शिकार खेल्ने ठाउँमा पर्यटकको ताती



धरान । धरानको जिरोप्वाइन्टबाट ४ किलोमिटर उत्तरमा अवस्थित छ, शिखरबास । कोशी राजमार्गको धरान–भेडेटार सडकखण्डमा पर्ने निसानेबाट मात्र १७ सय मिटरको दुरी । धरानबाट पैदल जादा पनि डेढ घण्टामै पुगिने ।
साविक पाँचकन्या गाविस ९ मा पर्ने शिखरबास धरान उपमहानगरमा गाभिएपछि वडा नम्बर २० मा पर्छ । धरान बजारसँग नजिक भएर पनि यहाँका बासिन्दाहरु लामो समयसम्म भारी बाकेरै कृर्षि उत्पादन बजार(धरान) लैजान्थे । स्थानीय महिला नेमसरी राईलाई त कल्पनासम्म थिएन, कुनै दिन आफ्नो गाउँघरमा डुल्न र रमाउन अपरिचित पाहुनाहरु आइपुग्छ भन्ने । उहिल्यै सिकार खेल्ने त्यही ठाउँमा अचेल भने कहाँ कहाँका मानिसहरु घुम्दै आइपुग्छन् । डाँडामा उभिएर तस्बिर खिच्छन् र धरानलाई अघाउञ्जेल हेर्छन् । ‘धेरै तिरका मान्छेहरु आउनुहुन्छ । यही बसेर खान्छन्, रमाउछन्’–नेमसरीले भनिन्–‘बारीमा फलेको तरकारीहरु किनेर पनि लैजान्छन् ।’ उनको घरमा तोम्बा, कोदोको रक्सी, मिठो चटपटेसँगै अर्डरअनुसार खाना पनि पाइन्छ ।
धरानसँगै तराईका विभिन्न जिल्ला र हिमश्रृंखलासमेतलाई नियाल्न सकिने शिखरबासमा पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहेर पनि ओझेलमा रह्यो । तर, गाउँका युवाहरुको प्रयासमा ८ बर्ष लगाएर बाटोको ट्रयाक खुलेपछि भने स्थानीयले यातायातको सुविधा मात्र पाएनन्, शिखरबास पर्यटकहरुको आकर्षक गन्तव्य पनि बन्दै गइरहेको छ । ‘ट्रयाक खोलेपछि धेरै नै मान्छेहरु आउन थालेका छन्, यहाँबाट धरान, तराईको जिल्ला, कोशी ब्यारेज र मौषम खुलेको बेला मकालु, सगरमाथा, कञ्चनजंगा पनि देख्न सकिन्छ’–स्थानीय एवं सडक निर्माण उपभोक्ता समितिका सल्लाहकार अमर राईले भने–‘हामी पनि पुर्वाधार विकास गरेर शिखरबासलाई पर्यटकीय गन्तव्य बनाउन जुटेका छौं ।’
उपभोक्ता समिति गठन गरेर स्थानीयले ०६५ सालदेखि कोशी राजमार्गमा पर्ने निसानेबाट ट्रयाक खोल्न शुरु गरेका थिए । निसाने, डुम्रे, शिखरबास हुदै यो ट्रयाक ०७२ सालमा पुनः कोशी राजमार्गको छोटीमोरङमा जोडियो । यो सडकको कुल दुरी ३ हजार ४ सय २१ मिटर छ । स्थानीयका अनुसार ट्रयाक खुलेपछि करिब २ बर्षदेखि बर्षायामबाहेक अन्य मौषममा नियमितजसो आन्तरिक पर्यटकहरु खिशरबास पुग्ने गर्छन् । यो बर्षको वडा दशैंलाई विदाई गर्न धराने हाईकर्सको टिम शनिबार(पुर्णिमा)को दिन नवौं हप्ताको पदयात्रा गर्दै शिखरबास पुगेको थियो । कोशी राजमार्ग निर्माण हुनुपुर्व धनकुटा, तेह्रथुम, ताप्लेजुङका बासिन्दाहरु धरान आउजाउ गर्न शिखरबास हुदै गोरेटो बाटो प्रयोग गर्ने गर्थे ।
समुन्द्री सतहबाट १ हजार ४५ मिटर उचाईमा छ शिखरबास । यहाँको मौषम पनि सितल र राम्रो छ । डुम्रे शिखरबास क्षेत्रमा राई जातिको मात्र ३५ घरधुरी छ । यहाँका अधिकांश बासिन्दाहरु अदुवा, बेसार, स्कुशलगायत खेती गर्छन् । बोलीचालीमा शिखरबास भनिए पनि यो ठाउँको खास नाम शिकारबास हो । सडक निर्माण उपभोक्ता समितिका सचिव श्याम राईका अनुसार त्रेता युगमा राम र लक्ष्मण शिकार खेल्दै यो ठाउँसम्म आइपुगेका थिए । दुवैले शिकार खेलेर बास बसेका हुनाले यो ठाउँलाई शिकारबास भनिएको हो । स्थानीयका अनुसार घना जंगल भएकोे मानिसहरु पछिसम्म पनि यो ठाउँमा शिकार खेल्न आउने र बास गर्ने गर्थे । बाटो मुख्य समस्या भएकोले स्तरोन्नति गर्ने र गुरुयोजना बनाएर पर्यटन विकास गर्ने सचिव राईले खुलाए । ‘बाटोको स्तरोन्नति गर्नुपर्छ । मास्टर प्लानअघिको प्राविधिक अध्ययन कन्ट्रो म्याप बनाएको छुँ, निकट भविष्यमै पर्यटकीय पुर्वाधार निर्माणको काम थालिन्छ’–उनले भने–‘प्याकेजमा भ्यु टावर, सुविधासम्पन्न लज, सेमिनार हल, पिकनिक स्पट निर्माण हुन्छ ।’ पर्यटन सम्बद्ध संघसंस्थाहरुसँग सहकार्यको प्रयास भइरहे पनि उनी आगामी बर्षदेखि व्यक्तिगत खर्चमै भएपनि पुर्वाधार निर्माण गर्न तम्सिएका छन् । गाउँमा गोर्खा वेल्फेयर स्किम(जिडब्लुएस)बाट अबको ६ महिनामा खानेपानी योजना शुरु हुदैछ भने गाउँलेहरु बाटो ग्राभेल गर्न कस्सिएका छन् । उनी आफ्नै खर्चमा भएपनि आगामी बर्ष पिकनिक स्पट बनाउने योजनामा छन् ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे