बीपी प्रतिष्ठानमा बेथिती:कांग्रेसको भातृसंगठन झैं कर्मचारीमा गुट

धरान,असोज ५ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टारको संयोजकत्वमा गठित वार्ता समिति र आन्दोलनरत कर्मचारी कल्याण समाजबीच बुधबार बिहान वार्ताको तयारी भइरहदा तदर्थ समितिको नाममा कर्मचारीहरुको अर्को समुह भने आफ्ना १३ बुँदे मागहरुको बिषयमा ध्यानाकर्षण गराउन भन्दै उपकुलपति कार्यालयमा प्रवेश गर्दै थिए । बीपीमा कार्यरत कर्मचारीहरु दुई गुटमा विभाजित भएको बुझ्न यही दृष्य काफी थियो ।
एउटै संस्थामा कार्यरत कर्मचारीहरुको माग पनि समान छन् । तर, उनीहरुबीचमा नै एकता छैन । कर्मचारी कल्याण समाज २१ बुँदे माग अघि सारेर आन्दोलनमा छ । तदर्थ समितिले पनि १३ बुँदे माग अघि सारेका छ, तर आन्दोलनमा भने छैन । प्रतिष्ठानमा कार्यरत कर्मचारी र व्यवस्थापन एवं पदाधिकारीलाई प्रभावमा राखिरहन समाज र तदर्थ समितिको नेतृत्वमा सधै हानाथाप हुने गरेको जानकारहरु बताउछन् । पुर्व उपकुपतिको नजिक समाज थियो भने अहिलेका उपकुलपति नजिक तदर्थ समितिका नेतृत्व छ । एकले अर्काेलाई सांगठनिकरुपमा कमजोर बनाउनमा पनि दुवै नेतृत्व एकअर्काको विपरीत ध्रुवमा उभिन्छ । संयोग के छ भने समाज र तदर्थ समिति दुवैको नेतृत्वमा नेपाली कांग्रेसआवद्ध कर्मचारी छन् । कांग्रेस पार्टीमा भएको गुटबन्दीको प्रभाव प्रतिष्ठानका कर्मचारीको हकहित गर्ने संगठनमा पनि पर्दा यस्तो अवस्था सृर्जना भएको जानकारहरुको बुझाई छ । ‘कर्मचारीको हकहितको निम्ति हो भने त एउटै संगठनले भैहाल्छ, भातृसंगठनमा जस्तो दुई गुट बनाउनै पर्दैन,’ धरानका पुर्वमेयर एवं बीपी प्रतिष्ठानबारे हालै गठित नागरिक दबाब समुहका सदस्य मनोज मेन्याङ्बो भन्छन्,‘प्रजातन्त्रको नाममा छाडातन्त्र जस्तै भएको छ ।’
प्रतिष्ठानमा अघिल्लो उपकुलपतिको पालादेखि नै कर्मचारीमा दुई गुट देखा परेको हो । अधिवेशनबाट सुजेन्द्र गोले तामाङको अध्यक्षतामा कर्मचारी कल्याण समाजको नेतृत्व चयन भएको थियो । नेतृत्व चयन भएको एक बर्ष पछि नै अधिवेशनमा अध्यक्ष पदमा पराजित राजन कोइराला नेतृत्वमा तदर्थ समिति गठन भयो । तलब वृद्धिको माग राखेर कर्मचारीको अलग अलग आन्दोलनले प्रतिष्ठान अस्तब्यस्त बन्यो । तदर्थ समितिका संयोजक कोइराला पार्टी सभापति शेरबहादुर देउवा पक्षधर हुन् । विगतमा कांग्रेस नेता शेखर कोइराला निकट मानिएका समाजका अध्यक्ष तामाङ भने कांग्रेसका जिल्ला सचिव एवं प्रवक्तासमेत थिए । अहिले उनले पद र साधारण सदस्यसमेत नरहने गरी राजिनामा दिइसकेका छन् । समाजका वरिष्ठ उपाध्यक्ष उमेश थापा पनि कांग्रेसी नै हुन् । उनी महाधिवेशन प्रतिनिधि छन् । नियमावलीमा कर्मचारीले राजनीति गर्न नपाउने व्यवस्था गरेको भन्दै पछिल्लो समय दुवै जनामाथि प्रतिष्ठानको तलब खाएर राजनीति गरेको भन्दै आलोचना हुदै आएको छ ।
प्रतिष्ठानमा अन्य दलप्रति आस्थावान कर्मचारी एवं चिकित्सकहरु पनि छन् । तर, तारो भने कांग्रेसका तामाङ र थापा बनेका छन् । यसरी आलोचना गर्नेहरु पनि कांग्रेसभित्रैका फरक गुटका नेताहरु हुन् । धरान एकता समाजको नाममा अधिकांश कांग्रेसी नेता, कार्यकर्ताहरुले त बीपीमा अस्थिरता निम्त्याएको भन्दै प्रतिष्ठानका पदाधिकारी र अख्तियारमा समेत दुवै जनालाई कारबाही गर्नुपर्ने माग राख्दै निवेदन नै दिएको थियो । मंगलबार भएको अन्र्तक्रियामा कांग्रेस नेताहरुले प्रतिष्ठानमा कांग्रेसको नेता, कार्यकर्ता जस्तो स्वेच्छचारी, अनुशासनहिनता अरु नभएको अभिव्यक्ति दिएका थिए । ‘कर्मचारी आन्दोलन जुनसुकै संस्थामा हुन्छ, तर बीपीमा जस्तो अचम्मको अरुतिर देखिदैन । यहाँ आन्दोलन गर्ने पनि कांग्रेसी, त्यसको विरोध गर्ने पनि कांग्रेसी । कारबाही गर भन्ने पनि कांग्रेसी, आन्दोलन ठिक हो भन्ने पनि कांग्रेसी,’नाम उल्लेख नगर्ने सर्तमा एक राजनीतिकर्मीले भने ।
कर्मचारीहरु दुई गुटमा बाँडिदा पदाधिकारीलाई पनि चलखेल गर्ने प्रशस्त ठाँउ बनेको छ । करिब ६ महिनअघि नयाँ उपकुलपति नियुक्ती हुनलाग्दा कर्मचारीबीचको गुटबन्दी छताछुल्ल बनेको थियो । तदर्थ समितिका संयोजक वर्तमान उपकुलपति डा.राजकुमार रौनियारको पक्षमा लविङ गरेका थिए भने समाजका अध्यक्ष तामाङले प्रतिष्ठानकै सर्जन डा.चन्द्रशेखर अग्रवाललाई भि.सि.बनाउन लविङ गरेका थिए । अहिले तदर्थ समितिका संयोजक कोइराला उपकुलपति डा.रौनियारको भित्रिया मानिन्छन् । प्रतिष्ठानमा क्लर्क पदमा रहेका कोइरालालाई उपकुलपति रौनियारले नियमविपरीत प्रतिष्ठानको खर्चमा हवाई टिकट उपलब्ध गराएर आफ्नो दुत बनाई राजधानी पठाउने गरेको आरोपसमेत लागिसकेको छ । उपकुलपति रौनियार पनि कांग्रेस कोटाबाट नै नियुक्ती भएर आएका हुन् ।
बीपीमा राजनीति गरेको आरोप लागेका समाजका अध्यक्ष तामाङ भने गत स्थानीय तहको निर्वाचनमा आफुले प्रमुख पदमा दाबेदारी प्रस्तुत गरेपछि मात्र सुनियोजितरुपमा आफुलाई विवादमा तान्ने प्रयास गरेको बताए । भ्रष्टचारको विरोध गरेकोले अहिले उपकुलपति रौनियारकै डिजाइनमा समाजको आन्दोलनविरुद्ध षडयन्त्र भइरहेको उनको दाबी छ । ‘अब प्रदेश र केन्द्रको पनि चुनाव आउदैछ, त्यसैले फरक गुटका कांग्रेसीहरुले नै मेरो विरुद्ध कुरा उठाएको हो । अहिले त पार्टीको सबै तहबाट राजिनामा दिइसकेको छुँ, र कर्मचारीकोरुपमा मात्र आन्दोलनमा छुँ,’तामाङ भन्छन्,‘अहिलेका भिसिले खुल्लमखुल्ला भ्रष्टचार गरेको छ, र सबैलाई भागवण्डा पनि लागेको छ । त्यसैले, हाम्रो आन्दोलन असफल बनाउन भिसि र भाग पाएकाहरु सबै लागेका छन् ।’ समाजले एमआरआई मेशिन खरीद, मुटु र क्यान्सर सेन्टरको परामर्शदाता छनौट र बजेट रकमान्तरमा भ्रष्टचार भएको दाबी गर्दै आइरहेको छ ।
तदर्थ समितिका संयोजक कोइराला भने आफुहरु भिसिबाट परिचालित नभएको दाबी गर्दै समाजका नेतृत्वको गलत कार्यशैलीको कारण तदर्थ समिति बनेको बताउँछन् । विगतमा तत्कालीन उपकुलपति दासको आडमा आफुहरुलाई कारबाही गरेको र गुटबन्दी समाजकै नेतृत्वले निम्त्याएको कोइराला जिकिर गर्छन् । ‘नयाँ भिसि आएको ५, ६ महिना मात्र भयो, हामी त पहिल्यैदेखि थियौं । भिसिले परिचालन गरेको भनेर दोष लगाउनुको अर्थ छैन । कल्याण समाजको नेतृत्वमा स्वार्थ लुकेको छ,’कोइरालाले भने ।

                   कर्मचारीलाई कारबाही गर्ने कस्ले ?

बीपी प्रतिष्ठानको नियमावली विपरीत राजीतिक गतिविधिमा संलग्न भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सर्तकता केन्द्रले सम्बन्धित कर्मचारीलाई कारबाही गर्न प्रतिष्ठानलाई पत्रचार गरेको थियो । तर, प्रतिष्ठानले भने स्पष्टीकरण लिनुबाहेक थप कुनै कारबाही गर्न सकेन । कारबाही गर्न नसक्नुको प्रमुख कारणमा राजनीतिक दबाब नै मुख्य थियो । प्रतिष्ठान स्रोतका अनुसार अख्तियार र सर्तकता केन्द्रले कर्मचारी कल्याण समाजका अध्यक्ष तामाङ र वरिष्ठ उपाध्यक्ष थापाको नाम उल्लेख गरेर नै कारबाहीको निर्देशन दिएको थियो । राजनीतिक दबाबको कारण कारबाही हुन नसकेको स्रोतको दाबी छ । ‘पदाधिकारीले चाहेको भए कारबाही हुनसक्थ्यो, तर कसैले आँटै गरेनन्,’स्रोतले भन्यो,‘भिसि पनि कांग्रेस नै भएकोले कारबाही गर्ने कुरै आउदैन ।’
प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठसँग बुझ्दा नियमानुसार कारबाही गर्न पत्र आएको स्वीकार गर्दै स्पष्टीकरण सोधेर जवाफ पठाएको बताए । कारबाहीको लागि आफु एक्लैले नभई कार्यकारिणी समितिबाट मात्र निर्णय गर्नुपर्ने उनले बताए । ‘म एक्लैले कारबाही गरेर हुदैन, कार्यकारिणीको निर्णय हुनुपर्छ, यसको लागि उपकुलपतिले नै पहल गर्नुपर्छ,’रजिष्टार श्रेष्ठले भने,‘सम्बन्धित कर्मचारीलाई राजनीति गर्ने कि कर्मचारी भएर बस्ने निर्णय गर्नोस् भनेर निर्देशन दिइसकेका छौं, स्पष्टीकरण सोधेर त्यसको जवाफ सर्तकता केन्द्र र अख्तियारमा पनि पठाइसकेका छौं ।’ एउटै पार्टीका मान्छे कोही कारबाही गर भन्दै आउने र कोही नगर्नु भन्दै आउने गरेको पनि उनले खुलाए ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे