दशैंमा आगोले लुट्यो खुशी

धरान । दशै नजिकिदै थियो । सदा झै धरान १५ का कृष्णप्रसाद शाक्यको परिवार यसपाली पनि मिठोमसिनो खाएर, आफन्तजनलाई भेटर दशैं मनाउने योजनामा थियो । तर, बुधबार दिउँसो शाक्य परिवारको खुशीमाथि बज्रपात भयो ।
शाक्यले धरान ९ स्थित गौतमपथमा कृष्ण साइकल मर्मत केन्द्र खोलेका थिए । ०५८ सालमा आफैले शुरु गरेको त्यही पसलको कमाईले उनको परिवार चलेको थियो । बुधबार दिउँसो छिमेकी मासु पसलबाट शुरु भएको आगोले उनको साइकल मर्मत केन्द्र पनि स्वाहा भयो, सँगै उनको परिवारको खुशी पनि लुट्यो । जीवनमा कल्पनै नगरेको घटना आइपर्दा शाक्य परिवार निराश छन् । संघारमा आइपुगेको चाड दशैं टार्ने मात्र होइन, परिवार कसरी चलाउने भन्ने चिन्ताले घेरिएका छन् शाक्य यतिबेला । ‘यही पसलको कमाईले परिवार पालेको थिएँ, छोराछोरी पढाएको थिए । मेरो खेती भन्नु नै यही पसल थियो’–आगोले खाएको साइकलको पार्टपुर्जा संकलन गर्दै गरेका शाक्यले भने–‘यस्तो घटना होला भन्ने त कल्पनै गरेको थिइन ।’
उनको पसलदेखि तल रहेको किसोर खड्गीको बुढासुब्बा मिट फ्रेस हाउसबाट आगलागी शुरु भएको थियो । ग्याँस लिक भएर सिलिण्डर नै पड्किएपछि टिन र काठले बनेको टहराहरु ह्वार्रह्वार्रती जल्न थाल्यो । त्यही आगोले उनको पसललाई पनि बाँकी छोडेन । पसलमा भएको साइकल, पार्टपुर्जालगायत १० लाख बराबरको सामानहरु जलेर नष्ट भयो । छिमेकी पसलमा आगो शुरु हुदा श्रीमति कविता पनि पसलमै काम गरिरहेकी थिइन् । छोरीले चिच्याएर आगो लागेको भनेपछि मात्र उनीहरुले चाल पाए । त्यतिबेलासम्म ढिलाई भइसकेको थियो । एउटा ग्याँसको सिलिण्डर निकाल्नुबाहेक उनीहरुले पसलको केही पनि सामान झिक्नै पाएनन् । ‘मासु पसलकै २ वटा सिलिण्डर पड्केपछि आगो ह्वत्तै पैmलियो, होचो टहरा भएकोले ५ मिनेटमै सबैतिर आगो फैलिहाल्यो’–श्रीमति कविताले भनिन्–‘हाम्रो एउटा सिलिण्डरबाहेक केही निकाल्न पाएनौं ।’
शाक्य दम्पत्तिका २ छोरा र एक छोरी छन् । छोराहरु बिहे गरेर अलग्गिएका छन् भने छोरी विष्णु मेमोरियल उच्चमाविमा कक्षा १० मा पढ्छिन् । शाक्यले १५ बर्षको उमेरदेखि नै साइकल मर्मत गर्न सिकेका थिए । सानैदेखि मेहनती उनले ०५८ सालदेखि गौतमपथमा आफ्नै मर्मत केन्द्र थालेका हुन् । पसलमा उनी साइकल मर्मत गर्थे भने पार्टपुर्जाको होलसेलमा बिक्री पनि गर्थे । त्यही पसलको कमाईले ५ धुर घडेरी किनेका उनले बैंकबाट ५ लाख रुपैया ऋण लिएर डेढ तले पक्की घर पनि बनाएका छन् । आगोले पसल जलेपछि बैंकको किस्ता, छोरीको पढाई खर्च र परिवार पाल्न उनलाई ठुलो सकस परिरहेको छ । विराटनगर र इटहरीको डिलर(साहु)को पनि ३ लाख ५० हजार बाँकीबक्यौता पनि छदैछ । तरपनि जलेकै ठाउँमा नयाँ टहरा बनाएर पुनः पसल शुरु गर्ने उनीहरुको योजना छ । ‘बैंक ब्यालेन्स पनि छैन, अरु कुनै काम गर्ने सिप पनि जानेको छैन’–शाक्यले भने–‘नयाँ साहुले पत्याउदैन, पुरानै साहुसँग कुरा गरेर यही पसल शुरु गर्ने योजनामा छौं ।’
बुधबार करिब ३ बजे भएको आगलागीमा शाक्यको पसलसहित बुढासुब्बा मिट फ्रेस, कल्पना मिट फ्रेस, आजाद प्लाष्टिक पसल, राजेश कुखुरा मासु पसललाई क्षति पुगेको थियो । तीमध्ये सबैभन्दा बढी क्षति साइकल पसल र आजाद प्लाष्टिकले व्यहोर्नुपरेको छ ।
..............................................
कृष्ण साइकल मर्मत केन्द्रसँगै जोडिएको थियो, आजाद प्लाष्टिक पसल । यो पसल सञ्चालनमा आएको ११ बर्ष पुग्नै लागेको थियो । आजाद अन्सारीले बुबासँग मिलेर २५ लाख लगानी गरेर पसल थालेका थिए । कपडाको झोला, गुच्छा डोरी, पिपी प्याकिङ, एलडि प्याकिङ, तालालगायत सामानहरु थियो । बुधबारै पैसा लिन साहु पनि आउने भएकोले ५० हजार पनि गल्लामा राखेका थिए । पसलको कागजपत्रहरु सबै त्यही थियो । आगलागीले उनको पनि पसलको सामान, पैसा र महत्वपुर्ण कागजपत्र केही बाँकी राखेन । ‘बुबा र म मिलेर काम गथ्र्यौ, बुबाले अर्डर ल्याउने र म बिक्री गर्थे । यही पसलले परिवार चलेको थियो’–आजादले भने–‘अब के गर्नु ? बुबालाई प्रेसर बढेर घरमै हुनुहुन्छ, यता आउनै सक्नु भएको छैन ।’
दशैं नजिकिदै गरेको कारणले पनि आजादले एक साताअघि मात्र ८ लाख जतिको नयाँ सामान मगाएका थिए । साहु(डिलर)हरुकै ऋण ७ लाख बढी छ । सहकारीबाट ८ लाख ऋण निकालेर जग्गा किनेका छन् । त्यही आफ्नै पसल बनाउने उनको योजना पनि भताभुङ्ग बनेको छ । ‘पसलै रहेन, अब बैकको ऋण कसरी तिर्ने ?’–चिन्तित मुद्रामा उनले भने–‘साहुलाई बोलाएर कुरा राख्छुँ, सामान दियो भने फेरी यही व्यापार गर्छु ।’





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे