विमल गुरुङ स्मृति कविता महोत्सवको पुरस्कार वृद्धि

धरान । कवि विमल गुरुङ स्मृति पुस्तकालय स्थापनाको २६ औं बर्ष तथा कविको ४५ औं जन्मजयन्तीको अवसरमा आगामी मंसिर अन्तिम साता दुई दिने कविता महोत्सव हुने भएको छ । पुस्तकालयले बिहिबार दशैं शुभकामना तथा पत्रकार सम्मेलन गरेर मंसिर २४ र २५ गते दुई दिने कविता महोत्सव आयोजना गर्ने जानकारी दिएको हो ।
विगतका बर्षहरुमा कवि विमलको जन्मदिन कर्तिक १९ गते कार्यक्रम हुने गरेपनि यो बर्ष तिहार चाड परेकोले एक महिना पछि सारिएको पुस्तकालयले जनाएको छ । गत बर्ष पुस्तकालय स्थापनाको रतज जयन्ती मनाउने तयारी गरिरहदा कवि गुरुङकी आमा सरस्वतीको देहान्त भएपछि कुनै पनि कार्यक्रम हुन सकेन । रजत जयन्ती मनाउन नपाएपनि यो बर्ष भव्यरुपमा २ दिने महोत्सव गर्ने निर्णय भएको पुस्तकालयका सचिव चेवन राईले जानकारी दिए । ‘पहिलो दिन साहित्यिक विमर्श हुनेछ, दोस्रो दिनमा प्रतियोगितात्मक कविता महोत्सव हुन्छ’–सचिव राईले भने ।
पहिलो दिन ‘समकालीन नेपाली कवितामा साँस्कृतिक चेत’ बिषयमा विमर्श हुनेछ । विमर्शमा एक जना प्रमुख वक्ता हुनेछन् भने सहभागीहरुसँग अन्र्तक्रिया गरिनेछ । दोस्रो दिन प्रतियोगितात्मक कविता महोत्सव हुने पुस्तकालयले जनाएको छ । यो बर्ष विजेता प्रतियोगीहरुलाई पुरस्कार राशी पनि वृद्धि गरेको पुस्तकालयले जनाएको छ । पहिलो हुनेले नगद २० हजार, दोस्रोले नगद १५ हजार र तेस्रोले नगद १० हजार पाउनेछ । यस्तै, ताम्रपत्रसहित एक व्यक्तित्वलाई अभिनन्दन र २ जनालाई सम्मान गरिने पुस्तकालयका संस्थापक एवं अध्यक्ष पुर्णबहादुर गुरुङले बताए ।
कविता प्रतियोगितामा हातले लेखेको नभई कविता कम्प्युटर प्रिन्ट वा इमेल गरेको हुनुपर्ने आयोजकले प्रष्ट्याएको छ । साथै, प्रकाशित भएको कवितालाई स्वीकार गरिए पनि पुरस्कृत भइसकेको कवितालाई भने समावेश नगरिने पनि पुस्तकालयले प्रष्ट पारेको छ । ‘हस्त लिखित कविता पठाउदा कतिको अक्षर बुझ्नै गाह्रो भएकोले स्वीकार नगरिने भनिएको हो, मंसिर १५ भित्रमा आएको कविताहरु मात्र स्वीकार गरिन्छ’–सचिव राईले भने । देश विदेश जहीबाट पनि पठाएको कविता सहभागी हुन सक्ने उनले बताए ।
कुल प्राप्त भएको कविताहरुमध्येबाट उत्कृष्ट १५ छनौट गरिने र महोत्सवको दोस्रो दिन वाचन गरेर विजेता ३ कविता घोषणा गरिने आयोजकको भनाई छ । महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा चितवनका कवि मुकुन्द खलपात्र र कवि सन्तोष थेवेले कविता सुनाएका थिए ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे