पर्यटक आउदा बजार बन्द, धरानले पर्यटनको महत्व बुझेनः पर्यटनकर्मी

धरान,पुष १७ । अंग्रेजी नयाँ बर्ष २०१८ लाई स्वागत गर्न आइतबार र सोमबार धरान हुदै पर्यटकीयस्थल भेडेटार पुग्ने भारतीय पर्यटकहरुको घुइचो थियो । बाह्य पर्यटकहरुको लस्कर लागेको बेला अंग्रेजी नयाँ बर्षको पहिलो दिन सोमबार(१ जनवरी)भने धरान बजार बन्द थियो ।
आर्थिक समृद्धिको प्रमुख आधार पर्यटन नै भएको मान्यता राख्ने स्थानीय सरकार, उद्योग वाणिज्य संघ भने हजारौं बाह्य पर्यटक भित्रिरहदा बजार खुलाउनतर्फ चासो दिएको छैन । हुन त धरानको बजार प्रत्येक सोमबार बन्द हुने गर्छ । तर, बाह्य पर्यटक आउने जनवरी १(सोमबार) मा मात्र बजार बन्द भएको यो संयोग होइन । पिण्डेश्वर महादेवको मन्दिरमा जल चढाउन लाखौं तीर्थालु भक्तजनहरु आउने साउनको सोमबार पनि धरानको बजार खुला हुदैन । पर्यटन व्यावसायीहरु पर्यटक ओइरिने दिन वा अवसरमा बजार बन्द गरिनु पर्यटनमैत्री हुन नसकेको वा पर्यटनको महत्व बुझन नसकेको टिप्पणी गर्छन् । ‘धरानलाई टुरिज्म सिटि, गन्तव्य बनाउने कुरा गछौं, तर जतिबेला पर्यटकहरु आउछन्, त्यो बेला बजार बन्द हुन्छ भने पर्यटनको महत्व बुझेनौं वा दुरदर्शि हुन सकेनौं,’सेक्ष ट्राभलिङसम्बद्ध पर्यटनकर्मी बासुदेव वरालले भने,‘अंग्रजी नयाँ बर्ष मनाउन यतिका पर्यटक आइरहदा धरानले कसरी फाइदा लिने भनेर खै सोचेको ? बजार खुला भइदिए पर्यटकहरुले किनमेल गर्थे, तर बन्द छ । यसरी त धरान व्यावसायिकरुपमा मृत शहर हुदैछ ।’
पछिल्लो समय भारतको विहार राज्यबाट प्रदेश नं १ को पर्यटकीयस्थलहरुमा घुम्न आउने भारतीय पर्यटकहरुको संख्या वृद्धि भइरहेको छ । अझ नयाँ बर्षको बेला त पर्यटकहरुको थामिनसक्नु घुइचो लाग्छ । भारतीय पर्यटकहरुको प्रमुख गन्तव्यमध्येको एक हो, धनकुटा र धरान(सुनसरी)को सिमानामा अवस्थित भेडेटार । भारतीय पर्यटकहरुलाई लक्षित गरेर भेडेटारका होटल व्यावसायीहरुले विगत ६ बर्षदेखि तीन दिन फुड फेस्टिवल आयोजना गर्दै आइरहेको छ । यसैकारणले पनि डिसेम्बर ३१, जनवरी १ र २ मा धरान हुदै भेडेटार पुग्ने भारतीय पर्यटकहरुको संख्या अत्यधिक हुन्छ । तर, भारतीय पर्यटकहरु आउदा बजार बन्दले भने आर्थिक गतिविधिमा असर पुग्ने होटल एशोसिएशन अफ धरानका पुर्वअध्यक्ष प्रमेश श्रेष्ठ बताउछन् । ‘अंग्रेजी नयाँ बर्ष मनाउन भारतीय पर्यटकहरु धेरै नै आएका छन्, तर यही बेला बजार बन्द छ,’होटल नवयुगका सञ्चालकसमेत रहेका श्रेष्ठले भने,‘पर्यटकहरु बजार घुमेर किनमेल गर्ने, कोसेली लैजान खोज्ने हुन्छन् । बजार बन्द हुदा व्यापारमा ठुलो असर पुग्छ ।’
धरानका व्यावसायीहरुमा क्यालेन्डर हेर्ने वा पर्यटक भित्रिने बिशेष दिनमा बजार खुला गर्ने मानसिकता विकास हुन नसकेको श्रेष्ठको भनाई छ । यस्तो बेला पर्यटकहरुको बास लम्ब्याउन मेला वा सांगीतिक, साँस्कृतिक कार्यक्रम, फुड फेस्टिवलजस्ता पर्यटकमैत्री गतिविधि गर्नेतर्फ धरानले ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘यस्तो बिशेष अवसरहरुमा व्यावसायी, मजदुर सबैले समझदारी गरेर बजार खोल्नुपर्छ, र पर्यटकलाई रमाउने, खर्च गर्ने वातावरण बनाउनुपर्छ,’उनले भने । मजदुरहरुलाई एक दिन छुटि दिनको लागि धरानका व्यावसायीहरुले सोमबार बजार बन्द गर्ने गरेका हुन् ।
सुनसरी उद्योग वाणिज्य संघका उद्योग सचिव एवं पर्यटन उपसमितिका संयोजक महेन्द्र प्रधान पनि अत्यधिक भारतीय पर्यटकहरु भित्रिदा कसरी व्यावसाय वा कारोबार बढाउने भनेर योजना बनाउन नसकेको स्वीकार गर्छन् । विगतमा भन्दा यो बर्ष नयाँ बर्ष बनाउन आउने भारतीय पर्यटकहरु धरान बस्न चाहेको भन्दै उनले भने,‘भारतीय पर्यटकहरु सिधै भेडेटार जान्छन्, बस्छन् र फर्कन्छन् भन्ने सोच्थ्यौं, तर होइन रहेछ । यसपटक धरानमा पनि थामिनक्सनु भयो, हामीले अब व्यवस्थित हुनुपर्ने, पर्यटनमैत्री बजार र व्यावसायी हुनुपर्ने देखियो ।’
.......................................................................

कति भित्रिए भारतीय पर्यटक ?

अंग्रेजी नयाँ बर्षलाई स्वागत गर्न २०१७ को अन्तिम दिन डिसेम्बर ३१ मा अढाई सय वटा भारतीय नम्बर प्लेटको गाडी धरान भित्रिएको छ भने सोमबार (१ जनवरी)मा ५ सयको हाराहारीमा भारतीय नम्बर प्लेटको गाडी धरान भित्रिएको छ । तीनकुनेस्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज असई देवेन्द्रकुमार राईका अनुसार बोलेरो, स्कारपियो, जिपलगायतका चारपंग्रे गाडीमा भारतीय पर्यटकहरु भित्रिएका हुन् । ‘अझै पनि भारतीय नम्बर प्लेटको गाडीहरु आइनै रहेका छन्,’सोमबार साँझ ५ बजे असई राईले भने ।
धरान भित्रिएका भारतीय नम्बर प्लेटका गाडीहरुको पहिलो गन्तव्य भेडेटार हो । जहाँ ३१ डिसेम्बरदेखि छैटौं भेडेटार फुड फेस्टिवल भइरहेको छ । भेडेटारमा एक रातमा कम्तीमा १ हजार ५ सय पर्यटक अटाउन सक्ने क्षमता छ । बाँकी पर्यटकहरु कता गए ? फेस्टिवलको आयोजक होटल एशोसिएशन भेडेटारका अध्यक्ष लिलाराज लावतीले भने,‘होटल नपाएर कति धरानतिरै फर्कि, कति हिले र राजारानीतिर गए ।’ उनका अनुसार दुई दिनमा १० हजारको हाराहारीमा भारतीय पर्यटकहरु भेडेटार आइसकेका छन् । धरानमा लगभग २ हजारको हाराहारीमा क्षमता भएको लज तथा होटलहरु भएको व्यावसायीहरुको भनाई छ ।
..............................................

नाइट लाइफ चाहियो:व्यावसायी

धरानका होटल व्यावसायीहरुलाई यो पटक अंग्रेजी नयाँ बर्ष निक्कै फलदायी रह्यो । भारतीय पर्यटकहरुको घुइचोले उनीहरु जति खुशी भए, त्यति नै चिन्तित पनि देखिए । डिसेम्बर ३१ मा सम्साझै प्याक भएको होटलहरुमा मध्यरातीसम्म पनि भारतीय पर्यटकहरु कोठा खोज्दै आइरहेका थिए । ‘मेरा होटल ५ बजेतिरै प्याक भयो, तर पर्यटकहरु राती ११, १२ बजेसम्म कोठा खोज्दै आइरहेका थिए,’होटल नवयुगका सञ्चालक प्रमेश श्रेष्ठले भने ।
उद्योग वाणिज्य संघका उद्योग सचिव एवं पर्यटन उपसमितिका संयोजक महेन्द्र प्रधान त धरान आएका भारतीय पर्यटकहरुलाई व्यवस्थापन गर्न राती २ बजेसम्म पनि आफु जागै बस्नु पर्यो । यो क्रममा उनले के थाह पाए भने भारतीय पर्यटकहरु धरानमा नाइट लाइफ खोज्दै आएका थिए । ‘धरानमा नाइट लाइफ एकदमै आवश्यकता देखियो, भारतीय पर्यटकहरु बार, क्लबमा रमाउन धरान झरेका रहेछन्,’प्रधानले भने,‘धरानको नाइट लाइफ जगाउनुपर्छ ।’ सधै ११ बजे होटल, रेष्टुरेष्ट बन्द गराएको प्रहरीले यो बेला पर्यटनमैत्री व्यवहार देखाउदै १ बजेसम्म पनि छुट दिएको उनले बताए ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे