नेचुरल थिएटर-खोर्साने खाप

कोशी राजमार्गको धरान–इटहरी सडक खण्डमा पर्ने तरहरादेखि करिब ५ किलोमिटर पुर्वमा छ, तालतलैया । प्रकृति एवं जैविक विविधता भएको तालतलैयामा गत माघमा अन्र्तराष्ट्रिय मुर्तिकला कार्यशाला भएपछि कलाको पारखीहरुको पनि गन्तव्य बनेको छ । विभिन्न देशका कलाकारहरुले बडेमानका निर्जिव ढुंगाहरुमा प्राण भरेर सुन्दर आकृर्ति दिएका छन् । घुमफिर गर्न रुचाउने पुर्वेलीहरु तालतलैया नपुग्ने सायदै होलान् । तर, त्यही तालतलैयादेखि एक किलोमिटर पुर्वमा रहेको गाउँ खोर्साने खाप र त्यहाँको होम स्टे भने बत्तिमुनि अध्यारो भन्ने उक्ति झै बनेको छ ।
तालतलैयामा दैनिक सयांै आन्तरिक पर्यटक घुम्न पुग्छन् । तर, नजिकको खोर्साने खाप र त्यहाँ रहेको होम स्टेसम्म उनीहरु पुग्दैनन् । ओझेलमा परेको त्यही गाउँमा विश्व पर्यटन दिवसको दिन असोज ११ गते (२७ सेप्टेम्बर) धरानबाट ३० भन्दा बढी टोली पुग्यौं । त्यसमध्ये पनि २० जना धरानबाट साइक्लिङ गर्दै पुगे । अरु मोटरसाइकल र गाडीमार्फत । सुनसरी उद्योग वाणिज्य संघ र धरान जेसिजले पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले खोर्साने खापलाई गन्तव्य छनौट गरेको थियो । एक रात बास बस्ने योजनासहित । यात्रामा जुनियर जेसिज, होटल एशोसिएशन अफ धरानको पनि सहभागिता थियो ।
कार्यक्रम संयोजक मेहरलाल श्रेष्ठ दाईले फोन गरेर खोर्साने खाप जानेबारे जानकारी दिएका थिए । साइक्लिङ गर्दै जाने भनेपछि झन् उत्साहित भए । धेरै पटक साइकल यात्राको अनुभव छ । तर, साइक्लिङ गर्दै होम स्टेको अनुभव थिएन । एक बजे धरानबाट हिड्ने भनिएपनि औपचारिक कार्यक्रम सकेर विदाई हुदा झण्डै ३ बजिसकेको थियो । चतरालाईनको इष्टर्न ट्रेल माउण्टेन बाइक शोरुमले साइकल प्रायोजन गरेको थियो । प्रोपाइटर सौजन श्रेष्ठ जुनियर जेसिजको अध्यक्ष पनि हुन् । उनीसहित श्रीजन आचार्य, आदर्श श्रेष्ठ र अभिषेक राईको टेक्निकल टिम पनि सँगै थियो । कार्यक्रम संयोजक श्रेष्ठ, धरान जेसिजका अध्यक्ष अतुलदिप श्रेष्ठ, पत्रकार दिनेश गजमेर, जेसिज प्रथम महिला पुनम श्रेष्ठ, रिया श्रेष्ठ र नादिरा श्रेष्ठ(तीन महिला)लगायत २० जनाको साइक्लिङ टोली थियो ।
साइकल यात्रा धरान र पानवारीलाई जोड्न सेउती खोलामा निर्माणाधिन पक्की पुल हुदै अघि बढ्यो । एउटा साइकल शुरुवातमै पम्चर भएछ । सेउतीमा निक्कैबेर पर्खियौं । हाम्रो गाइड थिए, सौजन । उनी राम्रा फोटोग्राफर पनि हुन् । हामी खोला तरेर अघि बढ्दा उनी फोटो खिच्दै थिए । गाइड अघि हुनुपर्ने, उनी छुटे । हाम्रो रुट पानवारी स्कुल डाँडाबाट दक्षिण जंगलतिर झर्नुपर्ने रहेछ । अघि लागेको टोली पक्की सडक हुदै पुर्व हान्नियो । मोरङको याङसिला गाविसमा पर्ने चोक्टीमा रोकियौं । त्यहाँ पुगेपछि पो थाह भयो, जोशिएर ५ किलोमिटर जति गलत ट्रयाकमा गएछौं । पाँच जना थियौं । फेरि गएकै बाटो फर्कनु पर्दा पहिलो चोटी साइक्लिङ जानेहरु गुनासो गर्र्दै थिए । भीडमा कसैले प्वाक्क भनिहाल्यो, –‘टुरिज्म डेमा ५ किलोमिटर बोनस भयो ।’ सबै जना मजाले हास्यौं ।
सबै भेला भएपछि गाइडभन्दा अघि नजाने निर्देशन आयो । त्यसपछि सौजनलाई पछ्याउदै दक्षिण लाग्यौं । वस्ती सकियो । जंगल शुरु भयो । साइकलमा जंगल सफारी रमाइलो अनुभव हुन्छ । गाडी पनि गुड्न सक्ने ट्रयाक । साइकल गुडाउन गाह्रो हुन्न । बीच जंगलमा खोला तगारो बन्यो । पानवारी प्रवेश गर्नेबेला पनि सेहरा पार गर्नुपर्छ । तर, त्यहाँ पक्की पुल छ । जंगल बीचमा भने खोलामा हेलिएरै तर्नुपर्ने । निरन्तर बर्षा भइरहेकोले खोलामा पानी बढी नै छ । साइकल गुडाएरै तर्ने प्रयास गर्दा एउटाको चेकपकेट भाचियो । त्यसपछि त सबैले साइकल बोकेरै खोला त¥यौं ।
गाउँ आएपछि पुनः त्यही सेहरा खोला तर्नुप¥यो । एउटा खोलालाई यो यात्रामा तीन पटक त¥यौं । तेस्रो पटक खोला तरेपछि गन्तव्य नजिक पुगेछौं । तीन जना महिला थालमा फुल र अक्षता लिएर हाम्रो स्वागतमा उभिएको । सबैलाई टिका अनि फुल दिएर न्यानो स्वागत गरे । अलिक पर्तिर ठुलो मैदान, गोलघर रहेछ । त्यहाँ युवाहरु पाल टाङदै थिए । साइकल थन्काएर कोही गाउँ डुल्न, कोही गाउँलेसँग गफिन थाले । साँझ पर्न लागेको थियो, गाडीमा सुनसरी उवासंघका अध्यक्ष राजेन्द्र साह, प्रथम उपाध्यक्ष विजय श्रेष्ठसँगै पत्रकार मनिता चाम्लिङ, सागर सिंजाली पनि आइपुगे । जंगल छेऊमा रोटे पिङ रहेछ, काठले बनेको । यस्तो पिङ मैले भोजपुर गाउँमा मात्र देखेको थिए । साइकले साथीहरु त अघि नै पो पिङमा रमाउन पुगिसकेछन् ।
खाजा तयार हुन ढिलो भयो । हाम्रै टोलीले वंगुर मासु लिएर गएको रहेछ । होटल एशोसिएशनका केन्द्रीय सदस्य महेश श्रेष्ठ बिकी साथीहरुसँग सेकुवा बनाउन थाले । कोही गाउँमै बनेको तीनपानेको चुस्की लिन थाले । पाल ठडियो । स्थानीयले नै जेनेटरको व्यवस्था गरे, लोडेसेडिङमा पनि नो टेन्सन । साउण्ड सिस्टम पनि जोडियो । एकातिर क्याम्प फायर । वरिपरी कुर्सीमा हामी । गीत घन्कन थाल्यो । गोलघरभरि गाउँले भेला भए । सुरेन्द्र प्रधान राम्रो गाउदा रहेछन् । डिजे ललित राई र उनका जोडीले नेपाली, हिन्दी गीत गाउन थाले । धराने टोलीसँगै स्थानीयहरु युवाहरु पनि नाच्न थाले । तिहारमा देउसी भैलो खेल्न आएजस्तै त्यहाँ रमिता भयो ।
खोर्साने खाप इटहरी उपमहानगरपालिका वडा ३ मा पर्ने रहेछ । त्यहाँ धिमाल सँस्कृति र नाच हेर्न पाइन्छ भन्ने सुनेका थियौं । तर, धिमाल पहिरनमा सजिएका २ जना युवती मात्र देखियो । होम स्टे व्यावस्थापन समितिका अध्यक्ष आशबहादर धिमालसँग बुझ्दा कलाकारहरु गाउँमा नभएको बताए । हाम्रो मन राखिदिनलाई भएपनि धिमाल नाच प्रस्तुत भयो । दुई युवती मात्र जातिय पहिरनमा थिए । उद्योग वाणिज्य संघका महासचिव शिवराज श्रेष्ठ दाईले जातिय पहिरनमा नाच देखाउने युवतीलाई प्रोत्सान गर्दै नगद पुरस्कार नै पो दिए । खाना खाइसक्दा झण्डै एघार बजिसकेको थियो । गुन्द्रुक अचार, हास र लोकल कुखुराको मासुसँग स्वादिलो खाना खायौं । नाचगानको रमाइलो अझै सकिएको थिएन । फोटो पत्रकार उपेन्द्र चाम्लिङ दाई राती भएपनि आइपुगे ।
खोर्साने खापमा २०७० सालदेखि होम स्टे शुरु भएको रहेछ । त्यसपछि पर्यटनबारे गाउँलेहरुमा धेरै नै चेतना जागेको छ । अहिले १० घरमा २४ वटा वेड छ । जसमा २४ जना नै पाहुना राख्ने क्षमता छ । गाउँको उत्तरमा घना जंगल छ, प्राकृतिक र जैविक विविधता भरिएको । गाउँलेहरु पशुपालन, कृर्षि खेतीतर्पm आकर्षित छन् । होम स्टे शुरु भएपछि विभिन्न सरकारी निकाय र एनजिओहरुले गाउँलेहरुलाई तालिम दियो । पहिला दाउरा बेचेर जिविका चलाउनेहरु पनि त्यसपछि आयमुलक कामतर्फ लागे । वन पनि जोगिएको छ । गाउँको रुपमा पनि परिवर्तन आएको छ । होम स्टेका अध्यक्ष धिमालले नेचुरल थिएटर छ भन्दा छक्क परे । के हो नेचुरल थिएटर ? बुझ्दा त कलाकार सोनु जयन्तीले अभिनय प्रशिक्षण दिएपछि गाउँकै २७ जना बालबालिकाहरुको टिम बनेको रहेछ । त्यो टिमले सामाजिक विकृति, विसंगतिविरुद्ध नाटकहरु देखाउछन् । त्यसैलाई नेचुरल थिएटर भनिएको रहेछ ।
गाउँमा प्रगतिशिल सुरक्षा समिति र त्यसअन्र्तगत अनुसन्धान विभाग छ । टोल विकास कोषबाट गाउलेहरु ऋण लैजान्छन्, र ६ महिनाभित्र तिर्छन् । आमा समुह, युवा समुह, होम स्टे समिति सबैको छुट्टाछुट्टै कोष रहेछ । होम स्टे समितिले गोलघरमा सामुहिक पसल पनि चलाउने रहेछ । दश बर्षअघि निर्माण मजदुरी गर्ने धिमाल आफै अहिले होम स्टे र सरस्वती वन समितिको अध्यक्ष छन् । परिवर्तनको ज्युदो नमुना उनी आफै हुन् । उनकै घरमा शिवराज र उपेन्द्र दाईसँगै म र दिनेश सुत्यौं । एकैछिनमा निदाएछांै । बिहान ब्युझदा त साथीहरु धरान फर्कन तयारी अवस्थामा थिए । होम स्टेमा २० जना बसेछौं, १० जना साथीहरु टेण्टमा । जाने बेला पनि अक्षता टिका र फुल दिदै एक महिलाले भनिन्,‘गएपछि नर्बिसनुस है हाम्रो गाउँलाई ।’ अहो, कति आत्मीयता । हामी तालतलैया, तरहरा हुदै कोशी राजमार्गबाट साइक्लिङ गर्दै धरान लाग्यौं ।
खोर्साने खापदेखि एक किलोमिटर पश्चिममा तालतलैया छ । डेढ किलोमिटर दुरीमा हसिना सिमसार र ९ किलोमिटर दुरीमा वेतना सिमसार । गाउँमै बुढासुब्बा, गुम्बा र धिमाल जातिको धनपाल थान छ । दिउसो ती सिमसार घुम्ने र साँझमा खोर्साने खापमा बास बस्ने सकिने । पर्यटन व्यावसायीहरुले खोर्साने खापलाई पनि समेटेर प्याकेज बनाउदा हुने । मासु खानासहित एउटा बेडको ५ सय ५० मात्र । अझ सादा खाना खाए ४ सय ५० मात्र । बिहान चिया र खाजा पनि पाइन्छ । मात्र २५ रुपैयामा घोड सवारी पनि छ । यहाँ कुल ५२ घरधुरी छ । राई, लिम्बु, क्षेत्री, बाहुन, धिमाल, दलित सबै मिश्रित जातजातिको बसोबास छ । इटहरी तीब्र शहरीकरण र विकासमा अघि बढीरहे पनि खोर्साने खापको दुःखलाई नबुझेको स्थानीयको गुनासो छ । यो गाउँ सेहरा र बुढी खोलाको बीचमा छ । दुवै खोलामा पुल छैन । बर्षाको बेला केटाकेटीहरु स्कुल जादैनन् । बाढी गाउँमा पसेर वितण्डा मच्चाउछ । तरपनि गाउलेहरु निराश छैनन् । पाहुनालाई स्वागत गर्न हरदम उनीहरु तम्तयार भएर बसेका छन् ।
.................................................................................................
आशबहादुर धिमाल, अध्यक्ष, खोर्साने खाप होम स्टे व्यावस्थापन समिति
ः तीन बर्षअघिदेखि होम स्टे शुरु गरेका छौं । दश घरमा २४ जना पाहुना राख्न सक्छौं । हामीसँग प्राकृतिक सुन्दरता छ । धिमाल सँस्कृति देखाउछौं । नेचुरल थिएटरमा बच्चाहरुले नाटक देखाउछन् । मौषमअनुसार फलफुल हुन्छ । होम स्टे शुरु गरेपछि धेरै संस्थाले तालिम दियो, र हामी गाउँले दाउरा बेच्न छोडेर कृर्षि, पशुपालनतिर लाग्यांै । गाउँमै उत्पादन भएको तरकारी, फलफुल पाहुनालाई खुवाउछौं । बाँकी रहेको तरहरा, इटहरी बजारमा बिक्री गछौं । आम्दानी राम्रै भएको छ । धेरै किसिमका मान्छेहरु आउदा ज्ञान पनि पाएका छौं ।
..................................................................................
अतुलदिप श्रेष्ठ, अध्यक्ष, धरान जेसिज 
ः पर्यटन प्रर्वद्धनको कार्यक्रम गर्ने योजनामा थियौं । पर्यटन दिवस पनि परेकोले २७ सेप्टेम्बरमा खोर्साने खापको होम स्टे रोज्यौं । उद्योग वाणिज्य संघ, जुनियर जेसिज, होटल एशोसिएशनसँग सहकार्य भयो । साइक्लिङको पनि प्रर्वद्धन भयो । ओझेलमा परेको होम स्टेलाई पनि चिनाउन खोजेका हौं । म पनि पहिलो पटक साइक्लिङमा गएको । धेरै रमाइलो भयो । यसरी नै महिनामा एक पटक अरु संघसंस्था पनि घुम्न जाने, बास बसिदिने ग¥यो भने पर्यटन प्रर्वद्धनमा मद्दत पुग्छ ।
............................................................
शिवराज श्रेष्ठ, महासचिव सुनसरी उद्योग वाणिज्य संघ
ः  संघले पर्यटनलाई प्राथमिकता दिएको छ । हामी पर्यटन प्रर्वद्धन र विकासको लागि धेरै कार्यक्रमहरु गर्दैछौं । खोर्साने खापमा आउनुको कारण पनि यो ठाउँको प्रचारप्रसार र प्रर्वद्धन होस भन्ने उद्देश्य नै थियो । यहाँको व्यावस्थापनमा केही कमीकजोरी देखिए पनि आगामी दिनहरुमा सुधार गर्नुपर्छ । म पनि पहिलो पटक यसरी होम स्टेमा बसेको हो । यहाँको सँस्कार, खानपिन, आतित्थ्यता सबै राम्रो लाग्यो ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे