मैदानमा आयोजित पत्रकार सम्मेलनमा दुवै टिमका प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन् । वडा ८ ले यसअघि तेस्रो,छेटौं, नवौं र १५ औं सँस्करणमा उपाधि जितेको थियो । करिब ५ पटक फाइनल खेले पनि वडा १७ ले घरेलु मैदानमा उपाधि जित्न भने सकेको छैन । गएको सँस्करणमा पनि फाइनलमा वडा १३ सँग पराजित हुदै अभागी टिम भएको थियो ।
आयोजक वडा १७ का प्रशिक्षक योगन राईले यसपाली उपाधि जितेर अभागी टिमको दाग मेटाउने दाबी गरे । आफ्नो टिममा राष्ट्रिय खेलाडी प्रकाश बुढाथोकी, सुरज सुनुवार र एन्फा एकेडेमीका क्षमतावान उत्पादन हेमन्त थापा मगर(कप्तान) भएकोले जित हुने बताए । कप्तान थापाले पनि फाइनल खेल भएकोले प्रतिस्पर्धात्मक हुने भएपनि उपाधि उचाल्ने जिकिर गरे ।
वडा ८ का प्रशिक्षक तीर्थ मगरले पनि युवा खेलाडीहरु लयमा फर्किएकोले आफुहरु उपाधिको दाबेदार टिम भएको बताए । लामो प्रशिक्षण गरेर प्रतियोगितामा सहभागी भएकोले पाँचौं पटक उपाधि जित्ने उनको दाबी छ । अनुभवीसँगै क्षमतावान उदयीमान खेलाडीहरु पनि टिममा भएको जित्ने उनको भनाई छ । टिममा ए भिडजन क्लबका मनिष गुरुङ, सविन मगर, हेम लिम्बू जस्ता अनुभवी र सुरेश लिम्बू, आश्विन तामाङजस्ता उदयीमान खेलाडी छन् । विपक्षी टिम पनि वलियो र आक्रमक भएकोले रक्षात्मक खेल्दै टाइब्रेकरसम्म पुर्याउने रणनीतिका साथ मैदानमा उत्रिने वडा ८ का प्रशिक्षक मगरले बताए ।
प्रतियोगिताको विजेताले रनिङ ट्रफीसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले नगद ५० हजार थाप्नेछ । यसबाहेक, सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र उच्च गोलकर्ताले नगद ७ हजार पाउनेछ भने उत्कृष्ट गोलकिपर, उदयीमान खेलाडी, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्ड र फाइनलको म्यान अफ दि म्याचले जनही नगद ५ हजार पुरस्कार पाउने क्लबका सचिव युवराज अधिकारीले जानकारी दिए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे