बीपीमा बेथिती: गैरकानुनीरुपमा लाइफ केयर सञ्चालन, विरामीलाई महंगोमा औषधी खरीद गर्न बाध्य

धरान,भदौ २६ । अस्पताल परिसरभित्र सञ्चालनमा रहेको निजी औषधी पसलले ठाउँ खाली गर्न अटेर गर्दा स्वास्थ्य मन्त्रालयको निर्देशन वमोजिम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आफैले सुलभ मुल्यको औषधी बिक्री कक्ष सञ्चालन गर्न पाएको छैन ।
मन्त्रालयले देशभरका सरकारी अस्पतालहरुमा आफैले सुलभ मुल्यको औषधी पसल सञ्चालन गर्न निर्देशन दिदै निर्देशिकासमेत जारी गरिसकेको छ । तर, अस्पताल परिसरभित्र रहेको लाइफकेयर औषधी पसलले ठाउँ खाली गर्न अटेर गर्दा मन्त्रालयको निर्देशन प्रतिष्ठानमा पालना भएको छैन । निर्देशन पालना नहुदा सर्वसाधारण विरामीहरुले सस्तो एवं सुलभ मुल्यमा औषधी खरीद गर्न पाएका छैनन् । लाइफ केयरको टेण्डर अवधि २०७१ असारमा समाप्त भइसकेर पनि हालसम्म अवैधरुपमा नै प्रतिष्ठानमा सञ्चालन भइरहेको छ । प्रतिष्ठानले औषधी बिक्री कक्ष खाली गर्न पटक पटक पत्राचार गरेपनि लाइफ केयरका सञ्चालकहरुले अटेर गरिरहेको भन्दै पदाधिकारीहरु भने लाचारी प्रकट गर्छन् ।
टेण्डरको समय अवधि समाप्त भएर पनि ३ बर्षदेखि अवैधरुपमा प्रतिष्ठानमा पसल चलाएको भन्दै सोमबार धरानका औषधी व्यावसायीहरुले प्रतिष्ठानका पदाधिकारीहरुको ध्यानाकर्षण गराएको थियो । औषधी व्यावसायी संघ, इकाई समितिको नेतृत्वमा पदाधिकारी भेट्न पुगेका व्यावसायीहरुले अस्ताल परिसरभित्रको औषधी बिक्री कक्षको टेण्डर आह्वान गर्न या मन्त्रालयको निर्देशन वमोजिम जनतालाई आफै सर्वसुलभ तरिकाले औषधी बिक्री वितरणको व्यवस्था गर्न माग गरेका थिए । ‘लाइफ केयरको टेण्डरको समय ३ बर्षअघि नै सकिएको हो, तर अहिलेसम्म विना टेण्डर अवैधरुपमा पसल चलाइरहेको छ,’ संघका अध्यक्ष मचेन लिम्बूले भने, ‘मन्त्रालयले अस्पतालमा आफै औषधी पसल चलाउन भनिसकेकोछ, तर बीपीमा कार्यान्वनय भएको छैन । कि त औषधी बिक्री कक्षको टेण्डर खुलाउनु पर्यो, कि आफैले फार्मेसी चलाउनु पर्यो ।’
मिलेमतोविना गैरकानुनीरुपमा निजी औषधी पसलले अस्पतालमा कब्जा गरेर बस्न नसक्ने औषधी व्यावसायीहरुको आरोप छ । प्रतिष्ठानले अस्पताल खाली गराउन भन्दै पठाएको पत्र सञ्चालकले नबुझी फिर्ता पठाइदिने गरेको र प्रतिष्ठानले पनि कडाई गर्न नसकेको उनीहरु बताउँछन् । ‘टेण्डर म्याद सकेको ३ बर्ष पुगिसक्दा पनि खाली गराउन नसक्नु भनेको मिलेमतो नभई के हो त ? गैरकानुनीरुपमा बसेकोलाई हटाउनै सकिन भन्न मिल्छ ?’एक व्यावसायीले भने । प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियारले मन्त्रालयको निर्देशनवमोजिम अस्पताल आफैले फार्मेरी चलाउने सम्पुर्ण तयारी भइरहेको बताए । अस्पताल खाली गराउन लाइफकेयरलाई पटक पटक पत्राचार गरिसकेको भन्दै उनले भने,‘म त भर्खर आएको हुँ, पहिला के भयो थाह छैन । तर, अब अस्पताल आफैले फार्मेसी चलाउछ । ठाउँ खाली गराउन भनिसकेको छुँ ।’ मन्त्रालयको निर्देशिका वमोजिम आवश्यक औषधीको लिष्ट तयार गरेर खरीदको लागि टेण्डर गर्ने प्रक्रियामा रहेको उपकुलपति डा.रौनियारले खुलाए । साथै उनले फर्मासिष्टको पनि व्यवस्था भइसकेको बताए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे