पानी चौतारी श्रृंखला ३, भुमिगत स्रोत रिचार्ज नगरे रित्तिन्छ

धरान,असोज ३ । एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा एकीकृत सहरी विकास आयोजनाअन्र्तगत भुमिगत खानेपानी योजना शुरु हुदा धरानबासीहरुले एउटा चिन्ता प्रकट गरेका थिए,‘बोरिङ गरेर पानी निकालिरहदा भुमिगत स्रोत पनि सुक्दै जान्छ कि !’ तर, आयोजना अन्तिम चरणमा आइसक्दा पनि यसको उचित जवाफ भने धरानेहरुले पाउन सकेका थिएनन् ।
धरान पानी चौतारीको श्रृंखला ३ मा भने आयोजित छलफलमा विज्ञहरुले यसबारे प्रष्ट्याउदै भने,‘भुमिगत पानी झिकिरहने मात्र हो भने बषौं समय लाग्छ, तर जलभण्डार रिक्तिनसक्छ ।’ भुमिगत जलभण्डार रित्तिन नदिन विज्ञहरुले रिचार्ज(पुर्नभण्डारण) गर्ने विधि अपनाउन पनि सुझाव दिएका छन् । साउथ एसिया इन्टिच्युट अफ एडभान्स स्टडिज(सियास)ले शहरी करण, जलवायु परिवर्तन र यसले पर्यावरण एवं पानीको स्रोतमा पार्ने असरहरुबारे धरानमा अध्ययन गर्दै आइरहेको छ । अध्ययनकै क्रममा सियासको पहलमा उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्डले पानी श्रृंखला आयोजना गर्दै जलवायु तथा पानीका स्रोतहरुको विभिन्न समस्या एवं मुद्दाहरुमा विज्ञसहित सरोकारवालाहरुबीच छलफल पनि गराउदै आएको छ ।
तेस्रो श्रृंखलामा अध्ययनका टिम लिडर एवं विज्ञ प्रा.डा.रोशनमान बज्रचार्यले तीब्र शहरीकरण एवं जनसंख्या वृद्धिले खानेपानीको माग बढीरहेको तर जलवायु परिवर्तनसँगै विविध कारणले पानीको स्रोत भने कम हुदै गएर समस्या तिम्तिएको बताए । उनका अनुसार समुद्रबाहेक पिउन योग्य ३ प्रतिशत फ्रेस पानी पनि १.७ प्रतिशत हिमनदी र वरफमा जमेको छ भने सतहमा १ प्रतिशत भन्दा कम पानी नदी, नाला र तालमा छ । जमिन मुनि(भुमिगत) रहेको १.७ प्रतिशत पानी प्राप्त गर्नु ज्यादै खर्चिलो छ । तर, पछिल्लो समय प्रविधिको विकाससँगै भुमिगत जलभण्डारको पानी उपभोग गर्ने चलन बढ्दै गएको र पुर्नभण्डारणतर्फ ध्यान नदिदा कालान्तरमा भुमिगत पानी रित्तिनसक्ने भन्दै डा.बज्रचार्यले चिन्ता प्रकट गरे । ‘भुमिगत पानी झिकिमात्र रहने र रिचार्ज गर्न ध्यान नदिने हो भने ४०, ५० बर्षपछि जलभण्डार रित्तिन सक्छ,’बज्रचार्यले भने,‘धरानले पनि भुमिगत स्रोत उपभोग गर्दैछ, २४ सै घण्टा पानी तान्दा लेयर घट्दै जान्छ । त्यसैले रिचार्जको उपायहरु अबलम्बन गर्नुपर्छ ।’
डा. बज्रचार्यका अनुसार भुमिगत जलभण्डारको २ लेयर हुन्छ । धरानले डिप बोरिङ गरेर उपभोग गर्ने पानी चट्टान मुनिको लेयरको हो । यो जलभण्डारको स्रोत तत्काल रित्तिदैन तर निरन्तर धरानमा जस्तै अन्य क्षेत्रबाट पनि डिप बोरिङ गर्दै उपभोग गर्ने हुनाले विस्तारै लेयर कम हदै जान्छ । चटान मुनिको यो लेयरको जलभण्डार रिचार्ज हुन हिमाली, पहाडी क्षेत्रमा नै बर्षा हुनुपर्छ । यसको लागि जलाधार क्षेत्र संरक्षण एवं पहाडी र चुरे क्षेत्रमा पनि वनजंगल तथा पर्यावरण जोगाउनुपर्ने उनको धारणा थियो । ‘अहिल्यै रित्तिन्छ भन्ने होइन, तर धरानले जस्तै अरुतिर पनि डिप बोरिङ गरेर पानी निकाल्ने चलन बढ्दै छ, यसले विस्तारै लेयर कम हुदै जान्छ,’उनले भने । काठमाण्डौंमा भएको अध्ययनले भुमिगत जलभण्डारको लेयर कम हुदै गएको देखिएको पनि उनले बताए ।
अर्का अनुसन्धानकर्ता कस्तुपराज न्यौपानेले डिप बोरिङ गरिएको धरानको जलभण्डार रिचार्ज गर्ने उपायहरुबारे प्रस्तुती दिदै पुर्नभरण(रिचार्ज) प्राकृतिकरुपमा नै हुने भएपनि यो ढिलो हुनो हुदा कृत्रिम पुर्नभरण विधिबाट छिटो रिचार्ज गर्नुपर्नेमा जोडदिए । उनले तराईको फराकिलो भुभागमा पानी बगाइदिने, खोल्डो वा पोखरी निर्माण गरेर पानी जमा गरिदिने विधि प्रयोग गर्नसकिन्छ । काभ्रेमा यही विधि प्रयोग गर्दा विगतमा सुकिसकेको पानीको स्रोतमा अहिले पानी आउन थालेको पनि उनले खुलाए । ‘खोल्साहरुमा चेकड्याम बनाउदा बाढी पनि नियन्त्रण हुन्छ, र पुर्नभरण पनि हुन्छ । भीरहरुमा पानी छिटो बगेर जान नदिई रोक्ने विधि अपनाउनुपर्छ । खोलालाई ड्याम बनाउदा पनि रिचार्ज हुन्छ,’ न्यौपानेले भने,‘यसले माथिल्लो लेयरलाई रिचार्ज गर्छ तर डिप बोरिङ गरेर निकालिएको ठाउँमा डिप बोरिङ वेल बनाएर नै जलभण्डार रिचार्ज गर्ने विधि अपनाउनु उपयुक्तहुन्छ ।’ अनुसन्धानकर्ता न्यौपानेले धरानमा ग्रिन होम्स नीति लागु गरिएकोले आकाशे पानी संकलन गरेर रिचार्ज गर्ने नीतिलाई तत्काल लागु गर्नसकिने उपाय पनि बताएका थिए ।
धरान उपमहानगरका शहरी विकास महाशाखाका इञ्जिनियर सुरज श्रेष्ठले धरानमा आकाशे पानी संकलन गर्ने विधि प्रयोगमा भएपनि उपभोग गर्ने वा रिचार्जको लागि जमिन मुनि नपठाई ड्रेनमार्फत खहरे खोलामा पुर्याइएको बताए । ‘यो पानी खेर गइरहेको छ, र खहरेमा बाढीले धेरै क्षति पनि भइरहेको छ,’उनले भने,‘अब रिचार्ज गर्ने गरि जमिनमुनि पुर्याउन घरको बनाउन विधि र नीति आवश्यक छ ।’ धरानका प्रमुख तारा सुब्बाले भुमिगत स्रोत सुक्छ कि भन्ने नगरबासीको प्रश्नप्रति आफु चिन्तित रहेको र जलभण्डार रिचार्जको विधि अपनाउनेतर्फ पनि सचेत रहेको बताए । ‘जमिन मुनिको स्रोत बचाउन के अवलम्बन गर्नुपर्छ, त्यसतर्फ ध्यान दिन्छांै । धरानमा आफैमा खानेपानी समस्या भोगेको शहर हो, जमिन मुनिको पानी स्रोत उपभोग गर्दा सुक्छ कि भन्ने प्रश्न उठेको छ,’उनले भने,‘स्रोत भण्डार बचाउन, जलाधार संरक्षण गर्न गम्भीर छौं । घरको पानी संकलन गरेर जमिन मुनि पठाउने प्रविधिलागि नीति आवश्यक छ, त्यो कार्यान्वयनमा ल्याउछौं ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे