बीपी प्रतिष्ठानमा बेथिती:कांग्रेसभित्रको कलहले बीपी चपेटामा

धरान,असोज ७ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एवं नेपाली कांग्रेसका नेतासमेत रहेका सुजेन्द्र गोले तामाङ नेतृत्वमा रहेको कर्मचारी कल्याण समाजले भदौ दोस्रोत साता २१ बँुदे माग अघि सारेर उपकुलपतिलाई ज्ञापन पत्र बुझायो ।
समाजले ज्ञापनपत्र बुझाए लगत्तै कांग्रेस कार्यकर्ता राजन कोइराला नेतृत्वको कर्मचारीको तदर्थ समितिले पनि उपकुलपति डा.राजकुमार रौनियारलाई अलगै भेटेर आफ्नो माग पत्र बुझायो भने भदौ १९ गते धरान एकता समाजको नाममा गएको एक टोलीले उपकुलपति रौनियारसहित चारै पदाधिकारीलाई भेटेर बीपीको तलब खाएर राजनीति गरेको भन्दै समाजका अध्यक्ष तामाङ र कांग्रेसका क्षेत्रीय सदस्यसमेत रहेका समाजका वरिष्ठ उपाध्यक्ष उमेश थापालाई कारबाही गर्न माग गर्यो । कांग्रेसको जिल्ला कमिटिमा रहीसकेका एकता समाजको संरक्षक सन्दिप श्रेष्ठको नेतृत्वमा पुगेको टोलीमा अन्य संस्था र पार्टीका प्रतिनिधिहरु भएपनि अधिकांश कांग्रेसका स्थानीय नेता एवं कार्यकर्ताहरु नै थिए । एकता समाजको नेतृत्वमा पनि अधिकांश कांग्रेसीहरु नै छन् । यो टोली २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित क्षेत्रीय कार्यालयमा नै पुगेर कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझायो ।
नेपाली कांग्रेस पार्टीभित्र गुट र उपगुटको कलह कसैबाट छिपेको छैन । पार्टीभित्रको गुटको अन्र्तद्धन्द एवं कलहको बढ्दै गएर दक्षिण एसियाकै नमुना मानिएको बीपी प्रतिष्ठानलाई पनि गाँजेको पछिल्लो यी गतिविधिहरुबाट नै बुझ्न सकिन्छ । प्रतिष्ठानमा देखिएको संकट त्यहाँ हुने भ्रष्टचार र कमिशनको खेलको आडमा कांग्रेसभित्रको गुट, उपगुट र अन्र्तद्धन्द पनि प्रमुख कारण भएको जानकारहरुको भनाई छ । नेपाली कांग्रेसले पार्टीभित्रको गुटको इस्युलाई रोक्न नसके प्रतिष्ठान ठुलो दुर्घटनमा पर्ने सहप्रध्यापक एवं नागरिक दबाब समुहका संयोजक डा.राजेन्द्र शर्मा बताउँछन् । ‘बीपीमा अहिले जे जस्तो क्रियाकलापहरु भइरहेको छ, इस्यु भ्रष्टचार देखिए पनि कांग्रेस भित्रको अन्र्तद्धन्द, कलह बाहिर आएको हो,’संयोजक शर्माले भने,‘कांग्रेसले यसलाई रोक्न सकेन भने बीपीमा ठुलो दुर्घटना हुन्छ, र यसको जिम्मेवार कांग्रेस हुनुपर्छ । इतिहासले कांग्रेसलाई माफी गर्दैन ।’ प्रदेश, केन्द्रको चुनाव नजिकिदै गरेकोले पनि कांग्रेसभित्रको कहल सहतमा देखिएको उनको धारणा छ ।
डा.शर्माले संकेत गरेको जस्तो दुर्घटना हुनबाट शुक्रबार बीपी प्रतिष्ठान मुश्किलले जोगियो । माग पुरा गर्न चासो नदिएको भन्दै आन्दोलनरत समाजले शुक्रबार बिहान करिब ११ बजेतिर प्रतिष्ठानको चारै पदाधिकारीको कार्याकक्षमा तालाबन्दी गर्यो । लगत्तै कांग्रेस क्षेत्रीय सदस्यसमेत रहेका वडाअध्यक्ष प्रविण राई, धरान एकता समाजका संरक्षक श्रेष्ठसहित अधिकांश कांग्रेसी युवाहरु हेम्मरसहित ताला फोड्न प्रतिष्ठान पुगे । त्यसक्रममा प्रतिष्ठान निक्कैबेर तनावग्रस्त बन्यो । वडाअध्यक्षको नेतृत्वमा ताला तोडिएको खबर फैलिएपछि त्यसको विरोधमा कांग्रेसका युवाहरुको अर्को समुह भेला भएको खबरले प्रहरीले अप्रिय घटना हुन नदिन सर्तकता बढायो । प्रहरीलाई धरान १८ स्थित दुर्गाचोकमा ताला तोड्न गएको कांग्रेसीको विरोधमा ती युवाहरु भेला भएको खबर पुगेको थियो । उपकुलपति डा.राजकुमार रौनियार आफै पनि कांग्रेसनिटक चिकित्सक भएकोले उनी कांग्रेस कोटाबाट नै नियुक्ती पाएका हुन् । कांग्रेस निकट नेतृत्व रहेको कर्मचारी समाजले आन्दोलन चर्काइरहदा उपकुलपति रौनियार पनि कांग्रेस निकट नेतृत्व रहेको तदर्थ समितिलाई हातमा लिएर आन्दोलन दबाउने रणनीतिमा छन् ।
कांग्रेस नेतृत्वले नै बीपीमा कर्मचारी आन्दोलन चर्काएर तालाबन्दी गरेको घटनाप्रति असन्तुष्टी जनाउदै १८ वडाअध्यक्ष राई कांग्रेसको क्षेत्रीय सदस्य र क्रियासिल सदस्यबाट पनि राजिनामा दिएको पत्रकारलाई जानकारी दिए । बीपी प्रतिष्ठानमा बिकसित एकपछि अर्को घटनामा कांग्रेस नेता, कार्यकर्ताहरु मुछिदै गएपछि शुक्रबार साँझ क्षेत्रीय समिति र उपमहानगर समितिले संयुक्त विज्ञप्ती निकालेर बीपी प्रतिष्ठानमा उत्पन्न द्धन्दमा पार्टीको सहभागीता र संलग्नता नरहेको भन्दै स्पष्टीकरण दिनुपरेको थियो । ‘शान्तिपुर्ण आन्दोलन भइरहेको समयमा प्रतिष्ठानभित्र द्धन्दको स्थिति सृर्जना भएको प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको हुँदा सम्बन्धित पक्षहरुलाई तुरुन्त वार्ताको माध्यमबाट समस्या समाधान गर्न र त्यस्तो खालको द्धन्दमा नेपाली कांग्रेस पार्टीको कुनै किसिमको सहभागीता, संलग्नता नरहने र नहुन सम्पुर्ण पार्टी पंक्तिमा जानकारी गराउछौं,’ नगर सचिव श्याम पोख्रेल र क्षेत्रीय सचिव मुरारी भटराईद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
क्षेत्रीय सचिव भटराईका अनुसार धरान एकता समाज, वडाअध्यक्ष वा अन्य संस्थाको नाममा बीपीमा गएपनि नेपाली कांग्रेससम्बद्ध नेता, कार्यकर्ताहरु भएकोले जनमानसमा ती घटनाहरुमा कांग्रेस संलग्न भएको भन्ने भ्रम गएकोले पार्टीको तर्फबाट विज्ञप्ती नै जारी गर्नुपरेको बताउँछन् । बीपीमा भइरहेको आन्दोलन त्यहीको कर्मचारी र व्यवस्थापनबीचको बिषय भएकोले बाहिरी हस्तक्षेप वा संलग्नता हुन नहुने पार्टीको धारणा रहेको उनले प्रष्ट्याए । ‘सुजेन्द्र र उमेश जीले पार्टीबाट राजिनामा दिइसक्नु भएकोले अब उहाँहरु बीपीका कर्मचारी मात्र हुन्, त्यसैले कांग्रेस भनेर जोडिरहन उपयुुक्त हुन्न,’उनले भने,‘बीपीमा देखिएको समस्या कांग्रेसको कारणले होइन, भिसिको लापरवाही र कमजोरीले गर्दा भएको हो ।’
कर्मचारी कल्याण समाजका अध्यक्ष तामाङ जिल्ला सचिव तथा प्रवक्ता पदमा थिए भने वरिष्ठा उपाध्यक्ष उमेश थापा क्षेत्रीय सदस्य थिए । दुवै महासमिति सदस्य पनि हुन् । दुवैले सचिव र क्षेत्रीय सदस्यबाट राजिनामा दिएको बताए पनि महासमिति सदस्यमा यथावत छन् । दुवै कांग्रेस नेता शेखर कोइरालाका विश्वासपात्र मानिन्छन् भने धरानमा कांग्रेस राजनीतिको चतुर खेलाडी मानिन्छन् । गत स्थानीय तह निर्वाचनमा तामाङ प्रमुख पदका आकांक्षी पनि थिए । त्यसैबेलादेखि बीपीको तलब खाएर राजनीति गरेको भन्दै उनीहरुविरुद्ध आवाज उठ्न थालेको थियो । त्यसरी आवाज उठाउनेहरु कांग्रेसीहरु नै थिए । दुवैविरुद्ध कारबाहीको माग गर्दै खुलेर लागेका धरान एकता समाजका संरक्षक सन्दिप श्रेष्ठ कांग्रेसका पुर्व जिल्ला सदस्य हुन् । उनी सुजता कोइराला पक्षका मानिन्छन् । वडा १८ का अध्यक्ष राई तामाङसँग नजिक भएपनि बीपी प्रतिष्ठानको आन्दोलनको बिषयमा मतभेदले पछिल्लो समय दुरी बढाएको छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे