नाटक ‘ईङघङ’लाई सहयोग जुट्र्दै

धरान,माघ १३ । लिम्बू सँस्कृतिलाई जीवन्तरुपमा प्रस्तुत गरिएको नाटक ईङघङलाई विभिन्न व्यक्ति एवं संस्थाहरुबाट सहयोग जुटेको छ ।
युवा रंगकर्मीहरुले धरानको रंगमञ्चलाई जगाउन धरान ८ स्थित सभागृहमा ७ दिनसम्म नाटक मञ्चन गरिरहेका छन् । दैनिकरुपमा नाटक मञ्चन भइरहे पनि आर्थिक अभाव भएको थाह पाएपछि जनप्रतिनिधि, व्यावसायी तथा संस्थाका प्रतिनिधिहरुले सहयोग गरेका हुन् । नाटक ईङघङ माघ ९ गतेदेखि सभागृहमा दैनिक मञ्चन भइरहेको छ । रंगभुमी एकेडेमीको आयोजनामा भइरहेको नाटक सोमबारसम्म प्रर्दशन हुनेछ ।
शुक्रबार नियमित साढे ४ बजेको शो हेर्न पुगेका १८ नं वडाका अध्यक्ष प्रविण राई, सुनसरी उद्योग वाणिज्य संघका प्रचार सचिव उपेन्द्र चाम्लिङ र किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष मोहन हुक्पा चोङवाङले जनही ५ हजारका दरले नाटकलाई सहयोग गरेका हुन् । उनीहरुले स्टेजमा नै कलाकारहरुलाई नगद हस्तान्तरण गरेका थिए । यसैगरि, झापाको विर्तामोडबाट नाटक हेर्न आइपुगेका सिनेकर्मी एवं कलाकार भुपेन्द्र लिंदेन(मन्त्री)ले पनि पछि ७ हजार ५ सय सहयोग गरेको नाटकका लेखक तथा निर्देशक विष्णु मोक्तानले बताए । उनका अनुसार लिंदेनले नै वनकाइलीको भुमिकामा रहेकी तुलसा थापालाई एक हजार र बाख्राको भुमिकामा रहेका अर्का कलाकार बिग्रोल मिलन चाम्लिङलाई पनि १ हजार ५ सय सहयोग गरेका छन् ।
यस्तै, धरानको इडन एकेडेमीका मोहन तिगेलाबाट पनि ५ हजार आर्थिक सहयोग भएको निर्देशक मोक्तानले जानकारी दिए । ‘हाम्रो नाटकले यतिधेरै माया र सहयोग पाउछ जस्तो लागेको थिएन, हामी त असाध्यै खुशी छांै,’उनले भने,‘रंगभुमी मात्र होइन, धरानका सम्पुर्ण रंगकर्मी र संस्थाहरुलाई उत्साह थपिएको छ ।’ आर्थिक सहयोगले आफुहरुलाई धेरे राहत मिलेको पनि उनले बताए । नाटक मञ्चनमा दैनिक हल भाडा ७ हजार ५ सय र लाइट सिस्टमको थप ६ हजार भाडा तिर्नुपर्छ । नाटक हेर्न आम दर्शकलाई टिकट दर २ सय र विद्यार्थीहरुलाई सय रुपैया तोकिएको छ । तर, टिकट काटेर हेर्न जाने दर्शकहरुबाट पनि दैनिक हल र लाइट खर्च १३ हजार उठ्न नसक्दा भने रंगकर्मीहरु निक्कै चिन्तित छन् ।
नाटक ‘ईङघङ’मा विष्णु मोक्तान, दिपेन्द्रसिं दर्नाल, कुमारी राई, तुलसा थापा, हरि इवाहाङ लिम्बू, प्रसिका निरौला, सोनम मगर, निश्चल कुलुङ, मिलन राई, गेबी लिम्बू, शंकर थापा र उदिप लिम्बूको सशक्त अभिनय छ । नाटकको लेखन तथा निर्देशन विष्णु मोक्तान, निर्माण संयोजन स्पन्दन राजा, संगीत विनायक राई र केलाङ नृत्य कुमार हुक्पा चोक्पा चोङबाङको रहेको छ ।
.............................................................

           दर्शक संख्या बढ्दै, प्रसंसाको ओइरो

शुरुवाती २ दिनमा अपेक्षित दर्शक पाउन नसकेको नाटक ईङघङले पछिल्ला शोहरुमा भने दर्शक संख्या राम्रो पाइरहेको छ । नाटकले पुर्वी पहाडी लिम्बुवानको सँस्कृतिलाई जिवन्तरुपमा पस्किएको छ भने अशिक्षा, अन्धविश्वासले समाजमा पारेको प्रभावलाई पनि प्रस्तुत गरेको छ । नाटक हेर्न पुगेका बुद्धिजिवि, अग्रज रंगकर्मी, सँस्कृतिकर्मीहरुबाट पनि नाटकको प्रसंसा भइरहेको छ ।
शुक्रबार नाटक हेरिसकेपछि बुद्धिजिवि एवं सामाजिक अभियन्ता नरप्रसाद लिम्बूले भने,‘लिम्बू सँस्कार, सँस्कृतिलाई जस्ताको तस्तै उत्कृष्ट पारामा प्रस्तुत गरिएको छ, नाटक सुनेको भन्दा पनि धेरै राम्रो पाए ।’ यस्तै, सँस्कृतिकर्मी सालिक सतासकले पनि नाटक र रंगकर्मीहरुको प्रसंसा गरे । नाटक हेर्न नेशनल एकेडेमीका विद्यार्थीहरु पनि पुगेका थिए । उनीहरुले पनि लिम्बू सँस्कृतिलाई नजिकबाट बुझ्न पाएको प्रतिक्रिया दिएका थिए । अग्रज रंगकर्मी तथा आरम्भ नाट्य डबलीका अध्यक्ष गोपाल देवानले नाटकको बारेमा विद्यार्थीहरुलाई धारणा राखेका थिए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे