दशैंमा करोडको खसी,बोका बिक्री

धरान । दशैंले छोपेसँगै धरान १३ स्थित कृर्षि उपज बजारस्थलमा लाग्ने साप्ताहिक पशु हाट(बजार)मा बिहिबार र शुक्रबार मात्र एक करोड बढी कारोबार भएको छ । अष्टमीको दिन वलि दिने चलन भएकोले दशैंको अघिल्लो शुक्रबार ठुलो संख्यामा खसी–बोका बिक्री हुने गरेको छ ।
धरानको पशुहाटमा प्रत्येक शुक्रबार खसीबोका बजार लाग्छ । बजारस्थलका अनुसार दशैंको समय भने बिहिबारदेखि नै कारोबार शुरु हुन्छ । यो बिहिबार सयको हाराहारीमा खसीबोका बिक्री भएको थियो भने शुक्रबार दिउँसोसम्म ९ सयको हाराहारीमा बिक्री भएको थियो । साँझसम्म कारोबार भइरहेकोले संख्या अझै बढ्ने व्यावस्थापक लक्ष्मण भट्टराईले बताए । ‘दशैंमा बलि दिने चलन भएको अष्टमी नजिकको शुक्रबार धेरै खसी,बोका बिक्री हुन्छ’–व्यवस्थापक भटराईले भने–‘यो बिहिबार र शुक्रबारको हिसाब गर्दा करोड बढीको कारोबार पुग्छ ।’
व्यवस्थापक भट्टराईका अनुसार दुई दिनमा २० टनको बराबार खसीबोका बिक्री भएको छ । यो तथ्यांक बजारबाट खरीद गरेपछि विल काटेर गएको मात्र तथ्यांक हो । बजारसम्म ल्याई नपु¥याउदै कतिपय खसीबोका बिक्री भएको पनि जोड्दा अझ बढी हुने उनको भनाई छ । विगतका बर्षहरुमा पाठापाठी र माउसमेत बिक्री हुने गरेपछि यो बर्ष खसी र बोका मात्र बढी बिक्री भइरहेको उनले बताए । अघिल्लो बर्ष एक हजार २ सयको संख्यामा खसीबोका बिक्री भएको थियो । जसको मुल्य ७५ लाख हुन आउछ । त्यसअघि ०७१ सालको दशंैको मुखमा भने एक हजार ६ सयको संख्यामा खसीबोका बिक्री भएको थियो । जसको मुल्य एक करोड बढी हुने बजारस्थलले जनाएको छ । बजारस्थलमा प्रत्येक शुक्रबार पशु बजार लाग्ने गर्छ । जहाँ दुई दिनअघिदेखि नै पहाडी जिल्लाबाट किसान र बिचौलिया(एजेन्ट) व्यापारीहरुले खसी, बोका, भेडा र च्याङग्रा ल्याउने गर्छन् । यहाँ जिउदै खसी,बोकाको मुल्य औसतमा प्रतिकेजी ५ सय रुपैया कायम गरेर कारोबार भएको बजारस्थलले जनाएको छ । खसीबोकाको मुल्य निर्धारण नगरिएकोले हुण्डीमुण्डीमा कारोबार हुदा किसानहरु भने मर्कामा पर्ने गरेका छन् ।
यो बर्ष निरन्तर बर्षा भइरहेकोले पहाडी जिल्लाबाट पर्याप्त मात्रामा खसीबोका नआउदा उपभोक्ताले महंगो मुल्यमा खरीद गर्नुपरेको धरान मासु व्यावसायी संघका अध्यक्ष सोभितमान कटवालले बताए । उनका अनुसार दशैंको शुक्रबार मासु व्यावसायीले भन्दा पनि सिधै उपभोक्ताहरुले हाटबाट खसीबोका खरीद गरेर लैजाने गर्छन् । ‘खसीबोका भन्दा धेरै खरीद गर्ने उपभोक्ताहरु पो देखियो, निरन्तर पानी परेकोले धेरै खसीबोका आउन सकेन । त्यसैले भाउ पनि उच्च छ’–उनले भने । औसातमा ५ सय प्रतिकिलो ज्युदो खसीको मुल्य कायम गरिए पनि उपभोक्ताहरुले प्रतिकिलो हजार रुपैयासम्म लगाउनु परेको थियो । बजारमा भने खसीको मासुको भाउ प्रतिकिलो ७ सय रुपैया छ । हुण्डीमुण्डीको भाउमा ज्युदो खसीबोका कारोबार हुने गरेकोले किसान र मासु व्यावसायीलाई धेरै घाटा पुग्ने गरेको उनको गुनासो छ ।
यो बजारमा सुनसरी, भोजपुर, संखुवासभा, तेह्रजथुम, धनकुटा र कोशी पारी उदयपुर, खोटाङका किसान र व्यापारीहरुले खसी, बाख्रा,बोका, भेडा लिएर आउछन् । यहाँबाट विराटनगर, इटहरी, झुम्काका व्यापारीहरुले खरीद गरेर लैजाने गरेका छन् । पहाडी जिल्लाबाट लोकल जातको खसी, बोका आउछ भने पाँचकन्या, तरहरा र पटनाली क्षेत्रबाट लामकाने(जमुनापारी) जातको पनि खसी, बाख्रा आउछ । संखुवासभाबाट अधिकांश भेडा र केही संख्यामा च्यांग्रा पनि आउने गरेको बजारस्थलले जनाएको छ । यो बजारमा टाढा टाढाको जिल्लाबाट किसानहरु बिक्रिका लागी आउने भएकाले सहुलियतमा सशुल्क बासको व्यवस्था गरिएको छ भने खसी, बोका थुन्न घरको पनि व्यबस्था गरिएकोछ । हिन्दु धर्मावलम्बी नेपालीहरुले दशैंमा अष्टमी र नवमीको दिन शक्तिपिठहरुमा बोका वलि दिन्छन् भने घरघरमा खसी काटेर मनाउछन् ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे