रुबि भइन्, मिस पुर्वाञ्चलको विजेता
धरान,असोज ७ । तेह्रथुमको पौठाक पुख्यौली घर भएकी धरान ११ की २० बर्षीय रुबि लिम्बूले नेपाल आइस नेचुरा मिस पुर्वाञ्चल २०१७ को उपाधि जितेकी छिन् । शुक्रबार राती सभागृहमा सम्पन्न फाइनल स्पर्धामा आफुलाई अब्बल सावित गर्दै रुबिले पुर्वाञ्चलको सबैभन्दा ठुलो मानिएको सुन्दरी प्रतियोगिताको ताज पहिरिएकी हुन् ।फाइनलमा मुख्य निर्णायक एवं पिएलओ लुब्रिकेन्टका प्रबन्ध निर्देशक भोलेश्वर दुलालले सोधेको ‘महिला हुनुको महत्व के छ ?’ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिदै उनले मिस पुर्वाञ्चलको ताज पहिरिन् । दुलालको जवाफमा उनले ‘महिलालाई माया, सहनशीलता र दयाको खानी’कोरुपमा ब्याख्या गरेकी थिइन् । उनको त्यही जवाफले ताज पहिरिन सफल भइन् ।
विजेता रुबिले ताजसँगै यामाहा स्कुटी हात पारिन् भने एक साताको हङकङ टुर प्याकेजको पुरस्कार पनि पाएकी छिन् । धरानस्थित सुनसरी टेक्निकल कलेजमा माइक्रोबायोलोजी तेस्रो बर्षमा पढ्दै गरेकी रुबि भविष्यमा अध्ययनमा केन्द्रीत हुदै सामाजिक काममा सक्रिय हुने योजना रहेको बताउछिन् । सामाजिक क्षेत्रमा लाग्न प्रेरणा मिल्ने र अनुभव बटुल्ने प्लेटफर्मकोरुपमा लिएर मिस पुर्वाञ्चलमा सहभागी भएको उनले बताइन् । ‘भविष्यमा पढाईलाई नै निरन्तरता दिन्छु, र सामाजिक कार्यमा सक्रिय रहन्छु,’उनले भनिन् ।
प्रतियोगितामा धरानकी सिमरन श्रेष्ठ फष्ट रनरअप घोषित भइन् भने झापा विर्तामोडकी अनु ढुंगाना सेकेण्ड रनरअप घोषित भइन् । सिमरनले नगद ५० हजार हात पारिन् भने अनुले नगद ४० हजार पाइन् । फाइनलमा कुल २१ प्रतियोगी सुन्दरीहरु उपाधि दौडमा र्याम्पमा उत्रिएका थिए । ती मध्ये निर्णायकहरुले ७ प्रतियोगीहरुलाई छनौट गरेर अन्तिम उपाधि दौडमा अघि बढाएका थिए । टप ७ मा छनौट भएका प्रतिस्पर्धीहरुलाई मुख्य निर्णायक दुलालले प्रश्न सोधेका थिए ।
टप ७ मा ताज विजेताहरुबाहेक शताब्दीका गिरी, विपना श्रेष्ठ, सविना आचार्य र सन्ध्या भेटवाल पनि परेकी थिइन् । विजेता रुबिलाई गत सँस्करणकी विजेता कृतिका गिरीले ताज पहिराएकी थिइन् भने फष्ट रनरअपलाई गत बर्षकी विजेता इक्सा मादेन र सेकेण्ड रनरअपलाई २०१५ की विजेता प्रमिशा बज्रचार्यले ताज पहिराइदिएकी थिइन् ।
विजेता रुबिले मिस हेल्दी, मिस इन्टेलेक्चुअल र मिस ट्यालेण्टको उपाधि पनि हात पारिन् भने फष्ट रनरअप मिसरनले मिस फोटोजेनिक र मिस पर्सनालिटीको उपाधि पनि जितिन् । यस्तै, मिस चार्मिङको उपाधि शर्मिला खतिवडा, मिस फ्रेण्डसिपको उपाधि विपना श्रेष्ठ, मिस क्याटवकको उपाधि यस्तर तामाङले हात पारिन् ।
यस्तै, मिस पब्लिक च्वाइस र मिस मल्टिमिडियाको उपाधि शताब्दीका गिरी र मिस ज्वेलरीको उपाधि प्रतिमा तिवारीले पाइन् । प्रत्येक टाइटल विजेतालाई नगद १२ हजार र अन्य आकर्षक पुरस्कारहरु दिइएको आयोजक सिल्भर इन्टरटेन्मेन्टले जनाएको छ । विजेताहरुलाई आयोजक संस्थाका अध्यक्ष दिपक वनेपाली, पिएलओका प्रबन्ध निर्देशक दुलाल, सि.जि.ब्रुअरीका सिनियर जि.एम. प्रदिप पुडासैनी,गजुरमुखी ट्रेडका सिइओ गोपाल आचार्य, वडा नं ३ का अध्यक्ष आशाकुमार श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।



Comments
Post a Comment