अपारदर्शी धरान सरकार: सहमति महिना दिनपछि मात्र सार्वजनिक

धरान,माघ १० । धरान उपमहानगरपालिका र सुर्योदय बुद्ध बिहारबीच धरान ४ स्थित विवादित छोटीमोरङ डाँडामा थाउजेण्ड बिग बुद्ध(सहश्र बुद्ध मुर्ति)सहितको बुद्धविहार निर्माण र सञ्चालन सम्बन्धमा पुष १७ गते नै सहमति भएको थियो ।
पारदर्शीता र सुशासनको नारा दिने जनप्रतिनिधि नेतृत्वको स्थानीय सरकार(उपमहानगरपालिका)ले भने यो सहमतिलाई तीन साता बितिसक्दा पनि सार्वजनिक गरेको थिएन । दुवै पक्षबीचमा १२ बुँदामा भएको यो सहमति एक्कासी सोमबार मात्र सञ्चारकर्मीलाईहरु इमेलद्धारा उपलब्ध गराइयो । मेयरका प्रेस संयोजकद्धारा उपलब्ध सहमति पत्रमा कुन मितिमा सहमति भएको उल्लेख नभएपनि खोजी गर्दै जादा गत पुष १७ गते नै दुवै पक्षबीच हस्ताक्षर भइसकेको खुलेको थियो । झण्डै महिना दिनसम्म किन सहमतिलाई गुपचुप राखियो ? मेयर तारा सुब्बाका प्रेस संयोजक योगेशबाबु काफ्लेले भने,‘सहमति भएको त झण्डै एक महिना हुन लाग्यो, मलाई जुन दिन सार्वजनिक गर्नु भन्छ, तबमात्र गर्ने हो ।’
द्धिपक्षीय सहमति पत्रमा सुर्योदयका अध्यक्ष प्रदिप थापाले पहिलो पक्षको तर्फबाट र धरान उपमहानगरका प्रमुख तारा सुब्बाले दोस्रो पक्षतर्फबाट हस्ताक्षर गरेका छन् । साक्षीकोरुपमा उपप्रमुख मञ्जु भण्डारी सुवेदी, प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिना, विहार प्रमुख भिक्षु मेधंकर र विहार कोषाध्यक्ष पर्शुराम राईले हस्ताक्षर गरेका छन् । मोरङमा सट्टाभर्ना पाइसकेको सर्दु जलाधारको जग्गा कब्जा गरेका भुमाफियाले प्लटिङ गरेपछि छोटीमोरङ डाँडा विवादमा पर्दै आएको छ । यही डाँडासँगै वनको क्षेत्रमा बिग बुद्ध परियोजना ल्याइए पछि शुरुवातदेखि नै विवादमा फस्दै आइरहेको छ । शुरुमा वन कार्यालयले प्रक्रिया पुरा नगरी बिग बुद्ध बनाउन रोक लगाएको थियो । अहिले जिल्ला वनले नै धार्मिक वनकोरुपमा करिब १५ बिघा जग्गा उपलब्ध भएको सुर्योदय बुद्ध विहारको दाबी छ ।
पर्यटन र आर्थिक विकासमा महत्व राखिने भनिएको बिग बुद्धसँगको सहमतिलाई पनि लामो समय गोप्य राखिनुलाई अर्थपुर्णरुपमा हेरिएको छ । पछिल्लो समय नगर कार्यापालिकाको निर्णयहरु सार्वजनिक नगरी गोप्य राखिएको भन्दै जनप्रतिनिधिहरुको आलोचना भइरहेको छ । जनप्रतिनिधिहरु आएपछि उपमहानगरपालिका झनै पारदर्शी हुन नसकेको आरोप छ । प्रशासकीय अधिकृत तिम्सिनाले बिग बुद्धसँगको सहमति यसअघि कसैले पनि नमागेको हुनाले सार्वजनिक नगरिएको बताए । तर, सोमबार पनि कसैले नमागिकनै इमेलमा आएको बताएपछि उनले भने,‘निर्णय पारदर्शी नभएको बारेमा हाम्रो ध्यानाकर्षण भएको छ, वेभसाइडमा राख्ने भनेका छौं ।’

                                                      के छ सहमति पत्रमा ?

सहमति पत्रको पहिलो बुँदामा १७५ फिट उचाई भएको सहश्र बुद्धसहितको विहार निर्माण गर्न जिल्ला वन कार्यालयले धार्मिक वनकोरुपमा कार्य गर्न कार्य योजना स्वीकृत भैसकेकोले सो जग्गामा धार्मिक वनको कार्ययोजनामा भएको व्यवास्थाको अधिनमा रही काम गरिने उल्लेख छ । दोस्रो बुँदामा कानुनीरुपमा जग्गा प्राप्त गरिसकेपछि बुद्ध प्रतिमा शुरु गर्नुभन्दा पहिले उक्त परियोजनाको विस्तृत डिजाइन गर्ने, लागत स्टिमेट, माटो परीक्षण गर्ने, प्रारम्भिक वातावरणीय प्रभाव मुल्यांकन गराउने लगायतका कामहरु गरी डिपिआर तयार गर्ने काम विहार व्यावस्थापन समितिले गर्ने उल्लेख छ ।
निर्माण कार्य शुरु गर्नुपहिले उपमहानगरपालिकाको समन्वय र रोहबरमा उपमहानगरपालिकाले तोकेको व्यक्तिको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने, १७५ फिट उचाई भएको बद्ध मुर्ति निर्माण गर्न आवश्यक रकमको व्यावस्था सुर्योदय विहार व्यवस्थापन समितिले गर्ने, बुद्ध विहारमा दैनिक पुजापाठ गर्ने व्यवस्था विहार व्यावस्थापन समितिले गर्ने उल्लेख छ । यस्तै, सहमतिको ७ औं बुँदामा निर्माण पश्चात विहार व्यावस्थापन समितिले थाउजेण्ड बिग बुद्धको आम्दानी विहार व्यवस्थापन तथा त्यहाँ बस्ने भिक्षु भिक्षुणी तथा सेवकसेविकाहरुलाई चतुरप्रत्यय(खाने, लाउने, बस्ने आदि)को व्यावस्थापनमा खर्च गरी बाँकी मैज्दातबाट उपमहानगरपालिकासमेतको समन्वयमा शिक्षा, स्वास्थ्य, जलाधार क्षेत्रको संरक्षण तथा वातावरणमा खर्च गरिनेलगायत उल्लेख छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे