पुरानो बजारको ड्रेन निर्माणमा लापरवाही, मापदण्ड अनुसार नबनेको २ सय ४८ स्ल्याब रिजेक्ट

धरान,भदौ २१ । धरानको वडा नं २ र ३ मा पर्ने पुरानो बजारको सडक विस्तारको क्रममा ठेकेदार कम्पनीले सडकको दुवै साइडमा निर्माण गरेको ड्रेन गुणस्तरहिन बनेको पाइएको छ । सडकको दुवैतर्फको ड्रेनको वाल, ढलान र माथि राखिने स्ल्याब निर्माणमा कमसल र मापदण्ड वमोजिम निर्माण सामग्री प्रयोग नगरेको कारण निर्माण कार्य गुुणस्तरहिन भएको हो ।
गुणस्तरहिन काम भएको गुनासो आएपछि धरानका उपप्रमुख मञ्जु भण्डारी सुवेदीसहित दुवै वडाका जनप्रतिनिधि र प्राविधिकहरुको संयुक्त टोलीले स्थलगत अनुगमन गर्दा पनि निर्माण कार्य गुणस्तरहिन भएको ठहर गरेको थियो । अनुमगनको क्रममा निर्माण कार्य नसकिदै ठाउँ ठाउँमा ड्रेनको ढलान भत्किएको छ भेटिएको थियो भने ड्रेनको वाल पनि कमजोर रहेको पाइएको थियो । यो सडक विराटनगरस्थित शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालयको बजेटमा विस्तार भइरहेको हो । विभागबाट देवे एण्ड सयर भुमि जे.भि.ले ठेकका पाएर निर्माण कार्य गरिरहेको हो ।
उप प्रमुख भण्डारीले अनुसार मंगलबार निर्माणाधिन ड्रेनको अनुगमनको क्रममा ठेकेदारको सन्तोषजनक काम कतै पनि नभेटेको बताइन् । ‘सन्तोष गर्न लायक ठाउँ छैन, गुणस्तरहिन काम भएको छ,’उपप्रमुख भण्डारीले भनिन्,‘४ फिट ढलान हुनुपर्नेमा कतै २ फिट छ, कतै १ फित जति पनि छैन, मैले लात हान्दा वालको इटा खस्यो । तपाई भन्नुस् त कस्तो काम भयो होला ?’ अनुगमनको क्रममा ड्रेन माथि राख्न बनाइएको स्ल्याबमा पनि ८ वाई १० को रड प्रयोग हुनुपर्नेमा ७ वाइ १० को मात्र प्रयोग गरेको भेटिएको उनले बताइन् । तयारी अवस्थाका ती २ सय ४८ वटा स्ल्याबलाई रिजेक्ट गरिएको पनि उनले जानकारी दिइन् । ‘सडक डिभिजनको इञ्जिनियरलाई यस्तो काम गर्ने ठेकेदारलाई कारबाही गर्नुस् भनेको छु, र ती गुणस्तरहिन सामान सिज गरेर मापदण्ड, स्टिमेटअनुसार बनाउन निर्देशन दिएका छांै,’ उपप्रमुख भण्डारीले भनिन् ।
स्थलगत अनुगमन पश्चात उप प्रमुख भण्डारीको अध्यक्षतामा मंगलबार शहरी विकासका इञ्जिनियर, ठेकेदार, जनप्रतिनिधि, स्थानीयसहितको वैठकले निर्माण कार्यको अनुगमन गर्न कार्यपालिका सदस्य कैलाश अग्रवालको संयोजकत्वमा ६ सदस्यीय अनुगमन समिति गठन गरेको छ । साथै, सो वैठकले ड्रेनको स्टिमेट अनुसार वेड लेभल पुनः गर्न लगाउने, ठाउँ ठाउँमा फुटेको प्लष्टर पनि पुनः ठेकेदारलाई गर्न लगाउने निर्णय गरेको छ । यस्तै, ड्रेन निर्माण कार्य गर्दा खानेपानीको पाइप लाइन फुटेकोले सो मर्मत गर्न लाग्ने खर्च शहरी विकासबाट भक्तानी गराउने पनि निर्णय भएको छ । कार्यपालिका सदस्य तथा अनुगमन समितिका संयोजक अग्रवाल काम शुरु भएदेखि नै ठेकेदार कम्पनीले लापरवाही र गुणस्तरहिन काम गरेकोमा आवाज उठाउदा पनि सुनुवाई नभएको बताए । ‘शुरुदेखि नै हामीले आवाज उठायौं, तर जनप्रतिनिधि नभएकोले कुरा सुनुवाई भएन । नगरपालिकाले पनि शहरी विकासले गरेको काम भनेर त्यसबेला वास्ता गरेन,’ अग्रवालले भने,‘जनप्रतिनिधि आएपछि बल्ल सुनुवाई भयो ।’
वडा २ का बासिन्दासमेत रहेका अग्रवालका अनुसार ठेकेदार कम्पनीले सोलिङ गर्दा ढुंगा प्रयोग नगरी गिटीजस्ता सानो ढुंगा लगाएको छ । यस्तै, ढलाई गर्न मसला बनाउदा पनि कमसल सामग्री प्रयोग गरेको र मापदण्ड वमोजिम सिमेन्ट नहालेको उनले बताए । ‘त्यही भएर एकैपटक आएको पानीले ढलाई बगायो, ड्रेनको वालमा पनि १ नम्बर इटा हुनुपथ्र्यो, तर २ नम्बर लगाएको छ,’उनले भने । ठेकेदार कम्पनीले स्ल्याब निर्माणको जिम्मा कालिका कन्स्ट्रक्सनका सिंहबहादुर तामाङलाई दिएका थिए । उनले २ सय ४८ स्ल्याब बनाइसकेका थिए । त्यो रिजेक्ट भएको छ । आफुले कामदार र बनाउने जिम्मा मात्र लिएकोले ठेकेदार कम्पनीले उपलब्ध गराएको सामग्रीअनुसार नै स्ल्याब बनाएको तामाङको दाबी छ । ‘मैले लेबर र बनाउने मात्र जिम्मा पाएको हो, जुन सामान, रड दिएको छ, त्यसअनुसार नै बनाएको हो,’उनले भने । स्ल्याब बनाउन ८ वाई १० रड हुनुपर्नेमा ७ बाई १० को मात्र प्रयोग भएको अनुगमनको क्रममा पाइएको थियो । उनले ४ हजार ५ सय स्ल्याब बनाउनुपर्ने छ ।
ठेकेदार कम्पनीका सब इञ्जिनियर सत्यनारायण ठाकुर भने ड्रेन निर्माणमा लापरवाही नभएको दाबी गर्दै बर्षातमा धेरै ठुलो बाढी आएर सोलिङ भत्काएको बताउछन् । ‘ढलाई गरेर गयो, सुक्दै नसुकी पानी परेर बाढी आएर लैजाने । थुप्रै पटक रिपेयर पनि गर्यौं, तर यहाँ ठुलो बाढी नै आउदो रैछ,’उनले भने,‘बाढीले ढुंगा, बालुवा ल्याएर ड्रेनभित्र थुपारीदिने । हामीले त स्टिमेट अनुसार नै काम गरेका छौं ।’ शहरी विकास डिभिजनका इञ्जिनियर रुद्रनारायण दास भने मापदण्डविपरीत भएको काममा ठेकेदारलाई कारबाही गरेको जिकिर गर्छन् । ‘उसले बनाएको स्ल्याब रिजेक्ट गर्यौं, जहाँ जहाँ ड्रेनमा खराबी भेटिएको छ, त्यहाँ फेरी ढलान गरेर बनाउन भनेका छौं,’उनले भने,‘यो कारबाही नै गरेको हो ।’
सडक विस्तार अभियानअन्र्तगत शहरी विकासको बजेटबाट धरानको सिंहदेवीदेखि माछाभौडी नजिकसम्म ४३७.१०० मिटर सडक पक्की बन्दैछ । ५० फुटको सडक दुवैतर्फ ड्रेन निर्माण कार्य भइरहेको  छ । सडकको पुर्वतर्फ २ मिटर १० सेमी र पश्चिमतर्फ १ मिटर ६५ सेमी ड्रेन हुनेछ । यो सडक करिब १ करोड ६५ लाखमा ठेक्का लागेको हो ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे