बीपी प्रतिष्ठानमा बेथिति: करोडौं अनियमितता भएको दाबी,अनियमितताविरुद्ध दबाब समुह गठन


धरान,असोज २ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा करोडौंको आर्थिक अनियमितता भएको त्यहीका कर्मचारीहरुले दाबी गरेका छन् । प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजले आइतबार नागरिक समाज, राजनैतिक दल र बुद्धिजिविहरुसँग होटल कञ्चनजंघामा अन्र्तक्रिया गर्दै प्रतिष्ठानको भ्रष्टचार, अनियमितता रोकेर धरासायी हुनबाट जोगाउन समेत आग्रह गरेको थियो ।
समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङले नयाँ एमआरआइ मेशिन खरीद प्रकरणमा भएको अनियमितता, गत आर्थिक बर्षमा मुटु रोग सेन्टर र क्यान्सर सेन्टरको लागि परामर्शदाता नियुक्तीमा भएको आर्थिक अनियमितता, भवन निर्माणको ठेक्का शिलबन्दी खोल्नु २ घण्टाअघि रद्द गरिनु, भवन निर्माणको रकम कार्यकारिणी समितिको निर्णय विना नै एमआरआई खरीदमा रकमान्तर गरिनुलगायत थुप्रै आर्थिक चलखेलको फेहरिस्त प्रस्तुत गरेका थिए । यी सबै वर्तमान उपकुलपति डा.राजकुमार रौनियार नियुक्ती भएपछिका घटनाक्रमहरु हुन् । एमआरआइ मेशिन खरीद प्रकरण बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न भन्दै प्रतिष्ठानबाट फाइल लगिसकेको छ ।
समाजका अध्यक्ष तामाङका अनुसार गत बर्ष प्रतिष्ठानले एमआरआई मेशिन खरीद प्रक्रिया अघि बढाउदा रेडियोलोजी विभाग प्रमुख रहेका हालका उपकुलपति रौनियारले नै १.५ तेस्लाको मेशिन किन्न अस्वीकार गरेको थियो । रौनियार उपकुलपति भएपछि भने सोही प्रकृतिको मेशिन खरीद प्रक्रिया अघि बढाएपछि अख्तिायारलेसमेत छानबिन थालेको हो । गत बर्ष हस्पिटेक कम्पनीले टेण्डर हाल्दा जुन जुन बिशेषता मिलेन, त्यही स्पेसिफिकेसनमा हटाएर तथा थपेर सोही कम्पनीसँग मिल्ने स्पेसिफिकेशन बनाएर ठेक्का कार्टेलिङ गरेर खरीद गर्ने प्रपञ्च रचेको तामाङले जानकारी गराए । ‘सबैभन्दा गम्भीर कुरा त क्यान्सर र मुटु रोग सेन्टरको लागि सरकारले विनियोजन गरेको बजेट रातारात कार्यकारिणी समितिको निर्णय विना रकमान्तर गरियो । आर्थिक बर्षको अन्तिम दिन त्यो पनि शनिबार एल.सि.खोलियो,’तामाङले भने । प्रतिष्ठानले करिब १८ करोडमा खरीद गर्न लागेको मेसिनको कम्पनीको वास्तविक मुल्य भने ९ करोड मात्र रहेको छ । गत आर्थिक बर्षमा भने १२ करोडमा खरीद गर्ने प्रक्रिया अघि बढेको थियो ।
कार्यकारिणी समितिको निर्णय विना रकमान्तर गर्दा प्रतिष्ठानमा बन्न लागेको मुटु (२ सय शैया) र क्यान्सर सेन्टर(२ सय शैया)को भविष्य अन्यौलमा परेको छ । गत बर्ष सरकारले मुटु रोग सेन्टरलाई १४ करोड र क्यान्सर सेन्टरलाई ३ करोड बजेट विनियोजन गरेको थियो । सोही कार्यको लागि परामर्शदाता नियुक्त गरेर करिब ७ करोड रुपैया पनि भुक्तानी दिइसकेर भवन निर्माणको ठेक्का भने सिलबन्दी खोल्ने २ घण्टा अघि मात्र रद्द गरेपछि दुवै भवन निर्माण अनिश्चित भएको तामाङले बताए । ‘भवन निर्माण नै नगर्ने हो भने परामर्शदाता किन नियुक्त गरियो, र हतार हतार ७ करोड भुक्तानी दिइयो ? परामर्शदातालाई भुक्तानी गरिसके पछि यो आर्थिक बर्षमा निर्माण गर्ने सुनिश्चितता किन गरिएन ?’उनले प्रश्न उठाउदै भने,‘हाम्रो सरोकार भनेको परामर्शदातालाई भुक्तानी गर्ने नियतले मात्र टेण्डर खोलियो भन्ने हो । क्यान्सर र मुटु रोग सेन्टरको भवनलाई तुहाएर भ्रष्टचार गर्न एमआरआइ खरीद गरियो भन्ने हो ।’
क्यान्सर र मुटु रोग भवनको परामर्शदाता नियुक्तीमा गर्दा पनि देशकै हालसम्म सबैभन्दा महंगो दर(लागतको ३.६ प्रतिशत)मा ठेक्का दिइएको छ । जबकी निर्माणाधिन ४ सय शैयाको एमसिएच(मातृ शिशु) सेन्टरको भवनमा भने सोही ठेकेदारले लागतको १.४ प्रतिशतमा ठेक्का लिएको थियो । यसमा पनि करोडौंको संस्थागतरुपमा नै भ्रष्टचार भएको कर्मचारी कल्याण समाजले दाबी गरेको छ । मुटु सेन्टरको लागत स्टिमेट १ अर्ब ४४ करोड र क्यान्सरको १ अर्ब ८३ करोड गरी कुल ४ सय शैयाको भवनको लागि कुल ३ अर्ब २७ करोड लागत अनुमान रहेको छ । यसको ३.६ प्रतिशतले परामर्श दातालाई ११ करोड ७७ लाख २० हजार बुझाउनुपर्छ । तर, यसअघि ४ सय बेडकै एमसिएचको परामर्शदाता नियुक्ती गरिदा ४ करोड ५७ लाख ८० हजारमा भएको थियो । यसले पनि प्रतिष्ठानलाई ७ करोड १९ लाख ४० हजार रुपैया नोक्सानी पुगेको समाजको दाबी छ ।

               अख्तियारमा पनि सेटिङ

प्रतिष्ठानमा विगतकालदेखि नै भ्रष्टचार हुने गरेको र अख्तियारले छापा मारेर फाइलहरु लगेपनि सेटिङमा अहिलेसम्म कारबाही नभएको अन्र्तक्रियाका सहभागीहरुले व्यक्त गरेका थिए । अर्थशास्त्रका सहप्रध्यापक डा.राजेन्द्र शर्मा पोखरेलले चरम राजनीतिकरण र राजनैतिक नियुक्तीले जर्जर हुदै गएको धारणा राखे । साथै उनले सर्वजनिक खरीद अनुगमन कार्यालयको मापदण्डअनुसार परामर्शदाता नियुक्ति गर्दा लागतको २.५ प्रतिशतभन्दा बढीमा ठेक्का दिन नहुने भएपनि बीपीमा सरासर भ्रष्टचार भएको देखिएको पनि बताए । ‘बीपीको भ्रष्टचार, आर्थिक अनियमिताको कुरा अख्तियारमा पनि नपुगेको होइन, तर त्यहाँ पनि सेटिङ छ । खै अहिलेसम्म कस्लाई कारबाही भयो ? अब मन्त्रालय र अख्तियारमा हुने सेटिङ भत्काउनुपर्छ,’शर्माले भने ।
पुर्वमेयर एवं नागरिक समाज धरानका अध्यक्ष मनोज मेन्याङ्बोले प्रतिष्ठान धरानको लागि वरदान सावित भएपनि नयाँ उपकुलपति आएपछि आर्थिक अनियमितताको कुरा सतहमा आएकोले उनको नियतप्रति शंका उब्जिएको बताए । भ्रष्टचारी मानसिकतालाई रोक्न नसके प्रतिष्ठानकै भविष्यमाथि प्रश्न खडा हुने भन्दै उनले सबै धरानबासी लाग्नुपर्नेमा जोडदिए । एमालेका जिल्ला नेता प्रदिप भण्डारीले विचौलियाबाट पैसाको पोको बुझाएर पदाधिकारी नियुक्ती हुने प्रवृत्ति तोडिनुपर्ने बताए । ‘बीपीमा भएको विकृति, विसंगित हटाउन कुन व्यक्ति मन पर्यो, कुन परेन भन्ने होइन, सुधार्न सबै लाग्नुपर्छ । भिसि भएर जो आएपनि भ्रष्टचार रोकिनपर्छ,’भण्डारीले भने ।
अन्र्तक्रियामा कांग्रेसका सभापति तिलक राई, राप्रपा नेपालका जुद्ध लोहनी, संघीय समाजवादी फोरमका ताजुब लिम्बू, एमाले नगरसचिव राजमणी निरौला, प्रा.डा.भिम खतिवडा, एमाले कार्यवाहक अध्यक्ष नारायण सुवेदीलगायतले धारणा राखेका थिए । उनीहरुले भ्रष्टचार,आर्थिक अनियमिता अन्त्यमा धरानबासी जागरुक हुनुपर्ने, आन्दोलनरत कर्मचारीहरुको माग पुरा गराउनुपर्ने, प्रतिष्ठानको सेवागुणस्तरमा सुधार आउनुपर्ने र कर्मचारीहरुले पनि आफ्नो पदीय जिम्मेवारी पुरा गर्नुपर्नेमा जोडदिए ।

              अनियमितताविरुद्ध दबाब समुह गठन

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भ्रष्टचार एवं आर्थिक अनियमितता भइरहको भन्दै नागरिक दबाब समुह गठन भएको छ । नयाँ उपकुलपति नियुक्ती भएपछि विभिन्न विवादमा फस्दै आएको प्रतिष्ठानलाई भ्रष्टचार एवं अनियमितताबाट मुक्त गरेर धरासायी हुन नदिन भ्रष्टचार विरुद्ध नागरिक दबाब समुह गठन गरिएको हो । प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजले आइतबार नागरिक समाज, राजनैतिक दल र बुद्धिजिविहरुबीच आयोजित अन्र्तक्रियापछि समुह गठन भएको हो । यो समुहले प्रतिष्ठानमा भइरहेको भ्रष्टचार एवं अनियमितताविरुद्ध आवाज र अभियान चलाउने साथै कर्मचारीहरुको जायज माग पुरा गराउन दबाब दिने र गुणस्तरीय सेवा प्रदान गर्न हरदम निगरानी गर्ने बताइएको छ ।
बुद्धिजिवि एवं सहप्राध्यापक डा.राजेन्द्र शर्मा संयोजक रहेको समुहमा सदस्य सचिव पत्रकार किसोरकुमार कार्की छन् । समुहको सदस्यहरुमा पुर्वमेयर मनोजकुमार मेन्याङ्बो, दलका प्रतिनिधिहरु, आदिबासी जनजाति महासंघको प्रतिनिधि, महिला सञ्जाल, उद्योग वाणिज्य संघको प्रतिनिधि, पत्रकार महासंघका प्रतिनिधि सदस्य हुनेछन् । यस्तै, धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस, पिण्डेश्वर विद्यापिठ, पुर्वाञ्चल क्याम्पसका प्रमुखहरु पनि दबाब समुहको सदस्य हुनेछन् भने विद्यार्थी प्रतिनिधिकोरुपमा सागर प्रसाई पनि सदस्य छन् । ‘बीपीमा भइरहेको विकृति, विसंगित विरुद्ध निगरानी गर्छ र न्युनिकरण गर्न पहल गर्छ । जे जति अनियमितता प्रकरण आएको छ, त्यस विरुद्ध सही ठाउँमा ल्याउन सकेसम्म पहल गछौं,’ब्लाष्ट टाइम्सका सम्पादकसमेह रहेका सदस्य सचिव कार्कीले भने ।
........................................................

दासको मान्छेले मेरोविरुद्ध षडयन्त्र ःउपकुलपति

करोडौं अनियमितता विवादमा तानिएका उपकुलपति डा.रौनियार भने पदमा पुर्नवहाली हुन नसकेका पुर्वउपकुलपति डा.बीपी दास र तिनका मान्छेहरुले आफुविरुद्ध षडयन्त्र गरेको प्रतिक्रिया दिएका छन् । दासकै सहयोगी र भित्रिया मान्छेहरु भेला भएर गठन गरेको समुहको कुनै औचित्य नभएको पनि उनले बताए । ‘के भएको हो भन्ने जाँचबुझ गर्ने निकाय छ, जो कोहीले समुह बनाउदैमा प्रतिष्ठानले हिसाब किताब देखाउनुपर्ने ? बैधानिकता के छ? ’ उपकुलपति डा.दासले भने,‘समुह बनेको सुने, सबै दासका मान्छेहरु हुन् ।’




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे