मण्डला थिएटरको पुर्वाञ्चल यात्रा, धरानमा मनचिन्ते फिरेन्ते मञ्चन

धरान । हिउदको मौसम शुरु हुनै लागेको हुन्छ । अन्नको कमीले भोकभोकै मर्न लागेपछि मुसा समुदायमा खैलाबैला मच्चिन्छ । मुखियाले अनिकाल रोक्न नसक्ने लाचारी प्रकट गर्छन् । एउटी मुसा(कलाकार सिर्जना सुब्बा जसलाई अरु मुसाले दिदी भन्छन्)ले अनिकाल रोक्न नसक्ने भए मुखिया पद छोडिदिन चुनौती दिन्छिन्, र घोषणा गर्छिन्,–‘यो हिउँदमा सबैभन्दा धेरै जसले अन्न थुपार्न सक्छ उही मुखिया बन्ने ।’
मुखियासहितका मुसाहरु हिउँदभरिलाई अन्न जोहो गर्नलाग्दा पनि मनचिन्ते नाम गरेको एउटा मुसा भने फिरन्ते भई आफ्नै दुनियामा रमाउछ । उसलाई न हिउद आउन लागेकोसँग मतलब छ, न अनिकाल लाग्छ भन्नेमा कुनै चिन्ता । ‘खानेकुराले मात्र जीवन चल्दैन, खान मात्र ठुलो कुरा होइन’–मनचिन्ते भन्छन्–‘खानेकुरा मात्र खोज्न थाल्दा जीवनको अन्य रंगविहिन हुन्छौं ।’ तर, अरुले उसको कुरा बुझ्दैन, खिल्लि उडाउदै अरु मुसा अन्न जोहो गर्नतिर लाग्छन् ।
हिउदको लागि सबै मुसाहरु अन्न जोहो गरिरहदा मनचिन्ते भने गीतार बजाउदै नौलो धुनहरुको जोहो गर्छ । अरु मुसाले होच्याउदै डुकु नामले उनलाई तेरो पेट छैन ? भन्दा ऊ घाम डुब्नै लागेकोले रंगहरुको जोहो गरिरहेको बताउछ । मुखियाले भविष्यमा के गर्छस ? भनेस सोध्दा फिरन्ते भन्छ,–‘भविष्यको चिन्ता होइन, वर्तमानमा बाच्नुपर्छ मुखिया बा ।’ अनि ऊ शब्दको जोहो गर्न तिर लाग्छ । अरु मुसाले अन्न जोहो गरिसक्दा फिरन्तेले पनि घामको किरण, धुन, रंग र शब्दको जोहो गर्छ ।
हिउद शुरु हुन्छ । सबैले जोहो गरेको अन्न पनि खाएर सक्छन् । मुसाहरुमा पुनः हाहाकार मच्चिन्छ । तब मनचिन्ते आउछन्, र आफुले जोहो गरेको धुन, रंग, शब्दहरुले सबैलाई भुलाउछन्, खुशी दिन्छन् । अन्तमा मनचिन्तेलाई ज्ञानी, बुद्धिमानी ठान्दै मुखिया बनाउने घोषणासँगै नाटक मनचिन्ते फिरन्ते सकिन्छ । बुधबार साँझ धरानको भानुचौकमा मनचिन्ते फिरन्ते मञ्चन गर्दै मण्डला थिएटरले पुर्वाञ्चल नाट्या यात्रा २०७३ शुरु गरेको छ । सडक नाटकबाहेक नाटकहरु बन्द हलभित्र मञ्चन हुने प्रचलनलाई तोड्दै मण्डालले यो नाटक खुल्लारुपमा मञ्चन गरेको थियो । आफैले ल्याएको ट्रकलाई मण्डलाले स्टेजको रुप दिएको थियो । ‘कलात्मक नाटक खुला ठाउँमा पनि देखाउन सकिन्छ भनेर मञ्चन गरेका हौं, प्राविधिकरुपमा केही कठिनाई भयो’–मनचिन्ते फिरन्तेका निर्देशक राजन खतिवडाले नाटकबारे भने–‘जीवन खानलाउन मात्र होइन, मानिसहरु खानलाउन मात्रै सोच्दा मेशिनजस्तै भइसक्यो तर जीवनका अरु थुप्रै रंगहरु हुन्छ, भावना हुन्छ ।’
पुर्वाञ्चलमा नाट्य समुहहरुलाई जगाउने उद्देश्यले पनि यात्रा शुरु गरिएको मण्डलाले जनाएको छ । विप्लक प्रतीक र सोमनाथ खनालको लेखन रहेको यो नाटकमा निर्देशक खतिवडा, सृर्जना सुब्बा, सोमनाथ खनाल, इंगी होपो कोइच सुनुवार, शक्ति राई, सारदा अधिकारी, निशा कार्की र सिजन दाहालको अभिनय छ । धरानबाट शुरु भएको मनचिन्ते फिरन्तेको यात्रा इटहरी, विराटनगर, लेटाङ, बेलबारी र दमकमा पनि मञ्चन हुनेछ । त्यसपछि, दयाहाङ राईले निर्देशन गरेको चर्चित नाटक डिग्री माईलाको कार्तिक ९ गते दमक, १० गते बेलबारी, ११ गते इटहरी, १२ गते विराटनगर र १३ गते धरान सभागृहमा मञ्चन(टिकट शो) भएपछि मण्डलाको नाट्य यात्रा टुंगनेछ ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे