पर्यटन विकासमा संगीतिक कार्यक्रमको सहारा


धरान । मोरङको उत्तरी भेगमा अवस्थित याङसिला गाविसलाई पर्यटकीय केन्द्र बनाउन सांगीतिक कार्यक्रमको मद्दत लिएर स्थानीयबासीहरु प्रचारप्रसारमा जुटेका छन् । प्राकृतिक एवं जैविक विविधताले धनी भएर पनि सबै क्षेत्रबाट ओझेलमा परेको भन्दै याङसिलाबासीहरु आफ्नो ठाउँको प्रचारप्रसार र विकासमा गीत,संगीतको माध्यमबाट अघि बढेका हुन् ।
स्थानीय याङसिला साँस्कृतिक समूहको नेतृत्वमा यही कार्तिक ६ गते याङसिला ८ स्थित सावित्री माविको प्रङ्गणमा तेस्रो रिमिक्स धमाका कार्यक्रम हुदैछ । चर्चित कलाकरहरुको प्रस्तुती रहने कार्यक्रमको उद्देश्य मनोरञ्जन दिलाउनु मात्र होइन, गाविसको पर्यटकीय सम्भावना बोकेका ठाउँहरुको प्रचारप्रसार गर्नुपनि हो । ‘याङसिलामा पुग्नैपर्ने, हेर्नेपर्ने थुप्रै ठाउँहरु छन्, तर राज्य र मिडियाको आँखामा नपर्दा ओझेलमा छ’–कार्यक्रम संयोजक दोर्पध्वज राईले बुधबार पत्रकार सम्मेलनमा भने–‘कार्यक्रमले मनोरञ्जन गराउनु त छदैछ, सँगसँगै ती सम्भावना बोकेको जैविक विविधता र प्राकृतिक सुन्दरताको ठाउँहरुबारे सबैलाई जानकारी गराउनु,प्रचारप्रसार गराउनु पनि हो ।’
शनिबार हुने कार्यक्रममा तक्मे बुढाको नामले ख्याति कमाएका चर्चित कलाकार विल्सन बिक्रम राई मुख्य आकर्षण हुनेछन् । यस्तै युवा गायिका मेलिना राई, गायक तथा संगीतकार विनोद खम्बु, राकेश किराती, डल्फिन स्टार, गरिमा डान्स सेन्टरसँगै स्थानीय कलाकारहरुले पनि मनोरञ्जन दिलाउनेछन् । ‘टिभि र रेडियोमा मात्र सुन्दै, देख्दै आएका राष्ट्रियस्तरका कलाकारहरुलाई आफ्नै गाउँमा प्रत्यक्ष देख्न पाउनु ठुलो अवसर हुन्छ’–आयोजक संख्याका अध्यक्ष प्रमिस राईले भने–‘त्यो भन्दा पनि हाम्रो गाविसलाई देशविदेशमा परिचित गराउनु, पर्यटकीय ठाउँहरु बारे जानकारी गराएर पर्यटन प्रर्वद्धन गर्नु मुख्य ध्येय हो ।’
आयोजकका अनुसार कार्यक्रमसँगै उपस्थितहरुलाई गाविसको बिशेषता र पर्यटकीय सम्भावना बोकेका ठाउँहरुबारे जानकारी दिइनेछ । साथै, कार्यक्रम सकेपछि धराने हाइकर्स समुह र पत्रकारहरुलाई चिउरी भञ्ज्याङसम्म हाइकिङ लैजाने योजना रहेको पनि आयोजकले जनाएको छ । भौगोलिकरुपमा याङसिला गाविसमा २ सय ५० मिटर उचाईको कालापानी क्षेत्रदेखि १ हजार ८ सय मिटरको उचाईको जगरे डाडाँ पनि छ । भौगोलिकरुपमा धानफल्ने खेतदेखि राष्ट्रिय फुल लालीगुरास पनि यही फुल्छ । विविध जातको वनस्पतिहरु एउटै गाविसमा अत्यधिक पाइने यो नेपालकै नमुना गाविस भएको स्थानीयको दाबी छ । गाविसको उत्तरी भेगमा रहेको टाकुरे डाँडा, दुम्सेढुंगा, जगरेडाँडा, तोपथुम्का, याङसिला र बाह्रै महिना चिसो, हुस्सु र वादलले लुकामारी खेल्ने चिउरी भञ्ज्याङ पर्यटकीय गन्तव्य बन्ने सम्भावना भएको ठाउँ हो । तराईलाई नियाल्न सकिने, प्राकृतिक सुन्दरता र सितलता यी ठाउँहरुको बिशेषता हो भने साइक्लिङ र हाइकिङको प्रचर सम्भावना भएको क्षेत्र पनि हो ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे