सेयर बजारप्रति नागरिकहरुमा आकर्षण बढ्दै

धरान,भदौ २४ । पछिल्लो समय सेयर किनबेचमा सहयोग गर्ने ब्रोकर कम्पनीको शाखाहरु विस्तार भएसँगै सेयर बजार र लगानीप्रति सर्वसाधारणहरुको चासो तथा आकर्षण बढ्न थालेको छ । जलविद्युत कम्पनीहरुले नेपाली जनताबाट नै लगानी जुटाएर जलविद्युतको विकास गर्ने नीति अवलम्बन गरेकाले पनि सर्वसाधारणहरुमा सेयर र लगानीप्रति रुचि बढाएको हो । साथै, सेयरको अभिलेख विद्युतीय प्रविधि(डिम्याट)मा राख्न शुरु भएकोले पनि सर्वसाधारणहरुको सेयर लगानीप्रति अभिरुचि बढेको जानकारहरु बताउँछन् ।
शनिबार धरानमा दोर्दी खोला जलविद्युत कम्पनीले सेयरसम्बन्धी अन्र्तक्रियामा आयोजना गरेको थियो । सो अन्र्तक्रियामा विभिन्न क्षेत्रका ८० व्यक्तिहरुको सहभागिता रहेको थियो । यो सहभागिताले पनि सेयर बजार तथा लगानीप्रति सर्वसाधारणहरुको आर्कषण प्रष्ट्याएको आयोजकको भनाई छ । क्लिन इनर्जी विकास बैंक(सिइडिबि), हाइड्रो फण्डका सेयर लगानी सल्लाहकार भक्तबहादुर रसाइलीका अनुसार सर्वसाधारणहरु सेयर प्रति धेरै रुचि भएपनि सेयर बजारबारे जानकारी अभाव छ । ‘सेयर सम्बन्धी जानकारी र प्रमोटर सेयरको प्रर्वद्धन गर्ने उद्देश्यले कार्यक्रम गरेका थियौं, नेपालीहरुबाटै जलविद्युतमा लगानी जुटाएर देशको विकास गर्ने पनि लक्ष्य हो,’ रसाइलीले भने,‘लगानीबाट राम्रो रिटर्न हुने भएकोले पनि आम मानिसहरुमा सेयरप्रति धेरै नै रुचि छ, तर हामीलाई सेयर बजारबारे थाहै हुन्न भन्ने गुनासो पनि छ ।’ उनका अनुसार सिइडिबि हाइड्रो फण्ड क्लिन इनर्जी बैंकले नविनतम उर्जामा लगानी गर्ने उद्देश्यलले स्थापना गरेको हो । यो फण्डले विभिन्न जलविद्युत आयोजनाहरु बनाइसकेको छ । सोही फण्डअन्र्तगत हाल १२ मेघावाटको दोर्दी १ जलविद्युत आयोजना रहेको छ ।
दोर्दी कम्पनीका म्यानेजर श्याम खडकाका अनुसार प्रायः बजार मापक परिसूचक नेप्से बढेको बेला लगानीकर्ता उत्साहित भएर कारोबार गर्ने गरेका छन् भने बजार घट्दा लगानीकर्ता चुपचाप बस्ने गरेका छन् । अनलाइन प्रयोगकर्ता बढेको र सेयर कारोबारमा सहजता भएकोले पनि नयाँ लगानीकर्ताहरुमा वृद्धि भएको खड्काको भनाई छ । ‘युवा पुस्ता इन्टरनेटमा रमाउने भएकोले सेयरप्रति चासो बढेको हुनसक्छ,’उनले भने । मोफसलका धेरै सहरमा ब्रोकर कम्पनीले शाखा खोलिसकेकाले नयाँ लगानीकर्ता ती कार्यालयमा बुझ्न आउने र थोरै भए पनि लगानी गर्न तयार हुने गरेको उनले खुलाए ।
दोर्दीमा लगानी गर्न इच्छुक नागरिकले न्युनतम हजार कित्ता खरीद गर्नुपर्छ । प्रतिकित्ता १०० रुपैयाले एक लाख लगानी हुनआउछ । विगतमा राजधानीमा मात्र केन्द्रीत सेयर कारोबार पछिल्लो समय सेयर किनबेचमा सहयोग गर्ने ब्रेकर कम्पनीहरुले धरान, इटहरी, दमक, बिर्तामोड, धनगढी, नारायणघाट, बनेपा, भैरहवा, बागलुङ लगायतका देशका मुख्य शहरमा शाखा बिस्तार गरेका छन् । ती क्षेत्रका नागरिकहरुलाई सेयर किनबेचमा विगतमा जस्तो झञ्झट झेल्नु पर्दैन । सेयरको अभिलेख विद्युतीय प्रविधि (डिम्याट) मा राख्न थालिएपछि सेयर प्रमाणपत्र बोक्ने झन्झटको अन्त्य भएकाले बजार थप बिस्तार भएको जानकारहरु बताउँछन् । अन्र्तक्रियामा सेयर, स्टक एक्सचेञ्जलगायत बिषयमा सहभागीहरुलाई जानकारी गराउदै मेरोलगानी डटकमका प्रमेश्वर अधिकारीले हल्लाको भरमा सेयर खरीद नगर्न आग्रह गरेका थिए । ‘सेयर बेच्ने कम हुन्छ, किन्नेहरु धेरै । हल्लाको भरमा नकिन्नुस् । सेयर किन्दा सल्लाह दिनेले बेच्ने सल्लाह दिदैन,’उनले भने,‘३-४ ठाउँमा बुझ्नुस र एउटै कुरा आउदा मात्र किन्नुस्, तलमाथि कुरा भयो भने बुझ्नुस, केही गडबड छ ।’


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे