इतिहास रच्दै सकियो ‘ईङघङ’(फोटोफिचर)

धरान,माघ १५ । माघ ९ गते नाटक ईङघङ पहिलो पटक मञ्चन भइसकेपछि उपस्थित दर्शकबाट पाएको प्रतिक्रियाले रंगकर्मीहरु निक्कै हौसिए । तर, भोलीपल्ट दर्शकको उपस्थितिले तिनै रंगकर्मीहरु निराश हुन पुगे ।
एक दिन मात्र भए त केही थिएन, ७ दिन(माघ १५ गते)सम्म नाटक मञ्चन गर्नुपर्ने थियो । दैनिकरुपमा साढे ४ बजे नियमित शो हुने र बिहान ८, मध्याह्न १२ बजे विद्यार्थीहरुको लागि बिशेष बुकिङ शो हुने रंगभुमी एकेडेमीको घोषणा थियो । दोस्रो दिन नियमित शोमा दर्शकको न्युन उपस्थितिले न्यास्रो भएका रंगकर्मीहरु तेस्रो दिनदेखि भने निराश हुन परेन । पुर्वी पहाडको लिम्बूवान गाउँको सँस्कार, सँस्कृतिलाई जीवन्तरुपमा प्रस्तुत गरेको नाटक ईङघङले जातीय छुवाछुत, अन्धविश्वास र रुढीवादी समाजविरुद्ध पनि आवाज उठाएको छ । नाटकले उठान गरेको यिनै बिषय र जीवन्त प्रस्तुतीबाट प्रभावित कलाप्रेमी धरानेहरु तेस्रो दिनदेखि धरान ८ स्थित सभागृहमा नाटक हेर्न पुग्न थाले । दोस्रो दिनमा निराश भएका तिनै कलाकारहरु त्यसपछि भने औधी रमाए ।
चौथो र पाँचौं दिनसम्म नियमित साढे ४ बजेको शोमा दर्शकको उपस्थिति राम्रो थियो । छैटौं र अन्तिम सातौं दिनमा त दर्शकहरु ओइरो लाग्यो । पछिल्ला २ दिनमा नाटक ईङघङ दैनिक ३ शो मञ्चन गर्नुपर्यो । धरानको रंगमञ्चको इतिहासमा एउटै नाटक दिनमा ३ शो मञ्चन भएको यो नै पहिलो हो । नाटक ईङघङ कतिसम्म चर्चित भयो भने धरानका विभिन्न स्कुल र कलेजका विद्यार्थी, बुद्धिजिवि र राजनीतिककर्मीहरु मात्र होइनन्, मोरङको रतुवामाईस्थित आरम्भ नाट्य डबलीका कलाकारहरु गाडी रिजर्ब गरेर हेर्न आएका थिए भने झापा विर्तामोडबाट पनि नाटक हेर्न कलाकारहरु आएका थिए । धरानका अग्रज रंगकर्मी एवं आरम्भ नाट्य डबलीका अध्यक्ष गोपाल देवानले धरानको रंगमञ्चमा उभार आएको भन्दै खुशी व्यक्त गरे । ईङघङले प्रस्तुती र प्रदर्शन(मञ्चन)मा किर्तिमान राख्न सफल भएको उनको टिप्पणी थियो । ‘धरान हिजो पनि रंगमञ्चको उर्बर भुमि थियो, आज पनि छ र भोली पनि रहीरहने छ भन्ने संकेत गर्यो । रंगभुमीको ईङघङले नाटकमा उभार ल्यायो, प्रस्तुती र प्रर्दशनमा यसले किर्तिमानै बनायो,’उनले भने ।

 नाटक ईङघङलाई सबैले मन पराउनुको कारणमा माओवादी केन्द्रका नेता चोत्लुङले नाटकमा जीवन्त सँस्कृति, जीवन्त अभिनय, जीवन्त प्रेमकहानी, हरेक पल हसाउनेलगायत विविध कुराको उत्कृष्ट मिश्रण रहेको बताउछन् । उनले सामाजिक सञ्जालमा सटिक टिप्पणी गरेका छन्,‘एक जीवन्त सँस्कृति, जीवन्त प्रेम कहानी, जीवन्त अभिनय, हरेक पल हसाउने,  दर्शकलाई पहाडको चौतारीमा पुर्याउने, च्याब्रुङको मिठो धुनमा एक भिन्नै मिठास छ, कुरीति र अन्धविश्वास विरुद्धको सन्देश हो ।’ दोस्रो पटक नाटक हेरेका अर्का नेता अइन्द्रबिक्रम बेघाले अन्र्तक्रियामा भने,‘नाटक हेरिञ्जेल म आफै कता पुगे पुगे । म हराए, र फेरि दोस्रो पटक परिवारसँग नाटक हेर्न आएर फेरि नाटकमै हराए ।’
नाटक ईङघङले सात दिनसम्म ११ पटक मञ्चन भएको रंगभुमिका अध्यक्ष एवं लेखक, निर्देशक विष्णु मोक्तानले बताए । उनका अनुसार पाँच दिनसम्म दैनिकरुपमा नियमित शो मात्र भए पनि अन्तिम २ दिनमा दैनिक ३ शो मञ्चन गर्नुपरेको थियो । ‘छैटौं र सातौं दिनमा त दैनिक ३ शो नै नाटक मञ्चन गर्नुपर्यो । कलाकारलाई त भ्याई नभ्याई नै भयो । दर्शकहरुबाट पाएको प्रतिक्रियाले हामी असाध्यै खुशी छौं,’उनले भने,‘धरानमा नाटकको माहोल बन्दै गएको छ, यसमा नाट्य संस्थाहरुको सहकार्य, मिडियाका साथीहरुको साथले गर्दा भएको हो ।’ उनका अनुसार नाटक ‘ईङघङ’लाई झापाको विर्तामोड, मोरङको विराटनगर र इटहरीबाट पनि मञ्चन गर्न निमन्त्रणा भएको छ । नाटकको लेखन तथा निर्देशन मोक्तानले गरेका हुन् भने नाटकमा विष्णु मोक्तान, दिपेन्द्रसिं दर्नाल, कुमारी राई, तुलसा थापा, हरि इवाहाङ लिम्बू, प्रसिका निरौला, सोनम मगर, निश्चल कुलुङ, मिलन राई, गेबी लिम्बू, शंकर थापा र उदिप लिम्बूको अभिनय छ । यस्तै, निर्माण संयोजनमा स्पन्दन राजा, संगीत विनायक राई, केलाङ नृत्यमा कुमार हुक्पा चोक्पा चोङबाङ र नेत्र छन्त्यालको बिशेष सहयोग रहेको एकेडेमीले जनाएको छ ।
......................................................

सांसदहरुले पनि हेरे ईङघङ

नाटक ईङघङको अन्तिम शो सोमबार साढे ४ बजे शुरु हुने भनिएपनि झण्डै एक घण्टा ढिला शुरु भयो । यसको मुख्य कारणमा प्रतिनिधिसभाका सांसद जयकुमार राई, प्रदेशसभा सांसद प्रदिप भण्डारी र सावित्री श्रेष्ठको प्रतिक्षा थियो । अर्को एक कार्यक्रममा सहभागी भएर आउनु पर्ने भएकोले केही ढिलाई गरि नाटक शुरु भयो ।
अन्तिम शो भएकोले सोमबार रातीको शो हेर्न अपेक्षा गरेभन्दा बढी दर्शकहरु आएका थिए । तिन जना सांसदसँगै धरान प्रज्ञा प्रतिष्ठानका संयोजक अम्बिका सम्बाहाम्फे, बराह ज्वेलरी इष्ड्रष्ट्रिज प्रालिका सञ्चालक एवं धरान प्रमुख मानबहादुर विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत गंगा कालिकोटे, वडा नं १८ का अध्यक्ष प्रविण राईलगायतहरुको पनि उपस्थिति रहेको थियो ।






















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे