बजार सधैं अनुगमन गर्न उपप्रमुखको संयोजकत्वमा समिति

धरान,भदौ २५ । चाडपर्व नजिकिदा मात्र बजार अनुगमन गर्ने परम्परालाई तोड्दै जननिर्वाचित धरान उपमहानगरपालिकाले नियमितरुपमा अनुगमन गर्न समिति गठन गरेको छ । उपमहानगरपालिकामा बजार अनुगमनबारे आइतबार भएको वृहत छलफलले नियमितरुपमा बजार अनुगमन गर्न उपप्रमुख मञ्जु भण्डारी सुवेदीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको हो ।
छलफलबाट गठित यो समिति स्थायीरुपमा हुनेछ भने खाद्य वस्तुसँगै यो समितिले शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि नियमितरुपमा अनुगमन गर्ने अधिकार दिइएको छ । समितिमा इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, सुनसरी उद्योग वाणिज्य संघ, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार, खाद्य प्रविधि विदार्थी संघका प्रतिनिधि पनि सदस्य रहनेछन् । यस्तै, उपभोक्ता संरक्षण मञ्चका प्रतिनिधि २ जना, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि, घरेलु कार्यालयका प्रतिनिधि पनि सदस्य रहनेछन् भने उपमहानगरको सम्बन्धित महाशाखाको प्रतिनिधि सदस्य सचिव रहनेछन् ।
समितिका छलफलका सहभागीहरुले चाडपर्वमा मात्र अनुगमन गर्ने सरकारी कार्यशैलीको चर्को आलोचना गर्दै नियमितरुपमा अनुगमन गर्ने समितिको आवश्यकता औल्याएका थिए । उपभोक्ताहरु अखाद्य वस्तु र चर्को मुल्यबाट सधै पीडित हुदै आएपनि अनुगमनकारी सरकारी निकायहरु भने दशैं र तिहार चाड आएपछि मात्र बजार अनुगमनमा निस्कने गर्थे । धरानका प्रमुख तारा सुब्बाले बजार अनुगमनको परम्परागत शैली तोड्दै उपभोक्ताको अधिकार ग्यारेण्टी गर्न नियमितरुपमा अनगुमन गर्ने समिति गठन गरिएको बताए । ‘चाडपर्वको बेला मात्र अनुगमन गर्ने परम्परा तोडेर अब सधै नियमितरुपमा अनुगमन हुन्छ, यो समितिले सबै खालको उपभोग्य बस्तुको अनुगमन गर्नेछ । शिक्षा, स्वास्थ्य क्षेत्रको पनि अनुगमन गर्छ,’ प्रमुख सुब्बाले भने ।
बजार अनुगमनको क्रममा त्रुटी भेटिदा व्यापारीहरुबाट कारबाही नगर्न तीब्र दबाब आउने गर्छ भने सरकारी अधिकारीहरु पनि आर्थिक प्रलोभनमा परेर दोषीलाई कारबाही नगरी उन्मुक्ति दिने गरेको थुप्रै उदाहरण छन् । तर, प्रमुख सुब्बाले भने दबाब र प्रभावमा नपरी दोषीलाई कारबाही गरिछोड्ने प्रतिवद्धता पनि जनाए । ‘व्यापारीहरु जोगाउनतिर लाग्छन्, दबाब पनि आउला तर सुन्दैनौं, दोषीलाई कारबाही गरिछोड्छौं । कसैले पनि दबाब नदिनुस्,’उनले भने । छलफलमा केन्द्रीय प्रविधि हात्तिसारका सहायक क्याम्पस प्रमुख डा.दिलकुमार लिम्बूले चाडपर्वमा मात्र नभई सधै बजार अनुगमन गर्न सुझाव दिदै खाद्य वा अखाद्य वस्तु छुट्याउन विज्ञ उपलब्ध गराएर सहयोग गर्न तयार रहेको बताएका थिए । साथै उनले स्थानीय तहमा खाद्य निरीक्षक राख्न पनि आग्रह गरेका थिए ।
सोही क्याम्पसका विद्यार्थी सौरभ सञ्जेलले मिसावट भएको वा अखाद्य वस्तु भएको पत्ता लगाउन खाद्य प्रविधि पढिरहेका विद्यार्थीले सहयोग गर्ने धारणा राखे । उनले उपमहानगरपालिकाले ४ बर्षको कोर्ष सकेपछि सेवा दिने गरी छात्रवृत्तिमा पढाउने प्रबन्ध गर्न आग्रह पनि गरेका थिए । साथै उनले उपमहानगरपालिकालाई परीक्षणको लागि ल्याब स्थापनामा पनि आफुहरुले सहयोग गर्न तत्पर रहेको बताए । सुनसरी उवा संघका वाणिज्य सचिव महेन्द्र प्रधानले बजार अनुगमनसँगै उपभोक्ता र व्यापारी दुवै पक्षलाई सचेतनाको आवश्यकता रहेको औल्याए । ‘व्यापारी आफै पनि त उपभोक्ता हो, त्यसैले स्वास्थ्यमा असर पर्ने खालको उपभोग्य वस्तु बिक्री नगर्न सोचमा परिवर्तन ल्याउनुपर्छ,’उनले भने,‘राम्रो, स्वच्छ र स्वस्थकर पसल भेट्दा पुरस्कृत गर्ने र गलतलाई दण्डसजाय गर्ने गर्नुपर्छ ।’

पत्रकार महासंघ सुनसरीका सहसचिव दिनेश गजमेरले हरियो तरकारीको भाउ, लत्ताकपडाको मुल्यमा पनि तीब्ररुपमा अनुगमन गर्नुपर्नेमा जोडदिए । साथै, नागरिकहरुलाई राहत दिन दशैतिहारमा सस्तो बजारको अवधारणा ल्याउनुपर्ने उनको धारणा थियो । अनेमसंघ वडा १५ की अध्यक्ष सिर्जना नेपालले भानुचोक क्षेत्रको मुख्य बजारमात्र नभएर भित्री पसल र टोलटेलमा पुगेर अनुगमन गर्न माग गरिन् । होटल एशोसिएशन अफ धरानका अध्यक्ष सुवर्ण श्रेष्ठले महंगीको कारणले नै धरानको बजार खस्कदै गएको धारणा राखे । मासु व्यावसायी संघका अध्यक्ष किसोर खड्गीले मासु डिप फ्रिजमा राखेको स्वाथ्यकर हुने भएपनि उपभोक्ताले त्यस्तो मासु नलिने गरेको उल्लेख गर्दै उपभोक्तालाई सचेत गराउनुपर्नेमा जोडदिएका थिए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे