बीपीमा स्पोन्सर कोटाको भर्ना रद्द, भिसिलाई कारबाही गर्न मन्त्रीपरिषदमा प्रस्ताव लैजाने निर्णय


धरान । स्वास्थ्य मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पोष्ट ग्रयाजुएट(एमडि/एमएस) तहको स्पोन्सर कोटामा अपारदर्शीरुपमा भर्ना भएका तीन जना चिकित्सकहरुको भर्ना रद्द गर्ने निर्णय गरेको छ । सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र छात्रवृत्ति प्राप्त बिशेषज्ञ चिकित्सक कार्यविधि २०७२ अनुसरण एवं नियमित प्रक्रिया पुरा नगरेको तथा प्रवेश परीक्षाको योग्यता पालना नगरी अपारदर्शीरुपमा भर्ना भएको भन्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
यसका साथै स्पोन्सर कोटा अनियमितता प्रकरणमा संलग्न प्रतिष्ठानका उपकुलपति डा.बलभद्रप्रसाद दासलाई थप कारबाहीको लागि स्पष्टीकरण सोध्न मन्त्रीपरिषदमा प्रस्ताव लैजाने निर्णय पनि मन्त्रालयले गरेको छ । स्वास्थ्यमन्त्री गगन थापाले आधिकारिक फेसबुक पेज मिनिस्टर अफ हेल्थ, नेपाल र ट्विटरमार्फत भर्ना रद्द गर्ने र स्पष्टीकरण सोध्नेबारे मन्त्रीस्तरीय निर्णय भएको सार्वजनिक गरेका हुन् । ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमडि÷एमएस तहमा नेपाल सरकारले जारी गरेको सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र छात्रवृत्ति प्राप्त बिशेषज्ञ चिकित्सक कार्यविधि २०७२ अनुसरण एवं नियमित प्रक्रिया पुरा नगरी, प्रवेश परीक्षाको योग्यता पालना नगरी अपारदर्शीरुपमा भर्ना भएका तीन जनालाई भर्ना प्रक्रियामा समावेश नर्ग मन्त्रीस्तरबाट निर्णय भएको छ’–स्वास्थ्यमन्त्री थापाको मिनिस्टर अफ हेल्थमा भनिएको छ–‘साथै यस प्रकरणमा संलग्न प्रतिष्ठानका उपकुलपतिलाई स्पष्टीकरण सोध्न मन्त्रीपरिषदमा प्रस्ताव लाने निर्णय पनि गरिएको छ ।’
प्रतिष्ठानका उपकुलपति डा.दासले पनि भर्ना भएका तीन जना चिकित्सकको हकमा मन्त्रालयले भर्ना रद्द गर्न पत्र पठाएको पुष्टि गरे । तर, उनले यो बिषयमा थप केही बताउन चाहेनन् । ‘मन्त्रालयले एडमिसन क्यान्सल गरेको पत्र पठाएको छ’–उनले यतिमात्र भने । स्पष्टीकरणको बिषयमा उनी बोल्नै चाहेनन् । मन्त्रीस्तरीय निर्णयबारे प्रतिक्रिया लिन खोज्दा मन्त्रालयका प्रवक्ता एवं योजना महाशाखा प्रमुख भोगेन्द्र डोटेल बैठकमा भएकोले कुराकानी हुन पाएन । प्रतिष्ठानमा पदाधिकारीले आर्थिक चलखेलमा परेर प्रक्रिया मिचेर स्पोन्सर कोटामा सिधै भर्ना लिएको उजुरी परेपछि स्वास्थ्यमन्त्री थापाले चिकित्सा सेवा महाशाखा प्रमुख डा.दीपेन्द्ररमण सिंहको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको थियो । उक्त समितिले प्रतिष्ठानले स्पोन्सर कोटामा मनपरी तरिकाले भर्ना लिएको पुष्टि गरेको थियो । स्रोतका अनुसार छानबिन समितिले कार्यविधि मिचेर अपरदर्शीरुपमा भर्ना गरेको प्रतिवेदन दिएपछि मन्त्रालयले प्रतिष्ठानका उपकुलपतिलाई स्पष्टीकरण सोधेको थियो । उपकुलपतिको स्पष्टीकरण जवाफ चित्तबुझ्दो नभएपछि स्वास्थ्यमन्त्री थापाले तीन जनाको भर्ना रद्द गर्ने र उपकुलपतिलाई थप कारबाही गर्न मन्त्रीपरिषदमा स्पष्टीकरण सोध्न प्रस्ताव लैजाने निर्णय गरेका हुन् ।
 ‘मन्त्रीपरिषदमा स्पष्टीकरण सोध्न प्रस्ताव लैजाने भनेको कारबाहीको लागि लाने हो’–स्रोतले भन्यो–‘तर, बीपीमा स्पोन्सर कोटा भर्ना गर्ने निर्णय त कार्यकारिणी समितिले गरेको थियो, अरुलाई जोगाएर भि.सि.लाई मात्र कारबाही गर्दा त अन्याय हुन्छ ।’ प्रतिष्ठानको कार्यकारीणी समितिमा उपकुलपति दास, शिक्षाध्यक्ष बिक्रम श्रेष्ठ, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, अस्पताल निर्देशक डा. अरविन्दकुमार सिन्हा, अर्थोपेडिक विभागका विभागीय प्रमुख डा. गुरु खनाल र कम्युनिटी मेडिसिनका विभागीय प्रमुख डा. लिलाम्बर झा छन् । पदाधिकारीहरु भने सिनेट बैठकको म्याण्डेट अनुसार नै कुल सिटसंख्याको १० प्रतिशत सिट स्पोन्सर कोटा छुट्याएर भर्ना लिने निर्णय गरेको दाबी गर्छन् ।
प्रतिष्ठानले नाक,कान,घाँटी विषयमा डा.मनिषा पनेरु, पेडियाट्रिक विषयमा डा.आरती आनन्द र सर्जरी बिषयमा डा. प्रज्वलसिंह कुँवरलाई स्पोन्सर कोटामा भर्ना लिएपछि विवाद शुरु भएको थियो । परीक्षा समितिले प्रकाशित गरेको रिजल्टमा यी तिनै जनाको नाम छैन भने भर्ना अघिको काउन्सेलिङ लिष्टमा पनि उनीहरुको नामावली प्रकाशित गरिएको छैन । तर, उपकुलपति दासको एकल तोकआदेशको भरमा तीन जनालाई प्रतिष्ठानले भर्ना गरेको थियो । उनीहरुले भर्ना पाएपछि परीक्षा समितिमा तीब्र असन्तुष्टी छाएको थियो भने सम्बन्धित विभागले तीनै जनालाई नियमित पढाईबाट बञ्चित गराएको थियो । स्पोन्सर कोटाका तीनमध्ये २ जनालाई बीपी क्यान्सर अस्पताल भरतपुर र एकजनालाई भक्तपुर क्यान्सर अस्पतालले स्पोन्सरको लागि सिफारिश पत्र पठाएको थियो । स्पोन्सर कोटामा भर्ना भएकी मनिष पनेरु अर्थमन्त्रलयको उपसचिव केदार पनेरुको छोरी भएको र तीन मध्ये एक जना अख्तियारको आयुक्तका आफन्त पनि भएकोले प्रतिष्ठानले भर्ना दिएको स्रोतको भनाई छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे