बीपी प्रतिष्ठानमा बेथिती:नागरिक समाज, पार्टी र पत्रकार पनि ध्रुवीयकरण

धरान,असोज । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो समय भइरहेको कर्मचारी आन्दोलन र भ्रष्टचार भएको भन्ने बिषयमा यहाँका बुद्धिजिवि, नागरिक समाज र राजनैतिक दलबीचमा तीब्र धु्रवीकरण देखा परेको छ ।
बीपी प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजको अगुवाईमा भ्रष्टचारविरुद्ध नागरिक दबाब समुह गठन भएको २ दिन नबित्दै अर्को नागरिकस्तरको समुह गठनको पहल शुरु भएको छ । नागरिक समाज, दल र बुद्धिजिवि विभाजित भएसँगै बीपी प्रतिष्ठानबारे सञ्चारमाध्यममा पनि अनेकता देखिन थालेको छ । कसैले उपकुलपति रौनियारको विरोधमा त कसैले कर्मचारी कल्याण समाज र आन्दोलनको विरोधमा समाचारहरु प्रकाशन, प्रसारण गरिरहेको छ । बीपी प्रतिष्ठान बचाउ भन्ने नारा दिएर धरान एकता समाजले मंगलबार सिद्धि नेवाः परिषदमा आयोजना गरेको वृहत अन्र्तक्रिया कार्यक्रमपछि शिक्षासेवी कमल पोख्रेललाई संयोजक तोकेर नागरिक समुह गठनको पहल शुरु भएको हो । बिहिबार पुनः भेला गरेर पोख्रेल संयोजकको समितिलाई पुर्णता दिइने आयोजकले जनाएको छ ।
दुवै समुहको भेलामा वक्ताहरुले भ्रष्टचारबाट प्रतिष्ठानलाई मुक्त गरिनुपर्ने धारणा राखेपनि उनीहरुको तारो भने अलग अलग व्यक्तिहरु थिए । आइतबारको भेलामा अधिकांश वक्ताहरुले वर्तमान उपकुलपति डा.राजकुमार रौनियारले भ्रष्टचार एवं आर्थिक अनियमितता गरेको र आन्दोलित कर्मचारीको जायज माग पुरा गर्नुपर्ने धारणा राखेका थिए । मंगलबारको भेलामा भने अधिकांश वक्ताहरुले पुर्वउपकुलपति डा.बीपी दासको पालादेखि भ्रष्टचारले जरो गाडेको र त्यतिबेला कमिशनको कारण कर्मचारी कल्याण समाजका नेतृत्वले वर्तमान उपकुलपति डा.रौनियारलाई काम गर्न नदिएको आरोप लगाए । वक्ताहरुले समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङ र वरिष्ठ उपाध्यक्ष उमेश थापाको नाम लिदै कांग्रेस पार्टीको आडमा प्रतिष्ठानलाई धरासायी बनाइरहेको भन्दै उनीहरुलाई कारबाही गर्नुपर्ने धारणा पनि राखेका थिए । यस्तो धारणा राख्नेहरुमा अधिकांश कांग्रेसकै नेताहरु थिए । कर्मचारी कल्याण समाजका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष दुवै कांग्रेसका नेता हुन् । प्रतिष्ठानको तलब खाएर राजनीति गरेको भन्दै चौतर्फी आवाज उठेपछि कांग्रेसको जिल्ला सचिव एवं प्रवक्ताबाट तामाङले राजिनामा दिएको बताएका छन् । आइतबारको भेलामा माओवादी केन्द्रको प्रतिनिधित्व थिएन भने मंगलबारको भेलामा एमाले प्रतिनिधि थिएन ।
धरान स्वतन्त्र समाजका महासचिव एवं कांग्रेस नेता अजय राईले प्रतिष्ठानमा भ्रष्टचार नभएको ठाउँ नै नभएको भन्दै उपकुलपति फेरिदा केही कर्मचारीको खाइपाई आएको कमिशन बन्द भएपछि कर्मचारी आन्दोलन प्रारम्भ भएको दाबी गरे । कर्मचारीको गैरजिम्मेवारीपन र चरम राजनीतिको कारणले प्रतिष्ठान धरासायी हुदै गएको उनको भनाई थियो । ‘बीपीका २ जना गैरजिम्मेवार कर्मचारीले आफ्नो स्वार्थको लागि बीपी ध्वस्त बनाउदैछ, त्यहाँ अरु पार्टीका पनि कर्मचारी, डाक्टर छन् तर कांग्रेसको नेता, कार्यकर्ता अनुशासनहिनता र स्वेच्छचारीता देखियो,’उनले भने । माओवादी केन्द्रका जिल्ला नेता अइन्द्रबिक्रम बेघाले धरानको प्रतिष्ठान बीपी प्रतिष्ठान भएकोले जोगाउन सबैले पहल गर्नुपर्ने धारणा राखे । व्यक्ति र पार्टीको स्वार्थ नहेरी समग्र धरानको स्वार्थको लागि काम गर्नुपर्ने भनाई राख्दै उनले भने,‘भिसि, रेक्टर, डाइरेक्टर होस वा कर्मचारीको आन्दोलन, यदि स्वार्थले प्रेरित हो भने रोकिनुपर्छ । अहिलेको आन्दोलनलाई हामीले नियालीरहेका छांै, बीपीको हितमा छ कि छैन ? गलत दिसामा गयो भने धराने जनता चुप लागेर बस्नेछैन ।’
शिक्षासेवी कमल पोख्रेलले पैसा बुझाएर उपकुलपति हुने र कर्मचारीले राजनीति गर्ने थलो बनाएकोले बीपीको अवस्था बिग्रदै गएको बताए । साथै उनले प्रतिष्ठानलाई सबैले कमाई खाने भाडो बनाएको भन्दै कर्मचारी, पदाधिकारी सच्चिन आवश्यक भएको विचार राखे । ‘आन्दोलनको नेता कमिशन खान्छन् । पहिलेका भिसिबाट कर्मचारीको इन्सुरेन्सको ठेक्का पाएको एमाले नेताले अहिलेको भिसिबाट ठेक्का नपाउदा आन्दोलनलाई सघाउन जान्छन् । सबैले बीपीलाई कमाई खाने भाडो बनाए, यो रोकिनुपर्छ,’पोख्रेलले भने । अर्का कांग्रेस नेता मदन ढकालले कमिशन खान पाउने र नपाउनेबीचको द्धन्दले बीपी प्रतिष्ठानलाई जर्जर बनाएको भन्दै भ्रष्टचारको अखडा हुनबाट जोगाउनुपर्ने बताए । ‘स्वास्थ्य संस्थामा करोडौंको खेल हुन्छ, त्यसमा हाम्रो पार्टीको नेताहरु सामेल हुन्छन् र पार्टीले त्यस्तालाई संरक्षण गर्छ । यो लाजमर्दो कुरो हो,’ढकालले भने । बुद्धिजिवि आनन्द आचार्यले नागरिक समाज कमजोर हुदाको परिणाम बीपी प्रतिष्ठानले झेलिरहेको धारणा राखे । मोती सँस्मरण समितिका अध्यक्ष गोविन्द तिम्सिनाले बीपी प्रतिष्ठान राजनीतिक थलो बनेकोमा चिन्ता व्यक्त गरे ।
आयोजक धरान एकता समाजका संरक्षक सन्दिप श्रेष्ठले धरानको गहनाकोरुपमा रहेको पवित्र स्वास्थ्य संस्थामा प्रतिष्ठानकै कर्मचारीबाट फोहोरी राजनीति भइरहेको र त्यसले प्रतिष्ठानको भविष्यलाई नै अन्यौलमा पार्न खोजेकोले धराने जनता जगाउन पहल गरिएको बताए । ‘बीपीमा फोहोरी राजनीति हुदा समस्याग्रस्त भइरहेको छ । बीपीको तलब खाने अनि राजनीति गरेर बीपीलाई नै धरासायी बनाउने ? त्यस्तालाई कारबाही गराआंै र धरानको गहना जोगाउन भन्ने अभिप्राय मात्र हो,’उनले भने । अन्र्तक्रियामा आदिबासी जनजाति महासंघ नगर समन्वय परिषदका अध्यक्ष सुवास होक्पा चोङवाङ, राप्रपा नेता जुद्ध लोहनी, औषधी व्यवासायी संघ धरानका अध्यक्ष मचेन लिम्बू, समाजसेवी पिंगला न्यौपाने, माओवादी केन्द्रका अध्यक्ष रमेश राईलगायतले पनि धारणा राखेका थिए ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे