मण्डलाको नाट्य यात्रा सकियो,डिग्री माइला मञ्चन

धरान । अभिनेता तथा रंगकर्मी दयाहाङ राईको निर्देशन रहेको चर्चित नाटक डिग्री माइला मञ्चन गर्दै मण्डला थिएटरको पुर्वाञ्चल नाट्य यात्रा २०७३ सकिएको छ ।
धरान ८ स्थित सभागृहमा शनिबार दुई शो मञ्चन गर्दै मण्डलाले आफ्नो पुर्वाञ्चल नाट्य यात्रा औपाचारिकरुपमा समापन गरेको हो । मोफसलमा पनि रंगमञ्चीय गतिविधिलाई प्रर्वद्धन एवं जगाउने उद्देश्यले मण्डलाले कार्तिक ४ गतेदेखि नाट्या यात्रा थालेको थियो । मोवाइल थिएटर(जुनकिरी)मा मनचिन्ते फिरन्ते नाटक मञ्चन गर्दै मण्डलाले धरानबाट यात्राको शुरुवात गरेको थियो । मनचिन्ते फिरन्ते निःशुल्क मञ्चन गरेपनि डिग्री माइला टिकट शो भएको थियो । राजन खतिवडाको निर्देशन रहेको मनचिन्ते फिरन्तेलाई मण्डलाले खुल्लारुपमा मञ्चन गरेको थियो ।
शनिबार दुई शो मञ्चन भएको डिग्री माइला राजन खतिवडाले लेखेका हुन् । नाटकमा दयाहाङ, सृर्जना सुब्बा, सोमनाथ खनाल, बुद्धि तामाङ, उमेश तामाङ, सारदशा अधिकारी, निशा कार्की, इँगि होपो कोइँच सुनुवार, नाजिर हुसैन, प्रदिपकुमार चौधरी, विकास जोशी, उमेश तामाङ, निमिश कटेल, रोहित पौडेल, सिजन दाहाललगायतको अभिनय रहेको थियो । यस्तै, दिपक श्रेष्ठ, आधा सुर र सुसान राउतले संगीत दिएका थिए । राजधानीबाहिर मोफसलमा पनि रंगमञ्चको सँस्कार बसाउने उद्देश्यका साथ मण्डालले नाट्य यात्रा गरेको कलाकार इँगि होपो कोइँच सुनुवारले बताए । ‘मोफसलमा पनि थिएटरको महौल बनाउने उद्देश्य हो । राजधानीमा मात्रै केन्द्रीत थिएटरको गतिविधिलाई मोफसलमा पनि हुनुपर्छ भनेर हो । भविष्यमा पनि निरन्तरता दिन्छौं’–उनले भने ।
धरानमा स्थानीयस्तरमा व्यवस्थापन गरेको थिएटर सहाराका अध्यक्ष दिवेश राई पनि मण्डलाको नाट्य यात्राले पुर्वमा रंगमञ्चीय जागरण ल्याउने बताउछन् । लामो समयपछि धरानमा रंगमञ्चीय गतिविधिहरु हुन थालेको बेला मण्डालको यात्राले उर्जा थपिएको उनको भनाई छ । ‘हामी जाग्ने प्रयासमा छौं, मण्डलाको यात्राले उर्जा थपेको छ । नाटकीय गतिविधिलाई व्यावसायिकरण गर्नुपर्छ भन्ने पाठ पनि दियो’–उनले भने । दयाहाङ राईले निर्देशन गरेको नाटक डिग्री माईला दमक, बेलबारी, इटहरी, विराटनगर हुदै धरानमा मञ्चन भएर नाट्य यात्रा टुंगिएको हो ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे