अमर सेवा समाजको बहुउद्देश्यीय भवनको शिलान्यास

धरान । अमर सेवा समाजको सुविधासम्पन्न बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको छ । धरान १३ स्थित समाजको प्रांगणमा सुनसरी क्षेत्र नम्बर १ का सभासद कृष्णकुमार राईले भवनको शिलान्यास गरेका हुन् ।
भवन शिलान्यास गर्दै सभासद राईले देश विकासको लागि नयाँ सँस्कृतिको आवश्यकता भएको धारणा व्यक्त गर्दै जुनसुकै दल र विचारमा आस्था राखेपनि देश र जनताका लागि एक हुनुपर्ने बताए । धरानलाई खेलकुदको उर्वरभूमिका रुपमा विकास गर्न बहुउद्देश्यीय भवनले टेवा पुर्याउने पनि उनले आशा व्यक्त गरे । सोही कार्यक्रममा बोल्दै नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले जनसहभागिताको नुमना शहरको रुपमा स्थापित गर्न उक्त भवनले थप मद्दत पुग्ने बताए । धरानको खेलकूदको विकासमा भवन उपयोगी हुने भन्दै उनले भवन निर्माणका लागि उपमहानगरपालिकाले आउने आर्थिक वर्षमा बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत जनाए ।
कोशी अञ्चल प्रहरी कार्यालय धरानका वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपी) ज्ञान विक्रम शाहले बहुउद्देश्यीय भवन निर्माणले धरानको खेलकूद क्षेत्रको विकासमा सहयोग पुग्ने र युवाहरुलाई लागूपदार्थ दुव्र्यसनीमा फस्नबाट समेत जोगाउने दाबी गरे । उनले समाजको कामले धरानका युवाहरुलाई खेलकूदमा लाग्न प्रेरित गर्ने बताए । बहुउद्देश्यीय भवन निर्माण समितिका अध्यक्ष हरीबहादुर लिम्बूको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका सहसंयोजक भुवन राईले भवन निर्माणको औचित्यका बारेमा प्रष्ट्याएका थिए ।
समाजले करिब ३ महिना अगाडीबाट एउटै भवनमा बास्केटवल, टेवुलटेनिस, ब्याटमिन्टन भलीवल खेलका लागि सुविधासम्पन्न हल निर्माणका गर्ने निर्णयसँगै विभिन्न संघ सस्थाहरु तथा अमरहाटबाट वैदेशिक रोजगारमा विभिन्न मुलुकमा गएका नेपालीहरुबाट समेत आर्थिक सहयोग जुटाउँदै आएको छ ।
करिब १ करोड लागतमा निर्माण हुन लागेको भवनका लागि हाल सम्म करिब ३८ लाख ५८ हजार सहयोग जुटेको भवन निर्माण समितिका सचिव गोपाल श्रेष्ठले जानकारी दिए । शिलान्यास कार्यक्रममा समेत विभिन्न महानुभावहरुले सहयोग हस्तान्तरण गरेका थिए । भवन आउँदो आर्थिक वर्ष ०७२ मसान्त भित्र निर्माण भईसक्ने भवन निर्माण समितिले जनाएको छ । भवनमा इन्डोर खेलकूदका साथै विभिन्न सामाजिक काम विवाह, ब्रतबन्ध, पार्टी, सेमिनार समेत गर्न सकिनेछ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे