स्वास्थ्यमन्त्रीको उपकुलपति हटाउने खेल

धरान,माघ ८ । सिनेट बैठक डाक्न आफुले दिएको निर्देशन अटेर गरेको भन्दै स्वास्थ्य मन्त्री दिपक बोहरा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति हटाउने खेलमा लागेका छन् । मन्त्रालय स्रोतका अनुसार गत कार्तिक ३० गतेको ४० औं सिनेट बैठकको निरन्तरता स्वरुप बैठक डाक्न दिएको निर्देशन अवज्ञा गरेको भन्दै मन्त्री बोहरा प्रतिष्ठानका उपकुपति डा.राजकुमार रौनियारलाई नै हटाउने प्रयासमा छन् ।
प्रतिष्ठानको सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री बोहराले निर्देशन अवज्ञा गरेको भन्दै एक साता अघि उपकुलपति रौनियारलाई स्पष्टीकरण सोधी सकेका छन् । स्पष्टीकरणमा चित्त नबुझेको भन्दै मन्त्री बोहराले थप कारबाहीको लागि कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पत्राचार गरिसकेको स्रोतको भनाई छ । ‘मन्त्रीले स्पष्टीकरणमा चित्त नबुझेको भनेर प्रधानमन्त्रीसमक्ष पत्र पठाइसकेका छन्, मन्त्रीले कि म छैन, कि उपकुलपति छैन भनेजस्तो गर्नुभएको छ,’मन्त्रालय स्रोतले भन्यो ।
गएको सिनेट बैठकले बहुबर्षिय योजना भएर पनि सिनेट र मन्त्रालयको स्वीकृत विना ठेक्का लगाएर निर्माण भइरहेको भनिएको निर्माणाधिन मातृशिशु स्याहार केन्द्र(एमसिएचसि) भवनका साथै निर्माण गर्ने भनिएको क्यान्सर र ह्ृदयरोग केन्द्रको भवनको बिषयमा तत्कालीन स्वास्थ्य सचिव किरण रेग्मीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । उक्त समितिले काम सक्नुअघि नै सचिव रेग्मीले अवकाश पाएपछि प्रतिवेदनले पुर्णता पाएको थिएन । यद्यपी, मन्त्री बोहराले सोही छानबिन प्रतिवेदनबारे छलफल गर्न भन्दै मंसिर २९ र पुष १२ मा सिनेट बैठक राख्न उपकुलपतिलाई दबाब दिएका थिए । उपकुलपति रौनियारले भने सिनेट बैठक नडाँकेपछि मन्त्री बोहरा रुष्ट छन् ।

मन्त्री बोहराका स्वकिय सचिव धर्म केसीले उपकुलपति रौनियारसँग स्पष्टीकरण सोधेको र कुलपति एवं प्रधानमन्त्रीलाई पत्राचार गरेको पुष्टि गरे । छानबिन समितिको रिपोर्टबारे छलफल गर्न पटकपटक सिनेट बैठक राख्न आग्रह गर्दा पनि अवज्ञा गरेपछि उपकुलपतिसँग स्पष्टीकरण सोधिएको उनको भनाई थियो । ‘स्पष्टीकरणबाट चित्तबुझ्दो जवाफ नआएपछि मन्त्री ज्युले कुलपति समक्ष के गर्ने भनेर सोध्नु भएको छ । पत्रमा सबै विवरणहरु छ, कारबाही गर्ने कि के गर्ने भन्ने नै हो,’स्वकिय सचिव केसीले भने,‘तरपनि पत्रमा के लेखिएको छ भन्ने चै मन्त्री ज्युसँगै बुझ्नुपर्छ ।’ यसबिषयमा मन्त्री बोहरासँग पटक पटक मोवाइलमा सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् । प्रतिष्ठानका उपकुलपति पनि यसबारेमा कुनै प्रतिक्रिया दिन मानेनन् ।
मन्त्री बोहराको यो कदमबाट उपकुलपति रौनियारका विरोधी मानिने सिनियर चिकित्सकहरु भने खुशी भएको प्रतिष्ठानका कर्मचारीहरु बताउछन् । उपकुलपति रौनियारलाई हटाउने खेलमा प्रतिष्ठानकै पुर्व उपकुलपति डा.बीपी दासको पनि सक्रिय भुमिका रहेको कर्मचारी स्रोत बताउछ । डा.दास पनि रौनियारसँगै उपकुलपतिको दोहोर्याउने दौडमा थिए । करिब अढाइ अर्बको विवादित एमसिएचसि भवन दासकै कार्यकाल सकिने बेला नियम र प्रक्रिया पुरा नगरी ठेक्का लागेको थियो । अहिले मन्त्री बोहराले सिनेट बैठक राखेर त्यही भवनको लागत स्वीकृत गरी दासलाई क्लिन चिट दिन लागिएको आरोप छ । ‘अघिल्लो भिसि(दास) पनि अहिलेकालाई हटाउन पाए हुन्थ्यो भनेर लागिराखेका छन्, मन्त्री पनि त्यही दाउमा छन्,’कर्मचारी स्रोत भन्छ ।


प्रतिष्ठानका सिनेटर अञ्जनीकुमार झाले स्वास्थ्य मन्त्री र उपकुलपतिबीचमा समस्या आएको तर सहकुलपतिको निर्देशन उपकुलपतिले नमान्दा के गर्ने भन्ने कानुनी जटिलता भएको बताए । उनले भने,‘सिनेट डाक्नुस भन्दा उपकुलपतिले बोलाएनन्, अब सहकुलपतिको निर्देशन नमाने उपकुलपतिलाई के गर्ने भनने कानुनमै छैन, समस्या छ ।’ एक सिनेट सदस्यका अनुसार कुल सञ्चालक परिषद(सिनेट) सदस्यको एक चौथाईले कुलपतिसमेत रहनेका प्रधानमन्त्री समक्ष निवेदन दिएमा र प्रधामन्त्रीले चाहेमा मात्र उपकुलपतिको बिषयमा छानबिन गर्न समिति गठन हुनसक्ने व्यावस्था छ । यसरी गठन हुने ३ सदस्यीय समिति सहकुलपति(स्वास्थ्यमन्त्री)को अध्यक्षतामा हुने र मात्र उपकुलपति निलम्बनमा पर्न सक्छन् । ‘मन्त्रीले चाहदैमा मात्र केही पनि हुदैन । सिनेटर, मन्त्री र प्रधानमन्त्रीको कुरा मिल्नुपर्छ,’ती सिनेटर भन्छन्,‘बीपीको २२ जना सिनेटर छन्, त्यसमध्ये ६ जनाले उपकुलपतिले यो यो वदमासी गर्यो भनेर लिखित निवेदन दिएपछि कुलपतिलाई आवश्यक लाग्यो भने मात्र हुनसक्छ ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे