सेवा केन्द्रको आडमा परिवार भाडेको आरोप

धरान । जनता र प्रहरीबीचको दुरी घटाउने उद्देश्यले तीन बर्षअघि गठन गरिएको सामुदायिक प्रहरी सेवा केन्द्रको आडमा केही महिलाहरुले सम्बन्ध विच्छेद र अंश मुद्दामा साक्षी बसेर परिवार भाडेको आरोप लागेको छ । सेवा केन्द्रका पदाधिकारीहरुले आफ्नो कार्यक्षेत्र नाघेर लोग्ने–स्वास्नीको झगडालाई उचाल्ने, सम्बन्ध बिच्छेदको मुद्दा हाल्न लगाउने तथा परिवारका सदस्यहरुलाई भड्काएर अंश मुद्दा हाल्न लगाउने गरेको आरोप लागेको हो ।
धरान १५ का अमर गुरुङ, राजकुमार श्रेष्ठ र धरान ८ का राजेश श्रेष्ठले शनिबार संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै केन्द्रकी कोषाध्यक्ष तारा शाक्यको नेतृत्वमा महिलाहरुको गिरोह(टिम) नै सम्बन्ध विच्छेद र अंश मुद्दा हाल्न लगाउने र त्यसमा साक्षी बस्ने गरेको खुलासा गरेको हो । त्यसमा केन्द्रकी सदस्य विद्या देवान पनि मुछिएकी छिन् । यस्तै, शाक्यलाई विमला श्रेष्ठ, कविता श्रेष्ठ, सुमित्रा देवान, सृर्जना खवास, चन्द्र तामाङलगायतले पनि साक्षी बसिदिन सघाउने गरेको पनि आरोप लागेको छ ।
समाजसेवा गर्ने बहानामा केन्द्रको पदाधिकारी भएपछि प्रहरी–प्रशासनसँगको निकट सम्बन्ध र कानुनी ज्ञानको दुरुपयोग गर्दै शाक्यको नेतृत्वमा यी महिलाहरुले परिवार भाडेको पत्रकार सम्मेलनमा उपस्थित तिनै जनाले दाबी गरे । ‘समाजसेवी भनेर हिडेपछि उनीहरुको काम अरुको बिग्रनै लागेको भए पनि घरपरिवार मिलाउने हो कि भत्काउने हो ? परिवारमा केही समस्या भएको हो भने पहिला छलफल गराउने कि आफै साक्षी बसेर एकैचोटी डिभोर्सको मुद्दा हाल्न लगाउने हो ?’–ठुलो संख्यामा छरछिमेकसहित उपस्थित अमर गुरुङले भने । उनकी श्रीमति रुक्साना उदास गुरुङले सुनसरी जिल्ला अदालतमा असोज २ गते सम्बन्ध विच्छेदको मुद्दामा फिराद पत्र दिएकी छिन् । तर, श्रीमतिसँग आफ्नो कुनै ठुलो झैझगडा नभएको र तारा शाक्यले मरौंमा इनरुवा जाने भनेर आफुसँगै लगेर अदालतमा मुद्दा हाल्न लगाएको उनले दाबी गरे ।
गएको असोज ६ गते बिहिबारदेखि श्रीमति रुक्सना एक्कासी गायब भएको र शनिबार अदालतको पत्र आएपछि मात्र सम्बन्धविच्छेदको मुद्दा हालेको आफुले थाह पाएको गुरुङले बताए । उनका अनुसार श्रीमति र शाक्यको माइती भोजपुरको एउटै गाउँ भएकोले निनी भन्ने गरेको र घरमा आउजाउ बाक्लै थियो । सात बर्षीय एक छोरीलाईसमेत विचल्ली पारेर श्रीमति हिडेपछि शाक्यलाई फोन सम्पर्क गर्दा थाह नभएको बताएकी थिइन । तर, अदालतको पत्रमा शाक्यसँगै सेवा केन्द्रकी सदस्य विद्या देवान, सृर्जना खवास र चन्द्र तामाङ साक्षी बसेको खुल्यो । अनिमात्र आइतबार शाक्यले इनरुवा मरौंमा नलगेर श्रीमतिलाई मुद्दा हाल्न अदालतमा लिएर गएको खुलेको गुरुङको भनाई छ । ‘मैले बढी किचकिच गरेको, मादक पदार्थ खाएर कुटपिट गरेको आरोप लगाएको रहेछ, त्यो सब झुटो हो । यदि त्यसो गरेकै भएपनि एक पटक मलाईसमेत राखेर छलफल त गराउनु पथ्र्यो नि । थाहै नदिई डिभोर्सको मुद्दा हाल्न लगाउने ?’–गुरुङले भने–‘साक्षीमा बसेको देखेपछि भेट गराइदिनुस भने उल्टै तेरो बुढीको गोठालो हो म, आपैm खोज भने ।’
डिभोर्स गर्ने पक्षमा नभएका गुरुङ श्रीमति भेटेर वास्तविकता बुझ्न चाहन्छन् । उनका अनुसार श्रीमतिले घर छोडेर हिड्दा २ लाख रुपैया, ८ तोला सुन र कारोबारको झण्डै १२ लाख रुपैया लिएर गएकी छिन् । साक्षी बस्नेहरुले त्यही पैसाको लोभमा परेको उनको आरोप छ । गुरुङका छिमेकी सुरेन्द्र पराली राईले घरझगडा कहिल्यै नभएको परिवारमा एक्कासी सम्बन्धविच्छेदको अदालतको पत्र आएपछि सबै अचम्मित भएको बताए । ‘दुवैजनाले मिलेर घरव्यावहार गरेको थियो, हामीले मिलाउनु पर्ने गरि अहिलेसम्म झगडा भएको रेकर्ड छैन’–उनले भने–‘केही भएको भएपनि एकपटक छलफल गराउने कि समाजसेवा गर्छु भन्नेले सिधै मुद्दा हाल्न लगाउने ? प्रहरी कार्यालयमा बसेर पद र शक्तिको दुरुपयोग भइरहेको छ ।’
गुरुङसँगै पत्रकार सम्मेलनमा उपस्थित राजेश श्रेष्ठले पनि तारा शाक्यसहितको महिलाहरुको समुहले मृतक भाईको श्रीमतिसँग मिलिसकेको घर व्यावहारलाई भाडेको आरोप लगाए । उनका अनुसार करिब ८ महिनाअघि भाईको मृत्यु भएपछि बुहारीको माइती पक्षसमेत बसेर ६ लाख रुपैयासहित एउटा घर दिने समझदारी भएको थियो । त्यसवमोजिम घरजग्गा पास गरिदिन वडा र नगरपालिकाबाट सिफारिशसमेत ल्याइसकेको अवस्थामा पुनः एक सातापछि शाक्यसहितको टिमले अंश मुद्दा हाल्न लगाएको उनले बताए । ‘तारा शाक्यको एउटा टिम छ, उनीहरु कहाँ के भइरहेको छ भनेर खोज्ने, घर भाड्ने र मुद्दा हाल्न आफै साक्षी बस्ने रहेछन्’–उनले भने–‘यो टिमबाट हामी जस्ता पीडित अरु पनि थुप्रै छन्, उनीहरुले पनि विस्तारै मुख खोल्लान् ।’ महिलाको मुद्दामा कानुन वलियो भएकोले केस जितेपछि पैसा लिने गरेको उनीहरुको आरोप छ ।
यस्तै, धरान १५ कै राजकुमार श्रेष्ठले आफ्नो भाईसँग ०५५ सालमा भोजपुरमा नै अंशवण्डा भइसकेको भएपनि तारा शाक्यको उक्साहटमा लागेर बुहारीले आफुविरुद्ध अंशमुद्दा दिएको बताए । मुद्दामा जेठाजुबाट शारिरीक यातना पाएको, खान लाउन नदिएको जस्ता झुटो आरोप लेखिएको उनले बताए । ‘हामीबीचमा ५५ सालमा नै अंशवण्डा भइसकेको थियो, मैले प्रमाणसहित अदालतमा बुझाइसकेको छु । तर, अंश भएकै छैन, भाईले कमाएको पनि दाइले खाएको भन्दै मुद्दा हालेको रहेछ’–उनले भने–‘भाई विदेशमा छ, तारा शाक्य र उसको गिरोहले उकासेर मुद्दा हालेको हो ।’ अदालतको फिराद पत्रमा साक्षीको रुपमा तारा शाक्य, विमला श्रेष्ठ, कविता श्रेष्ठ, सुमित्रा देवान साक्षी बसेका छन् ।
जनता र प्रहरीबीच दुरी कम गर्ने र विकृति, विसंगतिविरुद्ध जनचेतना जगाउने भन्दै सेवा केन्द्र ०७० सालमा धरानमा गठन गरिएको थियो । धरान १८ स्थित इलाका प्रहरी कार्यालय परिसरभित्र नै केन्द्रको कार्यालय रहेको छ । केन्द्रका पदाधिकारीहरुले मिलापत्र गराउने, अंश र सम्बन्ध विच्छेदका मुद्दामा साक्षी बसिदिनेलगायत आफ्नो कार्य क्षेत्र बाहिर गएर काम गरेको भन्दै आलोचना पनि भइरहेको छ । आरोपित केन्द्रकी कोषाध्यक्ष शाक्यले भने डिभोर्स गर्ने र अंश मुद्दा हाल्ने अधिकार महिलालाई भएको दाबी गर्दै अन्यायमा परेकोले साक्षी बसेको बताइन् । आक्रोशित हुदै उनले आफ्नो मानहानी भएकोले त्यसविरुद्ध मुद्दा हाल्ने पनि चेतावनी दिइन् । केन्द्रका सहसचिव मुरारी भट्टराईले प्रहरीमा जनताको पहुँच नपुग्दा केन्द्रले पुलको काम गरिदिने भएपनि साक्षी बसिदिने काम नभएको बताए । ‘घरेलु हिंसा, लागुऔषध जस्ता विकृति, विसंगतिविरुद्ध जनचेतनामुलक काम गर्ने अनि जनता र प्रहरीबीच पुलको काम गर्ने उद्देश्य हो । अंश मुद्दा, सम्बन्ध विच्छेदको मुद्दामा हामी साक्षी बस्दैनौं’–उनले भने ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे