‘हाउस अफ होप’को लाइभ

धरान,भदौ ३१ । ब्याण्डको नाम ‘हाउस अफ होप’ । गीत, संगीत र लाइभ कन्सर्टप्रति असाध्यै रुचि भएका धरानेहरु पनि यो ब्याण्डबारे त्यति जानकार थिएनन् । रोयल इस्टर्न इन्फिल्डर्स ले गीत,संगीतको माध्यमबाट पर्यटन प्रर्वद्धन र रोड सेफ्टीको सन्देश फैलाउन लेडिज ब्याड ल्याउने भनेपछि धराने युवाहरुमा यो ब्याण्डप्रति चासो बढेको थियो ।
शुक्रबार साँझ धरान १५ स्थित होटल इजी राइडरमा उद्घोषकले ब्याण्डलाई स्टेजमा आमन्त्रण गर्यो । आकाशे निलो टिसर्ट लगाएकी टिन एजर्सहरु स्टेजमा झुल्किए । हलका स्रोताहरु अचम्मित बने । भर्खर १५, १६ बर्षमा पाइला टेक्दै गरेका जस्ता देखिने ब्याण्डका सदस्यहरुले जब आफ्नो प्रस्तुती दिन थाल्यो, तब हलमा ताली बज्न थाल्यो । लेडिज ब्याण्ड हाउस अफ होप उदाएको धेरै भएको छैन । अहिलेसम्म ब्याण्डले आफ्नो ओरजिनल गीत रेडर्क गरेर सार्वजनिक गरेको पनि छैन । अहिलेसम्म ब्याण्डले कभर गीत मात्र गाएको छ । तर, यो ब्याण्डको चर्चा विस्तारै फैलिदै गइरहेको छ ।
शुक्रबार धरानमा पनि ब्याण्डले आधा दर्जन कभर सङ्ग(गीत) प्रस्तुत गर्यो । सबै गीत दमदार प्रस्तुती थियो । १९७४ एडि ब्याण्डको ‘यो मन त मेरो नेपाली हो.. ’ बोलको चर्चित गीतबाट ब्याण्डले प्रस्तुती थाल्यो । त्यसपछि, एकान्तमा.., झल्काई देऊ झल्काई देऊ.., रक एन रोल.., वेक..र  गुरासै फुल्यो..बोलको गीत प्रस्तुत गरेको थियो । कभर गीत नै भएपनि स्रोताहरुको माग भएपछि लेडिज ब्याण्डले गुरासै फुल्यो..दोहोर्याएर गाउनु पर्यो ।
आयोजक संस्थाका सदस्य एवं लाईभ कन्सर्टका संयोजक सञ्जिव राईका अनुसार गीत,संगीतको माध्यमबाट आन्तकिर पर्यटन प्रर्वद्धन र ट्राफिक नियम पालना गरौं भन्ने सन्देश फैलाउन कार्यक्रम आयोजना गरिएको हो । साथै, उदयीमान कलाकारहरुको ब्याण्डलाई पनि आफ्नो प्रतिभा देखाउने अवसर भएको पनि उनले खुलाए । ‘उदयीमान कलाकारहरुले प्लेटफर्म पनि पाए । कन्सर्टको माध्यमबाट आन्तरिक पर्यटन प्रर्वद्धन र रोडमा जथाभावी बाइक, गाडी नचलाऊ भनेर रोड सेफ्टीको पनि सन्देश दिएका छौं,’ उनले भने,‘पैसा बच्यो भने बाढीपीडितहरुलाई पनि सहयोग गर्ने सोच छ ।’ कार्यक्रममा गायक राजेश राईले पनि आफ्ना गीतहरु गाएका थिए ।
.................

                                  के हो हाउस अफ होप ?

खासमा हाउस अफ होप काठमाण्डौंको भैसेपाटीमा रहेको एक संस्था हो । यो संस्था गोपाल मुखिया र उनकी श्रीमति एली मुखियाले करिब २३ बर्षअघि स्थापना गरेका हुन् । त्यहाँ हाल २२ जना बालिकाहरु छन् । उनीहरु मुखिया दम्पत्तिलाई ड्याडी, मम्मी भन्छन् । मुखिया दम्पत्ति पनि सबैलाई आफ्ना छोरीहरु भन्छन् । त्यही संस्थाका छोरीहरुबाट गीत,संगीतमा रुचि भएका ६ जनाको लेडिज ब्याण्ड बनेको हो, हाउस अफ होप ।
ड्याडी गोपाल गितार बजाउन र मम्मी एली गाउन सिपालु छन् । ख्रिष्चियन धर्म मान्ने उनीहरु बिहान र बेलुकी प्रार्थना गर्दा गाउथे । एली दार्जिलिङमा कलेज पढ्दा खुब गाउथिन् । उनीहरुबाट नै प्रभावित छोरीहरुले पनि गीत, संगीतमा रुचि देखाए । ‘४ बर्षदेखि सिकाइरहेको छुँ, ब्याण्ड बनेको चै ३ बर्ष भयो,’गोपालले भने,‘हामीमा भएको कला यी नानीहरुलाई किन नदिने भन्ने सोच्यौं, अहिले त अर्को सानो उमेरको पनि टिम बनिसकेको छ ।’
६ जनाको ब्याण्डमा १४ बर्षकी कञ्चन लामा रिदम गितारिष्ट हुन् भने १५ बर्षकी रेसा सुनुवार लिड गितारिष्ट हुन्  । यस्तै, १५ बर्षकी यरुसा भेकलिष्ट छिन्, १६ बर्षीय राहेल मगर बेस गिटारिष्ट,१८ बर्षीय विमला गुरुङ ड्रमर हुन् भने निर्मला गुरुङ ट्रम्पेट र मादल बजाउन खप्पिस छिन् । भोकलिष्ट यरुसा मादल, कञ्जन बासुरी र राहल सारङ्गी पनि बजाउन सिपालु छिन् । ‘ड्याडी, मम्मीले गाएको, बजाएको देखेर नै हामीले पनि शुरु गरेका हौं, उहाँहरु नै हो हाम्रो प्रेरणाको स्रोत,’राहेल भन्छिन्,‘भविष्यमा पनि लेडिज ब्याण्डकोरुपमा हामी अघि बढ्न चाहन्छौं ।’
.............................................................

             ब्याण्डको योजना र अभयाले दिएको मौका

ब्याण्डका सबै सदस्यहरु समाजले छोरीलाई गर्ने भेदभाव, हिंसा र अपहेलनाकोविरुद्धमा भविष्यमा सांगीतिक अभियान गर्न चाहन्छन् । यो अभियान लिएर गाउँ गाउँ पुग्ने र छोरीहरु पनि केही कुरामा कम छैनन् भनेर प्रमाणित गर्ने उनीहरुको योजना छ । भोकलिष्ट यरुसा भन्छिन्,‘जे कुरा पनि छोराहरुले मात्र गर्नसक्छ भन्ने धारणा छ, त्यो तोडेर छोरीहरुलाई पनि शिक्षा, अवसर दिनुपर्छ, उनीहरुले पनि गर्न नसक्ने केही छैन भनेर गाउँ गाउँ पुग्ने योजना छ ।’
 भविष्यको योजनामा अहिले ब्याण्ड विस्तारै पाइला चाल्दैछ । कोठामा कभर गीत गाउदै बसेको ब्याण्डलाई स्टेजमा र राजधानी बाहिर पनि पर्फम गर्ने मौका पाउदैछ । यो ब्याण्डलाई सार्वजनिक गर्ने श्रेय भने कलाकार अभयालाई जान्छ । सन् २०१५ को अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसमा आयोजित एक कार्यक्रममा अभयाले यो ब्याण्डलाई स्टेजमा पर्फम गर्ने मौका दिएको थियो । त्यो स्टेजले नै यो ब्याण्डको परिचय फराकिलो बनायो । ‘हामीले गुरासै फुल्यो गीतको कभर युट्युबमा हालेका थियौं, अभया दिदीले हेरेपछि हामीलाई स्टेजमा पर्फम गर्न बोलाउनुभयो, त्यो दिन नै हाम्रो ब्याण्डको टर्निङ पोइन्ट भयो,’राहेल भन्छिन्,‘बागमती सरसफाई अभियानमा गायौं, धरान आयांै, अब त्रिसरामा अभय दिदीसँगै गाउने कार्यक्रम छ ।’









Comments

  1. wow really appreciate this team for their hard work GOD bless you all

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे