बीपी प्रतिष्ठानमा बेथितीःअस्तव्यस्त बन्दै प्रतिष्ठान, पदाधिकारीको कार्यकक्षमा तालाबन्दी, बाहिरबाट गुण्डा ल्याएर धम्की दिएको आरोप

धरान,असोज ७ । आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्नुको साटो उपकुलपतिले  आन्दोलनकारीलाई दबाउन ‘बाहिरी सहयोग’ खोजेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्तब्यस्त हुन पुगेको छ । करिब दुई सातादेखि आन्दोलनरत कर्मचारी कल्याण समाजको माग सम्बोधन गर्नु भन्दा पनि उपकुलपतिले समाजका नेतृत्वको विरोधी समुह र बाहिरी व्यक्तिहरुको सहयोग लिएर भाड्ने रणनीति लिएपछि आन्दोलन चर्किएको छ भने प्रतिष्ठान थप अस्तब्यस्त एवं संकटमा फस्दै गएको छ ।
समाजले तलबमान आयोगको सिफारिश खारेज गरी सरकारी कर्मचारी सरह तलब वृद्धिसँगै उपकुलपति डा.राजकुमार रौनियार नियुक्ति भएपछि एमआरआई मेशिन खरीद, मुटु तथा क्यान्सर सेन्टरको परामर्शदाता नियुक्ती र टेण्डर रद्द गरेको बिषयमा भ्रष्टचार गरेको भन्दै छानबिनको माग राखेको छ । भ्रष्टचार छानबिनको मागलाई प्रमुखताका साथ उठाएपछि उपकुलपति रौनियार समाजका नेतृत्वप्रति रुष्ट छन् । एमआरआई खरीद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल लगिसकेको छ । आफ्ना मागहरुका बिषयमा वार्ता गरेर पनि सम्बोधन गर्न व्यवस्थापन पक्ष गम्भीर नभएको भन्दै आन्दोलनरत कर्मचारीहरुले शुक्रबार बिहान प्रतिष्ठानका चारै पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तालाबन्दी भएको करिब १० मिनेट भित्र उपकुलपति रौनियारसँग नजिक रहेको तदर्थ समिति, वडा १८ का अध्यक्ष प्रविण राईको नेतृत्वमा पुगेको औषधी व्यावसायी, संघसंस्थाका युवाहरु पुगेर ताला तोडाएका थिए । प्रतिष्ठान वडा नं १८ मा पर्छ ।
हेम्मरसहित ताला तोड्न अध्यक्षसहित बाहिरबाट युवाहरु पुगेपछि धरानका डिएसपी रामेश्वर पौडेलको आदेशमा केटिएम सेक्युरिटी सर्भिसका गार्डले ताला तोडेका थिए । डिएसपी पौडेलले भने बाहिरका युवाहरुलाई भित्र पस्न नदिएको र ताला कर्मचारीकै अर्को टिमले तोडेको बताउँछन् । वडाअध्यक्षसँगै धरान एकता समाजका संरक्षक सन्दिप श्रेष्ठ, अध्यक्ष सन्नी श्रेष्ठ, आदिबासी जनजाति महासंघ नगरका अध्यक्ष सुवास हुक्पा चोङबाङ, पुर्वअध्यक्ष चित्र थापा मगर, रिकभरिङसम्बद्ध युवाहरु पनि थिए । आन्दोलनरत समाज एवं कर्मचारीहरुले उपकुलपति रौनियारले पैसा खुवाएर पालेको गुण्डाहरु प्रतिष्ठानमा हस्तक्षेप गर्न आएको आरोप लगाएको छ । यो घटनापछि आन्दोलन झनै कडा हुदै गएको छ भने गुण्डागर्दीमा उत्रिएकोले अब उपकुलपतिको राजिनामालाई आन्दोलनकारीले प्रमुख मागकोरुपमा अघि सारेको छ ।
शुक्रबार बीपी तनाबग्रस्त भइरहदा उपकुलपति रौनियार भने शुक्रबार विदामा बसेका थिए । जनप्रतिनिधिकै नेतृत्वमा आएको समुहले समन्वयकारी भुमिका खेलेर समस्या समाधान गराउन पहल गर्नुको साटो उपकुलपतिको पक्षमा उभिएर ताला तोडेको भन्दै आन्दोलनकारी थप आक्रोशित छन् । वडा अध्यक्षको नेतृत्वमा आएको टोली फर्केपछि समाजले पुनः चारै पदाधिकारीको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । ताला तोड्न भन्दै वडाअध्यक्षसहित उपकुलपति कार्यालयमा पुगेको समुहले महिला कर्मचारीहरुलाई अपशब्द एवं गालीगलौज र धम्कीसमेत दिएपछि अन्दोलनकारी थप भड्किन पुगेको थियो । महिला कर्मचारी, नर्सहरुले अध्यक्ष राईसहित ताला तोड्न पुगेको समुहलाई घेराउ गरेर आक्रोश पोख्ने क्रममा केही समय प्रतिष्ठान तनावग्रस्त हुन पुगेको थियो । ताला तोड्न पुगेको समुहले कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र गोले मुर्दावाद र ताला लगाउन पाइदैन भन्दै नारा लगाएपछि आन्दोलनकारी उनीहरुमाथि खनिए । ताला तोड्न अध्यक्षसँगै पुगेका तारा राई भन्ने व्यक्तिले पत्रकारहरुकै अघि धम्की दिदै भने,‘बीपी तिमीहरुको बाउको हो ? यो हाम्रो ठाउँको हो, जम्मै हाम्रो छोरीमान्छेहरु ल्याएर देखाइदिऊ ?’
अस्पतालको उपचार सेवामा कुनै असर नपारी शान्तिपुर्णरुपमा आन्दोलन रहेको बेला माग सम्बोधन गर्नुको साटो उपकुलपतिले बाहिरका गुण्डाहरु पठाएर धम्की दिएको नर्सिङकी आरती लामाले बताइन् । ‘हामी यो वा त्यो पक्षको होइनौं, हाम्रो अधिकारको लागि आन्दोलनमा छौं, तर जनप्रतिनिधि नै समन्वय गर्नुको साटो गुण्डागर्दी शैलीमा आउने ? हाम्रो समस्या नबुझी ताला तोड्न लगाउने ?’ उनले भनिन् । अर्की आन्दोलनर स्वास्थ्यकर्मी सृर्जना प्रधानका अनुसार जनप्रतिनिसँग आएको केही व्यक्तिले ‘आन्दोलन गर्ने हो भने काम छोडेर कतारमा झाडु लगाउन जाउ’ भनेर अपशब्द बोलेको बताइन् । कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङले तालाबन्दी र बिहान ८ देखि १२ बजेसम्मको धर्ना निरन्तर चलिरहने बताए । उनले भने,‘अब ताला फेरी पनि ताला तोडियो भने सबै काम छोडेर बाहिर आउछौं, सेवा पनि ठप्प हुुन्छ । त्यसको जिम्मेवारी भिसि र उसले परिचालन गरेको भिजिलान्ते गुण्डाहरुले लिनुपर्छ ।’ तालाबन्दी गरेको १० मिनेटभित्रै बाहिरका मान्छेहरु हेम्मर लिएर आइपुगेकोले उपकुलपतिले नै पैसा खुवाएर ‘स्टण्ड बाई’ राखेको पुण्टि हुने उनले दाबी गरे ।
मागको सम्बन्धमा उपकुलपति रौनियारले रजिष्ट्रारको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए । उक्त समितिले आन्दोलनकारीसँग वार्ता गरेर मागहरुको बिषयमा जानकारी गराएपनि त्यसमाथि छलफल गर्न वा सम्बोधन गर्न उपकुलपति रौनियार इच्छुक देखिएका छैनन् । समाजको विरोधी खेमा तदर्थ समितिलाई हातमा लिएर समाजको आन्दोलनप्रति उदासिन बनेको आरोप लाग्दै आएको छ । वार्ता समितिका संयोजक एवं रजिष्ट्रार तुलबहादुर श्रेष्ठ पनि आन्दोलन र मागप्रति पदाधिकारी चिन्तित हुन नसक्दा समस्या विकराल हुदै गएको स्वीकार गर्छन् । ‘हामी पदाधिकारी जति चिन्तित हुनु पर्ने हो, भएका छैनौं । बाहिर चिन्तित बनेका छन्, कोही माग पुरा गर भन्छन्, कोही पुरा नगर भन्छन्, यो अवस्थाप्रति मलाई दुःख छ,’रजिष्ट्रार श्रेष्ठले भने,‘बाहिरी हस्तक्षेप रोक्न सकेनौं भने बीपी संकटमा फस्छ ।’ वार्ता पछि लगिएको मस्यौदामा छलफल हुन नसकेको उनले बताए । उपकुलपति डा.रौनियार भने प्रतिष्ठानको विधि, प्रक्रियाले पुरा गर्न सकिने मागहरुलाई पुनः केलाउनुपर्ने भएकोले छलफल गर्न ढिलाई भएको बताउँछन् । बाहिरका व्यक्ति आन्दोलन दबाउन परिचालन गरेको आरोप प्रति उनले भने,‘वडा अध्यक्ष आफै आएको थियो रे, उहाँको वडा परेर हुनुपर्छ । म त विदामा छु, कसैसँग पनि सम्पर्कमा छैन ।’
..........................................................................

                                       कांग्रेसबाट वडाअध्यक्षको राजिनामा

बीपी प्रतिष्ठानको बिषयमा विवाद भएपछि वडा नं १८ का अध्यक्ष प्रविण राईले नेपाली कांग्रेसबाट राजिनामा दिएका छन् । कांग्रेस नेतृत्वमा भएको कर्मचारी आन्दोलनप्रति असन्तुष्ट रहेका अध्यक्षर राईले क्षेत्रीय सदस्य र क्रियासिल सदस्य दुवैबाट राजिनामा दिएका हुन् । अध्यक्ष राईका अनुसार उनले क्षेत्रीय र नगर सभापति दुवैलाई राजिनामा पठाएका छन् ।
बीपी प्रतिष्ठान आफ्नो वडामा भएकोले चासो राखेको र वार्ताबाट समस्या हल गर्न सुझाव दिदा दिदै पनि कांग्रेस नेताहरु नै तालाबन्दीमा गएको भन्दै उनले असन्तुष्टी पोखे । ‘आन्दोलनको नेतृत्व गर्ने हाम्रो नेता हो, वार्ताबाट समस्या हल गर्नुस्, ताला नलगाउनुस भनेको हुँ, जायज मागबारे त म पनि बोल्छुँ,’उनले भने,‘तर, गलत कुरामा कांग्रेस नेता भन्दैमा म साथ दिनसक्दिन ।’ उनले आफु उपकुलपतिको प्रभावमा परेर विरोधमा आएको आरोपमा सत्यता नभएको जिकिर गरे । कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङ कांग्रेस जिल्ला सचिव एवं प्रवक्ता थिए । उनले पनि राजिनामा दिएको बताएका छन् भने वरिष्ठ उपाध्क्ष उमेश थापा महाधिवेशन प्रतिनिधि हुन् ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे