स्वरोजगार कोषले ५ लाखसम्म ऋण दिने

धरान । युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले नेपाल सरकारले स्थापना गरेको युवा तथा साना व्यावसायी स्वरोजगार कोषले ऋण प्रवाहको दायरा बढाउने भएको छ । कोषले उपलब्ध गराउने ऋण ज्यादै कम भएको र व्यावसाय गर्नेले धेरै समस्या भोग्नु परेको चौतर्फी गुनासो आएको भन्दै कोषले ऋणको दायरा बढाउन लागेको हो ।
कोषका उपाध्यक्ष प्रेमप्रसाद दंगालका अनुसार सबैको गुनासो र सुझावको आधारमा ऋणको दायरा बढाएर ५ लाख पु¥याउने बोर्डले निर्णय गरिसकेको छ । यो निर्णय लागु गराउन मन्त्रीपरिषदबाट नियमावली संशोधन गर्ने तयारी भइरहेको पनि उपाध्यक्ष दंगालले जानकारी दिए । यद्यपी उनले हालसम्म कोषबाट उपलब्ध हुदै आएको अधिकतम ऋण २ लाख रुपैया अपुग भने नभएको जिकिर गरे । ‘दुई लाख अपुग भएको छैन, अहिले पनि १० हजार नपाएर सानो चिया वा घुम्ती पसल गर्न नपाएका मानिसहरु छन्’–कोषसम्बन्धी सोमबार धरान ५ स्थित बराह वचत तथा ऋण सहकारी संस्थामा आयोजित अन्र्तक्रिया दंगालले भने–‘तरपनि, ऋण लिएका व्यक्ति, सहकारीहरु सबैको सुझावअनुसार ऋण प्रवाह ५ लाख बनाउने बोर्डमा निर्णय भइसकको छ, नियमावली संशोधन भएपछि लागु हुन्छ ।’
उनका अनुसार कोषको नियमावलीमै न्युनतम ५० हजारदेखि अधिकतम २ लाखको दरले मात्र ऋण दिने भनिएकोले संधोशन गरेपछि मात्र निर्णय कार्यान्वयन आउनेछ । योसँगै प्रत्येक सहकारीलाई पनि कोषले १ करोड रुपैया उपलब्ध गराउने निर्णय भएको उपाध्यक्ष दंगालले प्रष्ट्याए । कोषले विभिन्न सहकारी संस्थामार्फत युवा तथा साना व्यावसायीहरुलाई ऋण उपलब्ध गराउछ । कोषले शुरुवातमा सहकारीहरुलाई ५० लाख र हाल ७५ लाख उपलब्ध गराइरहेको छ ।
अन्र्तक्रियामा पोखिएको गुनासोहरुको जवाफ दिने क्रममा कोषका उपाध्यक्ष दंगालले हालसम्म ३० हजार व्यक्तिलाई स्वरोजगार बनाए पनि त्यो संख्या सन्तुष्ट नभएको धारणा राखे । ‘यो संख्या त ६ महिनामा नै पुग्नुपथ्र्यो, हाम्रो कार्यालय व्यवस्थित छैन, कर्मचारी पनि छैन । राम्रो उद्देश्यले संस्था बन्यो तर ऐन, नियम, नियमावली, संस्थागत संरचना बन्नै नपाई काम शुरु भइहाल्यो’–उनले भने–‘सबै कुरा मिलाउदै गइरहेका छौं, अहिले ०६७ र ०७१ सालकै काम भइरहेको छ, नयाँ फ्रेस काम गर्नै पाएका छैनौं ।’ २०६५ सालमा स्थापना भएको कोषले हालसम्म ३ अर्ब ७९ करोड ऋण प्रवाह गरेको तथ्यांक छ भने पछिल्लो ६ महिनाको अवधिमा नै २ अर्ब २० करोडको लगानी गर्ने आधार तय भएको पनि उपाध्यक्ष दंगालले बताए ।
अन्र्तक्रियामा सहभागी अधिकतर सहकारी सञ्चालकहरुले पनि ऋण लगानीको मात्रा बढाएर न्युनतम ५ लाखदेखि १० लाख पु¥याउन माग गरेका थिए । वराह सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माले २ लाख रुपैया थोरै रकम भएको र ऋण लिएकाहरुलाई व्यापार व्यावसाय गर्न समस्या भइरहेको बताए । ‘ऋण लिएका व्यक्तिहरुको व्यावसाय अनुगमनमा जादा रकम थोरै भएर व्यावसाय सञ्चालनमा नै धेरै समस्या भोग्नुपरिरहेको पाएका छौं, यसतर्पm पनि कोषले ध्यान दिनुपर्छ’–उनले भने । सुनसरी उद्योग वाणिज्य संघका निवर्तमन अध्यक्ष सरोज श्रेष्ठले कोषलाई स्थायी एवं दीर्घकालीनरुपमा लैजान संस्थागत संरचना र कर्मचारीको व्यवस्था गर्न सुझाव दिएका थिए । अधिकतम १० लाख रुपैयासम्म ऋण पाउने व्यवस्था भएमात्र दिगो व्यावसाय गरेर युवाहरु स्वदेशमा नै जिविकोपार्जन गर्न सक्षम हुने र वैदेशिक रोजगारीमा नजाने वातावरण बन्ने उनको भनाई थियो ।
जिल्ला सहकारी संघका सचिव नरेश इवारमले ब्याजदर घटाउन आग्रह गर्दै लगानी दुरुपयोग हुन नदिनलाई स्थानीयतहसम्म कोष संस्थागतरुपमा वलिया हुन सुझाव दिएका थिए । रामधुनी भासी नगरपालिकास्थित दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष मेघकुमार थापाले सम्झौता भइसकेर पनि धेरै ढिलो गरी रकम निकासा हुदा जनतामा अविश्वास पैदा हुने र समयमा अनुगमन नभईदिदा पुनः दोस्रो चरणको रकम निकासा रोकिएको गुनासो पोखेका थिए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे