बीपीमा बेथिती:छापा मारेर अख्तियार मौन, तर, अख्तियार भन्छ,‘कुनै फाइल बन्द भएको छैन’

धरान,असोज ४ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितीबारे आइतबार धरानमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बुद्धिजिवी एवं सहप्राध्यापक डा.राजेन्द्र शर्माले कडा टिप्पणी गरे,‘बीपीको भ्रष्टचार, अनियमिताबारे अख्तियारमा कुरा नपुगेको होइन, तर त्यहाँ पनि सेटिङ छ । अब मन्त्रालय र अख्तियारमा हुने सेटिङ भत्काउनुपर्छ ।’
आर्थिक अनियमितता एवं भ्रष्टचारबारे अनुसन्धान गर्न गठित संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति शर्माको कडा टिप्पणी सतहीरुपमा आएको भने होइन । दक्षिण एसियाकै नमुना स्वास्थ्य संस्था मानिएको प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्तिदेखि भौतिक संरचना निर्माण, प्रवेश परीक्षा, टेण्डरलगायत विभिन्न बिषयमा आर्थिक चलखेल एवं भ्रष्टचार भएको आरोपमा विवादमा पर्ने गरेको छ । यी विवादबारे अख्तियारमा उजुरी पनि पर्छ । अख्तियारले सम्बन्धित बिषयको फाइल अनुसन्धान गर्ने भन्दै नियन्त्रणमा लैजान्छ । तर, अहिलेसम्म ती अनुसन्धानको दायरामा आएका बिषयहरुमा प्रतिष्ठानले सफाइ पायो वा दोषी देखियो, अन्यौल छ । बषौं बितेपनि प्रतिष्ठानको उजुरीप्रति अख्तियारले अनुसन्धानलाई निष्कर्षमा पुर्याउन सकेको छैन । अख्तियारमा पनि सेटिङमा प्रतिष्ठनको फाइल बन्द गरिएको आशंका भइरहदा सार्वजनिक कार्यक्रममा डा.शर्माले आइतबार यस्तो टिप्पणी गरेका थिए ।
प्रतिष्ठानमा करिब ६ महिनाअघि नयाँ उपकुलपति डा.राजकुमार रौनियार नियुक्ती भएर आएका छन् । उनीसँगै पुर्व उपकुलपति डा.बीपी दास पनि उपकुलपति दौडमा थिए । तर, रौनियारले शक्ति केन्द्रमा मोटो रकम बुझाएर नियुक्ती पाएको सर्वत्र चर्चा छ । उनी उपकुलपति नियुक्ती भएलगत्तै एमआरआई मेशिन खरीद प्रकरणमा विवादमा मुछिए । कम्पनीले ९ करोड मुल्य तोकेको मेशिनलाई १८ करोडमा खरीद गर्न लागेको उनीमाथि आरोप छ । त्यसो त पुर्वउपकुलपति दासको पालामा १२ करोडमा खरीद प्रक्रिया अघि बढाउदा रौनियारले नै १.५ तेस्लाको सोही मेशिनलाई रिजेक्ट गरेका थिए । करिब २ महिनाअघि अख्तियारले फाइल लगेपनि एमआरआई प्रकरण टुंगोमा पुगेको छैन । अख्तियारले मुटु र क्यान्सर सेन्टरको भवन परामर्शदाता नियुक्ती र टेण्डर रद्द गरेको बिषयमा पनि अनुसन्धान गरेको भनिएको छ, तर यसबारेमा यथार्थ बाहिर आउन सकेको छैन ।
नयाँ उपकुलपति डा.रौनियार मात्र भ्रष्टचार वा अनियमितता प्रकरणमा तानिएका होइनन् । यसअघिका उपकुलपति डा.दास तथा पदाधिकारीहरु पटक पटक भ्रष्टचार र अनियमितता प्रकरणमा तानिएका थिए । अख्तियारले यसअघि विना टेण्डर सञ्चालन गर्न दिएको किड जि मन्टेश्वरी, सरसफाई र सेक्युरिटी टेण्डर, एबिबिएस र बिडिएस प्रवेश परीक्षामा अनियमितता भएको भन्दै अनुसन्धानको लागि फाइल नियन्त्रण लिएको थियो । अझ २०७१ चैत २० मा अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयबाट आएको टोलीले प्रतिष्ठानको शिक्षा, लेखा, सामान्य प्रशासन, कर्मचारी नियुक्ती, खरीद शाखालगायतबाट ठुलो मात्रामा फाइल नियन्त्रणमा लिएको थियो । आर्थिक बर्ष २०७०/०७१ र २०७१/०७२ मा निर्माण भएको गेस्टहाउस, होस्टलको टेण्डर, फर्निचर खरीद, ल्याब सामग्री, केमिकल खरीदलगाायतमा अनियमितताको उजुरी परेको तत्कालीन अख्तियार क्षेत्रीय प्रमुख डुल्लुराज बस्नेतले बताएका थिए । तर, ३ बर्ष बितिसक्दा पनि ती बिषयको अनुसन्धानले पुर्णता नपाउदा अख्तियारले पनि सेटिङमा फाइल बन्द गरेको आरोप लागेको हो । ‘अख्तियारले बीपीबाट जहिल्यै फाइल नियन्त्रणमा लगेको भन्ने सुन्छौं, तर कारबाही भएको वा अनुसन्धान निष्कर्षमा पुगेको जानकारी पाएका छैनौं, कतै सेटिङ त होइन भन्ने सबैमा परेको हो,’भ्रष्टचारविरुद्ध नागरिक दबाब समुहका संयोजक डा.शर्माले भन्छन्,‘अब हामी अहिलेको मात्र होइन, १०–१५ बर्षअघिदेखिका वदनियतपुर्ण ढंगले बीपीलाई क्षति पुर्याउने सबैको प्रतिवेदन तयार गछौं, र सुचना बाहिर निकाल्छौ । अख्तियार, मन्त्रालय र बीपीका सिनेटरहरुसम्म पुग्छौं ।’
प्रतिष्ठानमा भएको विभिन्न भ्रष्टचार प्रकरणबारे छानबिन गरेर कारबाही गर्नुपर्ने मागसमेत राखेर प्रतिष्ठानको कर्मचारी कल्याण समाज एक सातादेखि आन्दोलनमा छ । समाजका अध्यक्ष सुजेन्द्र गोले तामाङ पनि अख्तियारले फाइलहरु लगेर छानबिन थालेपछि बषौंसम्म निष्कर्षमा पुग्न नसक्दा धेरै शंका उब्जिएको बताउँछन् । ‘अख्तियारले अनुसन्धान शुरु गरेपछि कि त दोषी भए कारबाही हुनुपर्छ, कि गल्ती छैन भनेर सफाई दिनुपर्छ, तर बीपीको हकमा त्यस्तो भएको छैन, अनुसन्धान के भयो, कहाँ पुग्यो सबै अन्यौल छ,’तामाङ भन्छन् । कतिपय उजुरी दुःख दिने नियतले भएपनि कतिपयमा पदाधिकारीले जसलाई ठेक्का दिन चाहेको त्यसैलाई सहज हुने गरी मापदण्ड बनाएर टेण्डर आह्वान गर्ने र मिलेमतोमा अरुलाई ठेक्का नपर्ने गरि कार्टेलिङ गरिन्छ । प्रतिष्ठानमा पनि यसबिषयमा धेरै उजुरी छ, तर अनुसन्धान कहिल्यै टुंगोमा पुग्दैन । नागरिक दबाब समुहका सदस्य सचिव किसोरकुमार कार्की भन्छन्,‘हामीलाई पनि के लागेको छ भने अख्तियारले फाइल लान्छ, तर टुंगोमा पुग्दैन । हाम्रो आगामी बैठकमा अख्तियारको बिषयमा पनि एजेण्डा बन्नेछ । अनुसन्धान के भयो ? सरोकारवालाहरुलाई जानकारीमा आउनुपर्छ ।’
अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रमुख कालीप्रसाद पराजुली भने आफु भर्खर तीन साताअघि मात्र सुरुवा भई आएको भन्दै बीपीको अनुसन्धान ढिलाई भएको वा टुंगोमा पुग्न नसकेको बिषयमा अनभिज्ञता प्रकट गरे । सेटिङमा फाइल बन्द गरिएको आरोपलाई अस्वीकार गर्दै उनले भने,‘फाइल बन्द भएको छैन, केन्द्रीय कार्यालय टंगालबाट नै अनुसन्धान भइरहेको छ । पुरानो केसहरु हो, तरपनि विस्तृतमा अनुसन्धान भइरहेको छ, कुनै फाइल बन्द छैन ।’





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे