पोएट्री पार्टीमा ‘लिम्बुनी गाउँ’को चर्चा

                राष्ट्रिय झण्डा
झोलाको एउटा कुनामा श्रद्धाले पट्याएर हालेपछि
ब्रिफकेसभरि रेमिट्यान्स टिप्न
एयरपोर्टबाट रहरमा चढेर उडेको नवयुवक
तीन महिना नपुग्दै
देशको खुट्टानेर
कस्तरी टुप्लुक्क आइपुगेको छ ।
रेमिट्यान्ससँग साटिएर विदेश पुगेपनि केही समयमा नै बाकसमा प्याक भएर फर्किरहेका नेपाली युवाहरुको यथार्थ चित्रण भएको ‘राष्ट्रियता’ शिर्षकको यो कविता युवा कवि राज माङलाकले लेखेका हुन् । उनको भर्खरै प्रकाशित कविता संग्रह ‘लिम्बुनी गाउँ’ मा संग्रहित यही कविता वाचन गर्दै अर्का युवा कवि सुदिप पाख्रिनले शनिबार पोएट्री पार्टीको श्रृंखला शुरु गरे ।
नेपाली साहित्यमा उत्तरवर्ती सोचका अभियन्ता एवं युवा कवि माङलाकको भर्खर प्रकाशित कृति हो, लिम्बुनी गाउँ । सोही कृर्तिमाथि शनिबार धरान १८, बुद्धचोकस्थित फुड स्टोरीमा विमल गुरुङ स्मृति पुस्तकाल र बगियान साहित्यिक द्धैमासिक पत्रिकाले परिचर्चा कार्यक्रम आयोजना गरेको थियो । तर, कार्यक्रमको शुरुमै सञ्चालक कवि पाख्रिनले संग्रहको एक सशक्त कविता वाचन गरिदिएर कवि एवं साहित्यनुरागीहरुलाई संग्रहप्रति रुचि जगाइदिए । प्रत्येक महिनाको अन्तिम शनिबार हुने पोएर्टी पार्टीलाई औपचारिकता दिएपछि अर्का कवि सन्तोष थेवेले पनि ‘यौटा मिल्कि सकेको पर्स देखेपछि..’ शिर्षकको कविता वाचन गरे । त्यो पनि माङलाककै संग्रह भित्रको थियो ।
दुई कविता वाचन भएपछि मात्र शुरु भयो, माङलाकको लिम्बुनी गाउँबारे परिचर्चा । चर्चित कवि मनु मन्जिलले असाध्यै राम्रो कविताको सर्जक भएको प्रमाण लिएर माङलाक आएको बताए । नेपाली साहित्यमा बिम्ब, मिथकहरु साघुरिदै गएको बेला लिम्बु भाषा,सँस्कृति र इतिहाससम्मको मिथक, बिम्ब लिएर माङलाक लिम्बुनी गाउँबाट उदाएको धारणा राखे । ‘एउटा कविमा बिम्ब, मिथक प्रयोग र शैलीको जुन रेञ्ज हुनुपर्ने हो, त्यो लिम्बुनी गाउँमा छ । कवि आफैले लिटिल ब्वाईकोरुपमा पड्कन लागेको विद्रोहीरुपमा प्रस्तुत गरेका छन् भने कुनै कवितामा लिम्बु गाउँ, लिम्बुनी आमाको प्रष्ट चित्र बनाएका छन्,’कवि मन्जिलले भने,‘कविताहरुमा बिम्बको सुन्दर प्रयोग छ, र कविले कवितामा टेक्निक पनि प्रयोग गरेका छन्, जुन जो कोहीलाई सहज हुदैन ।’

पहिचान विश्वव्यापी प्रश्न भएपनि नेपालको भाषाभाषी, सँस्कृतिलाई यहाँको माटो, प्रकृतिले स्वीकार गरिसकेको धारणा राख्दै मन्जिलले राजनीतिले मात्र स्वीकार गरिनसकेको बताए । ‘साहित्यले त स्वीकार गरिसकेको छ, नेपालको प्रकृति, वतासले स्वीकारी सकेको कुरालाई राजनीतिले मात्र हो नस्वीकारेको । कला, साहित्यमा त्यस्तो हुदैन,’उनले भने । कवि वम देवानले साहित्यमा विभिन्न जातजाति, भाषा, सँस्कृतिको बिम्ब, मिथकहरु आए मात्र नेपाली साहित्य समृद्ध हुने बताए । कुनै जातिको भाषालाई अर्को जातिको नभनि हाम्रो भाषा भन्ने गरेमात्र नेपाल समृद्ध हुने भन्दै देवानले लिम्बुनी गाउँले नेपाली साहित्यलाई नै समृद्ध बनाउने विचार राखे । ‘हामी सबै एकै लहरमा उभियौं, सम्मानजनकरुपमा बसौं भन्न खोजेको छ । यो संग्रह उत्कृष्ट रचनाहरुको संगालो बनेको छ,’उनले भने ।
पत्रकार,कवि एवं उपप्रध्याक राजेश विद्रोहीले माङलाकको कविताका पंक्तिहरुले पहिचान खोजिरहेको छ भने अव्यक्तरुपमा विद्रोहको भावना पनि रहेको बताए । साथै, ग्रामिण पहाडी जीवनको विवशता, इतिहासको पीडाहरुलाई विम्ब, मिथक र प्रयोगात्मक शैलीमा प्रस्तुत गरेको उनको भनाई थियो । ‘लिम्बु भाषिक, सास्ँकृतिक मिथक, बिम्बहरु छन् । यो संग्रहको बिषेशता हो,’विद्रोहीले भने,‘कविताको पंक्तिहरुमा पहिचान खोजिएको छ, इतिहासको पीडा र भविष्यको चिन्ता पनि व्यक्त छ ।’ सर्जक माङलाकले लिम्बु जनजीवनलाई नजिकबाट कवितामा हेर्ने आफुले प्रयास गरेको धारणा राखे । ‘आफु काठमाण्डौले मोफसल मान्ने धरान, इटहरी, विराटनगरको पनि मोफसल(धनकुटाको राजारानी)मा बसेर लेखिरहेकोले यसप्रकारको कविता स्वीकार हुन्छ या हुन्न भन्ने शुरुमा चिन्तामा थियो,’उनले भने,‘सकरात्मक प्रतिक्रियाहरु पाएर म उत्साहित छुँ ।’ परिचर्चाको बीच बीचमा कवि हेमन यात्रीले लिम्बुनी गाउँ शिर्षकको कविता र किरण शिवाले डिप्लोम्याट देवाता शिर्षकको संग्रहभित्रको कविता वाचन गरेका थिए । सर्जक माङलाकले आदङ्वे शिर्षकको रोमाण्टिक कविता वाचन गर्दै कार्यक्रमको समापन गरे ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे