मासु बजारको अनुगमन:अव्यवस्थित पसल, अस्वस्थ्यकर मासु

धरान,असोज ४ । दशैं तिहार जस्ता चाडमा मासुको खपत एवं बिक्रीवितरण अत्यधिक हुने गरेको छ । तर, ती सबै मासुहरु खान योग्य अथवा स्वास्थ्यकर छन् त ? यही प्रश्नको जवाफ खोज्न बुधबार बिहानै उपप्रमुखको नेतृत्वमा धरानको मासु बजारको अनुगमनमा एक टोली निस्कियो ।
अनुगमन टोलीले अनुगमन गरेको मासु पसलहरु मध्ये ज्यादै थोरै मासु पसल मात्र सन्तोषजनक रहेको भेट्यो । अनुगमन गरेकोमध्ये अधिकांश मासु पसल र वधशाला उपभोक्ताको स्वास्थ्यमा सिधैं असर पुग्ने गरी अव्यवस्थित, असुरक्षितरुपमा सञ्चालनमा रहेको अनुगमनकर्ताहरुले बताएका छन् । अनुगमन टोलीले त्यस्ता मासु पसल र बधशालालाई पहिलो चरणमा सचेत गराउदै १० दिनभित्र सुधार नगरे कारबाही गर्ने चेतावनी दिएको छ । ‘अनुगमन गरेकोमध्ये अधिकांश मासु खान योग्य देखिदैन, बधशाला नजिकै मासु बिक्री भइरहेको छ । मासु पसल फोहोर छ, यो उपभोक्ताको स्वास्थ्यमाथि लापरवाही र खेलवाड हो,’अनुगमन टोलीकी संयोजक एवं उपप्रमुख मञ्जु भण्डारी सुवेदीले भनिन्,‘पहिलो चरणमा वार्निङ दिएका छौं, र १० दिनभित्र मापदण्डा पुरा गर्नुपर्छ भनेर निर्देशन दिएका छौं । अटेर गरे कारबाही गछौं ।’ स्थानीय सरकार(उपमहानगर)ले छिट्टै उपभोक्त ऐन बनाएर कडाई गर्ने पनि उनले बताइन् ।
गत भदौ २५ गते वृहत छलफलबाट सधैंको लागि बजार अनुगमन गर्न उपप्रमुख सुवेदीको संयोजकत्वमा अनुगमन समिति गठन भएको थियो । सोही समितिले बुधबार बिहान धरान ७ बुद्धमार्गस्थित राम मिनि मार्केट मासु बजार, धरान ३ माछाभौडी(सदन रोड)स्थित मासु पसल, धरान ७ मिलन पथको फ्रेस हाउस अनुगमन गरेको थियो । वधशाला र बिक्री गर्ने स्थान अलग्गै हुनुपर्नेमा एकै ठाउँमा भेटिएको थियो भने मासुलाई सिसाभित्र राखेर वा डिप फ्रिजमा राखेर बिक्री गर्नुपर्नेमा खुलारुपमा राखेर बिक्री गरिरहेको पाइएको पब्लिक हेल्थ माइक्रोबायोलोजिष्ट धिरेन लिम्बूले बताए । ‘स्वास्थ्यको दृष्टिकोणले यो ज्यादै खराब अवस्था हो । मासु बिक्री गर्ने ठाउँ नजिकै अव्यवस्थित र फोहोर वधशाला छ । त्यहाँको फोहोर नजिकैको नालीमा हालिएको छ । त्यहाँको दुर्गन्ध र झिंगाहरु आएर मासुमा परेको छ,’लिम्बूले भने,‘खासमा मासुलाई बाहिरी हावाले सिधैं छोएको हुनुहुदैन, सफा सिसाभित्र वा डिप फ्रिजमा राख्नुपर्ने हुन्छ । तर, कतिसँग डिप फ्रिज नै छैन ।’ व्यापारीहरुले मासु कुहुन थालेपछि मात्र फ्रिजमा राख्ने गरेको उनले बताए ।
राम मिनि मार्केटको मासु बजारमा त हदैसम्मको लापरवाही भेटिएको अनुगमन टोलीले जनाएको छ । त्यहाँ मासु पसलको २ मिटरको दुरीमा रहेको शौचालय भरिएर दिशा बाहिर निस्केको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो । साथै, मासु पनि अव्यवस्थित, असुरक्षित र खुलारुपमा बिक्री गरेकोले सफा गर्न, सौचालय सार्नलगायतको कडा निर्देशन दिएको थियो । ‘२ ठाउँ हेर्दा उपभोक्ताको स्वास्थ्यमाथि साह्रै खेलवाड भएको देखिन्छ । वधशाला त्यही छ, त्यही नै मासु बिक्री भइरहेको छ । एप्रेनसमेत लगाएका छैनन् । अब स्थानीय सरकारले कडा ऐन बनाएर नियमित अनुगमन गर्नुपर्छ, र सुधार नगर्नेलाई कारबाही पनि गर्नुपर्छ,’ उपभोक्ता हित संरक्षण मञ्चका क्षेत्रीय उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले भने । धरान ३, माछाभौडीका स्थानीयले मानव बस्तीसँगै अव्यवस्थित र फोहोरढंगले बधशाला हुदा दुर्गन्ध फैलिएर बस्नै नसक्ने अवस्था आएको गुनासो गरेका थिए । उनीहरुले बधशाला अन्तै सार्न अनुगमन टोलीसँग माग पनि गरे । ‘घरहरुको बीचमा बधशाला छ, दुर्गन्धले हामीलाई बस्नै गाह्रो छ । फोहोर छाला, हाडलाई कागले टिपेर घरको छततिर पुर्याइदिन्छ,’ स्थानीय माधवकृष्ण रञ्जितकारले भने,‘यहाँको वधशालालाई अन्तै सारेर मासु पसल पनि सफा, राम्रो बनाउनुपर्छ ।’







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे