बुढासुब्बा गोल्डकप बिसौं बर्षमा, माघ तेस्रो सातादेखि प्रतियोगिता हुने


धरान,माघ २ । मोफसलमा निरन्तर आयोजना हुदै आएको बुढासुब्बा रेडबुल गोल्डकप यसपाली २० औं बर्षमा प्रवेश गर्दैछ । दुई दशक पुरा भएको अवसरमा बुढासुब्बाको २० औं सँस्करणलाई भव्य र आकर्षक बनाउन आयोजक धरान फुटबल क्लबले बिशेष तयारी शुरु गरेको छ ।
क्लबका अनुसार माघ २० गतदेखि २७ गतेसम्म २० औं सँस्करण आयोजना हुनेछ । पछिल्ला ६ सँस्करण धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुदै आएको प्रतियोगिता यो बर्षदेखि पुनः धरान १६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा हुनेछ । निर्माणाधिन रंगशालाको अधिकांश प्याराफिट बनिसकेको छ भने खेलमैदान मर्मत सम्भार भइरहेको क्लबका अध्यक्ष एवं एन्फा केन्द्रीय उपाध्यक्ष किसोर राईले बताए । कुनै बेला एन्फा गणेश थापा र गीता राणा नेतृत्व विवादमा फसेर नेपाली फुटबल ओरालो लाग्दा बुढासुब्बा गोल्डकपले साख जोगाएको थियो । अहिले पनि ठ्याक्कै नेपाली फुटबलले त्यही नीयति भोगिरहदा बुढासुब्बा गोल्डकप भने सुखद २० औं वसन्तमा पाइला टेक्दैछ । ‘हिजो जस्तो लाग्छ, हामीले बुढासुब्बा गोल्डकप शुरु गर्ने निर्णय गरेका थियौं, २० बर्ष पुगिसकेछ । यो एउटा युग हो, २० औं सँस्करणलाई हामी बिशेषरुपमा आयोजना गर्दैछौं,’बराह किचनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले भने,‘प्रदेश नं १ को राजधानी धरानमा भन्ने नारासहित स्तरीय फुटबल खेल पस्कने तयारीमा छौं ।’
२०५५ सालदेखि शुरु भएको बुढासुब्बा गोल्डकप निरन्तर आयोजना हुने एक मात्र नेपालको फुटबल प्रतियोगिता हो । बुढासुब्बाकै सिको गरेर पछि विभिन्न प्रतियोगिताहरु नेपालमा शुरु भएको छ । प्रतियोगितामा अहिलेसम्म ९ वटा टिम सहभागी हुने तय भएपनि टिम १० वटा हुनसक्ने क्लबले जनाएको छ । सम्भावित टिमहरुमा नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी क्लब, संकटा क्लब, थ्रीस्टार क्लब, अण्डर १९ राष्ट्रिय नेपाली टिम, वंगलादेश धनमुन्दी क्लब, गरिफा फुटबल क्लब कलकत्ता(भारत), सशस्त्र प्रहरी क्लब र आयोजक क्लब छन् । ‘नेपाली सेनाको टिमलाई पनि सहभागी गराउने पहल गछौं, गत बर्ष पनि प्रयास गरेका थियौं, यसपाली पनि प्रयत्न गरेर १० टिम बनाउनसक्छौं,’अध्यक्ष राईले भने,‘यसपाली उपाधि जित्ने भनेर धरानको मात्र उत्कृष्ट, क्षमतावान खेलाडी राखेर टिम बनाएका छौं । खप्तड गोल्डकपमा पनि राम्रो प्रर्दशन गरिसकेको छ ।’
प्रतियोगिताको विजेताले ट्रफीसँगै नगद ५ लाख १ हजार र उपविजेताले २ लाख ५१ ह्जार पाउनेछ । गत सँस्करण बराबर नै भएकोले यो पुरस्कार राशी बढ्न सक्ने आयोजकले जनाएको छ । उत्कष्ट खेलाडीले यामाहा मोटरसाइकल पाउनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उदयीमान खेलाडीलाई जनही नगद २५ हजार दिइने आयोजक क्लबले जानकारी दिएको छ । ‘व्यक्तिगततर्फ नगद पुरस्कार बृद्धि गरेका छौं, विजेता र उपविजेतालाई पनि बृद्धि गर्नेबारे क्लबले पुनर्विचार गर्नेछ । पैसा बढाउन भन्दा पनि निरन्तरतामा हामी केन्द्रीत छौ,’क्लबका अध्यक्ष राईले भने ।
.................................................................................

                        प्रतियोगिता अवधिभर सडक उत्सव

बुढासुब्बा गोल्डकप दुई दशक पुगेको अवसरमा प्रतियोगिताअवधिमा धरान सडक उत्सव आयोजना गर्नेबारे क्लब र होटल एशोसिएशनबीच आवश्यक गृहकार्य भइरहेको छ । विगतमा ३ दिन मात्र सडक उत्सव हुदै आएकोमा गोल्डकप अवधिमा समय पारेर सातै दिनसम्म साँझमा सडक उत्सव गराउनेबारे छलफल भइरहेको क्लब अध्यक्ष राईले बताए । खेलप्रेमीहरु दिउँसो फुटबलमा रमाउछन् भने साँझमा उत्सवमा रमाउनेछन् । यस्तै, प्रतियोगिताको प्रर्वद्धन एवंं प्रचारप्रसारको लागि प्रमोशनल मिडिया कप पनि आयोजना गरिनेछ । माघ १४ देखि १७ गतेसम्म हुने प्रमोशनल कपमा पत्रकार, बैंकर्स, मजदुर, प्याब्सन एनप्याब्सन, सुनचादी व्यावसायीलगायतका ८ टिम सहभागी हुनेछन् । गोल्डकप शुरु हुनुभन्दा एक दिन अघि माघ १९ गते भानुचोकमा सांगीतिक कार्यक्रम हुनेछ । जसलाई गायक एवं कृपा फाउण्डेशन,बराह ज्वेलरी प्रालिका अध्यक्ष शिव लामिछानेसहितको राष्ट्रिय कलाकारहरुको बिशेष प्रस्तुती हुने आयोजकले जनाएको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे