दैनिक सवा करोडको सुन्तला निर्यात


धरान । कोशी अञ्चलको पहाडी जिल्लाबाट दैनिक सरदर सवा करोड बराबारको सुन्तला निर्यात भइरहेको छ । व्यापारीहरुका अनुसार पहाडी जिल्लामा सुन्तलाको बगान पनि थपिएकोले यो बर्ष उत्पादन बढी भएको छ ।
सुन्तलाका थोक बिक्रेता चण्डेश्वरी चौधरीका अनुसार अचेल पहाडी क्षेत्रबाट दैनिक २ सय मेट्रिक टन भन्दा बढी सुन्तला आयात भइरहेको छ । ती मध्ये एक सय २० मेट्रिक टनजति मात्रै धरान १३ स्थित कृर्षि उपज बजारस्थलमा आउछ । अरु सिधै विराटनगर, इटहरीका व्यापारीहरुले आयात गर्ने गरेका छन् । ‘यसपाली राम्रो उत्पादन भएको छ, हिजोआज पहाडबाट दैनिक ३० गाडी जति सुन्तला आइरहेको छ’–थोक व्यापारी चौधरीले भने ।
कृर्षि उपज बजारस्थलका अनुसार औसतमा ६० रुपैयामा सुन्तलाको कारोबार भइरहेको छ । यो दरले पनि कोशी पहाडी जिल्लाबाट कृर्षि उपजमा मात्रै दैनिकरुपमा करिब ६६ लाखको सुन्तला आयात भइरहेको छ । त्यति नै मात्रामा विराटनगर, इटहरी क्षेत्रका थोक व्यापारीले पनि सुन्तला आयात गर्ने गरेकोले दैनिक सवा करोडको सुन्तला पहाडी क्षेत्रबाट आइरहेको व्यवस्थापक लक्ष्मण भटराईले बताए । ‘यो बर्ष बगानहरु पनि थपिएकोले हुनसक्छ, गत बर्षभन्दा धेरै आयात भइरहेको छ, यो बर्ष २५ देखि ३० प्रतिशत बढी कारोबार हुने अनुमान गरेका छौं’–उनले भने । बजारस्थलबाट गत बर्ष करिब २९ करोड रुपैया बराबरको ५ हजार ५ सय ६८ मेट्रिक टन सुन्तलाको कारोबार भएको थियो । त्यतिबेला औसत ५२ रुपैयामा थोक मुल्य कायम गरिएको थियो ।
कोशी पहाडी जिल्लामा सबै भन्दा बढी धनकुटा जिल्लाको खोकु, छिन्ताङ र मौना बुधुक क्षेत्रमा सुन्तला उत्पादन हुने गर्छ । त्यसबाहेक भोजपुर, तेह्रथुम र संखुवासभाबाट पनि सुन्तला उत्पादन हुन्छ । ती क्षेत्रमा उत्पादन भएको सुन्तला ६० प्रतिशत धरान र आसपासको क्षेत्रमा खपत हुन्छ भने ४० प्रतिशत इटहरी, विराटनगर, दमक, वितर्मामोड, राजविराज, जनकपुरलगायत क्षेत्रमा खपत हुन्छ । चालिस प्रतिशत मध्ये १० प्रतिशत जति सुन्तला लुकिपिछी भारत पनि निर्यात हुने गरेको छ । कोशी पहाडी जिल्लामा उत्पादन हुने सुन्तला ५० प्रतिशत धनकुटामा उत्पादन हुन्छ । धनकुटाको खोकु सुन्तला उत्पादनमा ख्याती कमाएको क्षेत्र हो । धनकुटामा सबैभन्दा धेरै सुन्तला यही उत्पादन हुन्छ ।
गत कार्तिक महिनादेखि पहाडी जिल्लाबाट सुन्तला आउन थालेको थियो । पुष पहिलो सातासम्म कृर्षि उपज बजारस्थलमा ३ हजार १ सय २० मेट्रिक टन सुन्तला आयात भएको छ । औसत ६० रुपैयाको दरले यहाँबाट १९ करोड बराबरको कारोबार भइसकेको छ । मंसिर र पुष महिना पिक सिजन भएकोले आयात बढी भएको बजारस्थलको भनाई छ ।
उत्पादन गर्ने किसानबाट उपभोक्तासम्म आइपुग्दा चार चरण पार हुन्छ । किसानको बगानमा पुगेर सबैभन्दा पहिला ठेकेदारले बगानै हुण्डीमुण्डीमा खरीद गर्छ । त्यसपछि ठेकेदारले कमिशन एजेन्टमार्फत सुन्तलालाई थोक बजारसम्म पुर्याउछ । त्यहाँबाट थोक व्यापारीले सुन्तला खरीद गरेर खुद्रा व्यापारीलाई बिक्री गर्छ र मात्रै सुन्तला उपभोक्ताहरुले खरीद गर्न पाउछन् । हुण्डीमुण्डीमा नै किसानले बगानको सुन्तला बिक्री गरेपनि किसानलाई नाफानै हुने व्यापारी बताउछन् । ‘किसानलाई फाइदा नै हुन्छ, बजार पाएन भने ठेकेदार चाहि घाटामा जान्छ’–छिन्ताङका व्यापारी वालकुमार राईले भने ।
.................

                       कृर्षि मन्त्रीद्धारा बजारस्थलको अनुगमन

कृर्षि मन्त्री हरिप्रसाद पराजुलीले बुधबार धरान १३ स्थित कृर्षि उपज बजारस्थलको निरीक्षण गरेका छन् । त्यसक्रममा उनले व्यापारीहरुले हातैले सुन्तला छानिरहेको देखेपछि ग्रडिङ गर्ने उपकरण उपलब्ध गराउन सरकारले सहयोग गर्ने आश्वासन दिएका छन् । पहाडी क्षेत्रबाट गाडीमा साना ठुला, राम्रो नराम्रो सुन्तला मिसिएर आउछ । जसलाई थोक बिक्रेताहरुले आफै छान्ने गरेका छन् । ‘ग्रेडिङ मेशिन हामी उपलब्ध गराउछौं, तपाईहरु मन्त्रालयमा पत्राचार गरेर आउनुस्’–कृर्षिमन्त्री पराजुलीको भनाई उदृत गर्दै व्यवस्थापक भटराईले भने–‘सबै व्यापारीहरु निक्कै खुशी भएका छन् ।’ व्यापारी एवं बजारस्थल सञ्चालक समितिले मन्त्री पराजुलीलाई प्रस्तावित कृर्षि बजार ऐनमा संशोधन हुनुपर्ने बुदासहित ज्ञापन पत्र पेश गरेका थिए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे