धरानमा आस्था राउतको बेजोड प्रस्तुती

धरान,असोज ७ । खोइ त मलाई झुम्के बुलकी..,चौबन्दीमा पटुकी बाध्या छैन भन्दैमा..भन्दै आम युवतीहरुको पीडा गीतमार्फत पोख्ने गायिका आस्था राउतको फ्यानहरु धरानमा नभएका होइनन् । उनका गीत गुन्गुनाउने मात्र होइन, स्टेजमा पर्फम गर्ने स्थानीय कलाकारहरु पनि थुप्रै छन् ।
नेपालका गायक, गायिकाहरु सकभर धरानमा कन्सर्ट वा सांगीतिक कार्यक्रममा आउन छुटाउदैनन् । गीत,संगीत भनेपछि धरानेहरु हुरुक्कै हुन्छन् । युवाहरुमाझ लोकप्रिय गायिका राउत धरानेहरुमाझ आफ्नो प्रस्तुती दिन लालयित थिइन् । उनी शनिबार साँझ होटल इजी राइडरमा आयोजित दशैं शुभकामना साँझमा पहिलो पटक स्टेजमा उत्रिइन् । उनले अपेक्षा गरेजस्तो दर्शक थिएन । त्यो गुनासो पनि पोखिन्, तर प्रस्तुतीमा भने दर्शक संख्याको कुनै प्रभाव देखाइनन् । ‘मेरो धरानमा पहिलो पटक हो, तपाईहरु जति हुनुहुन्छ, म त गाइदिने हो,’प्रस्तुती शुरु गर्नुअघि आस्थाले भनिन् ।
को छ यहाँ ....बोलको नयाँ गीतबाट उनले गाउन शुरु गरिन् । त्यसपछि खोइ त मलाई झुम्के बुलकी.., दशैं आयो..,चौबन्दिमा पटुकी बाध्या छैन भन्दैमा.., नरोउ माया सम्झेर मलाई.., सालको पात टपरी गाँसेर..जस्ता चर्चित गीतहरु गाइदिइन् । उनको बेजोड प्रस्तुतीलाई धराने युवाहरुले पनि औधी साथ दिए । उनका अधिकांश गीतहरु लोकशैलीलाई युवापुस्तालाई रुच्ने गरी फ्युजन गरिएको हुन्छ । जसलाई युवाहरुले औधी रुचाएका छन् । गायिका राउतअघि धरानको ब्याण्ड पल एण्ड फ्रेन्डस्ले स्टेज तताएको थियो । ब्याण्डले यो दिल मेरो..बाट आफ्नो प्रस्तुती शुरु गरेर चाहेको तिमीलाई..,यो मन त मेरो नेपाली हो.., गुरासै फुल्यो.., गुरासको फेद मुनि..लगायत थुप्रै कभर गीतहरु गाएको थियो ।
इजी राइडर बिजनेश ग्रुपले दशैंको अवसरमा आयोजित ६ दिने सांगीतिक कार्यक्रमको पहिलो दिन आस्था राउत र स्थानीय ब्याण्ड पल एण्ड फ्रेन्ड्सलाई प्रस्तुत गराएको हो । धरान १५ स्थित होटल इजी राइडरमा असोज १२ गतेसम्म हुने शुभकामना साँझमा आइतबार गायक सविन राई र तक्मे बुढा(विल्सनबिक्रम राई), सोमबार इन्दिरा जोशी, मंगलबार सुगम पोखरेल, बुधबार अभिषेक गुरुङ एण्ड जिंजर फिट ब्याण्ड(भारत) र अन्तिम दिन बिहिबार गायक कमल खत्री, नायिक सुष्मा कार्की र पल शाह बिशेष आकर्षण रहने आयोजकले जनाएको छ । साथै, हरेक साँझमा स्थानीय ब्याण्डहरुको पनि प्रस्तुती हुनेछ ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे