रिठे सापकोटा:गल्फले धरानदेखि जर्मनीसम्म


धरान । उनले गल्फ कोर्षमा पाइला टेक्दा १३ बर्षका मात्रै थिए । गल्फ कोर्ष उनी भन्दा झन् ३ बर्ष कान्छा । धरान गल्फ क्लब स्थापना भएको मात्रै १० बर्ष भएको थियो । कोर्षमा तत्कालीन ब्रिटिश घोपा क्याम्पका गोराहरु मात्रै गल्फ खेल्थे । कोर्ष नजिकै घर भएका रिठे सापकोटा मात्र तेह्र बर्षको उमेरमा सन् १९७१ म बल ब्वाई हुदै कोर्षमा पाइला टेके ।
बल ब्वाई भएर कोर्षमा छिरेका उनले झण्डै ३ बर्षसम्म गोराको क्याडी भएर पछि पछि हिडे । केही समय पछि उनी क्याडी मास्टर भएर अरु क्याडीलाई प्रशिक्षण दिए । त्यही बीचमा उनले गल्फ खेल्न पनि सिके, र मात्र १७ बर्षको उमेर प्रो–टर्न हुदै आफुलाई नेपालकै दोस्रो व्यावसायिक गल्फरकोरुपमा उभ्याउन सफल भए । उनीभन्दा अघि काठमाण्डौंमा घनश्याम थापा मात्रै नेपालका पहिलो व्यावसायिक गल्फर थिए । त्यसबेला राजधानीमा रोयल नेपाल गल्फ क्लबमा शाही परिवारका सदस्य र धरान गल्फ क्लबमा अंग्रेजहरुको मात्रै गल्फ खेलमा बर्चस्व थियो ।
बल ब्वाईबाट गल्फ कोर्षमा पाइला चालेका तिनै रिठे सापकोटा अहिले भने जर्मनीको एर्फटमा गल्फका व्यावसायिक प्रशिक्षक छन् । सन् १९९० मा जर्मन भासिनु अघि भने उनले नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्र्तराष्ट्रिय गल्फ प्रतियोगिताहरुमा भाग लिएर आफ्नो प्रभावशाली खेल कौशल प्रर्दशन गरेका थिए । उनको खेलबाट धराने युवाहरु यति प्रभावित थिए कि उनको खेल हेर्न गल्फ कोर्षमा पछ्याउथे । उनकै पद्चापलाई पछ्याउदै अहिले धरानमा धेरै एमेच्योर र व्यावसायिक गल्फरहरु जन्मिएका छन् । अचेल पनि निर्वाणा गल्फ कोर्ष उनी र उनको खेलको चर्चाले तातिने गर्छ । उनको खेलबाट धराने युवाहरु मात्रै होइन, उनलाई कोर्षमा छिराउने गोराहरु पनि प्रभावित थिए । नेपालमा गल्फ खेलको भविष्य के होला भन्ने अन्यौल भए पनि त्यतिबेलै ब्रिटिशहरुले उनलाई सुझाव दिए–‘तिमीमा गल्फ खेलको भविष्य छ, त्यसैले खेल्न नछोड ।’
त्यही सुझावलाई मनन गरेर गल्फमा ध्यान केन्द्रीत गरेका सापकोटाले आफ्नो जीवनलाई नै गल्फमा समर्पित गरे । उनी प्रो–टर्न भएको बर्ष सन् १९७६ देखि १९९० सम्मको बर्ष उनको खेल क्यारियरको उत्कृष्ट समय रह्यो । जर्मन जानुअघि उनी प्रो–टर्न भएकै बर्ष इण्डियन टुरमा सहभागी भएर १९८८ सम्म हरेक बर्ष खेलेका थिए भने विल्स ओपन, कास्मिरमा पहिलो स्थान, डनलप ओपन, टुलिगञ्ज पहिलो स्थान, सिलोङ ओपन पहिलो स्थान भएका थिए । यस्तै, हङकङ ओपनमा सन् १९८७, १९८९ र १९९० मा सहभागी भए भने जोनी वाकर, बैंककमा सन् १९८७ र १९९० मा पनि भाग लिएर सापकोटाले आफ्नो खेल कौशल देखाएका थिए ।
चार दशक बढी गल्फमा जीवन बिताएका उनले जर्मनीमा व्यावसायिक प्रशिक्षक बनेको पनि २४ बर्ष बितिसकेको छ । उनले आफु व्यावसायिक खेलाडी मात्रै होइन, प्रशिक्षक बन्ने सपना साँचेका थिए । जर्मनमा पुगेपछि पुरा भएकोमा उनी सन्तुष्ट छन् । ‘म प्लेयर प्रो मात्रै होइन, टिचिङ प्रो बन्न चाहन्थे, त्यो सपना पुरा भएको छ’–पारिवारिक काममा घर आउदा भेट भएका ५६ बर्षीय सापकोटाले भने । तत्कालीन ब्रिटिश घोपा क्याम्प बन्द भएपछि उनी २ बर्ष गोकर्ण गल्फ क्लबमा बिताए । त्यही रहदा उनको जर्मन नागरिकसँग सम्पर्क भयो र एक महिनाको विदामा उनी जर्मनी गएका थिए । जर्मनीमा पुग्दासम्म उनलाई कामको लागि भन्ने थाह थिए । उनको अन्र्तवार्ता लिए, उतीर्ण भएपछि प्रशिक्षक बनाए । उनैले छोरा सविन सापकोटालाई सन् १९९७ मा जर्मनी बोलाएर प्रशिक्षण दिलाए । पछि सन् २००० देखि सविन पनि उतै प्रशिक्षक छन् । उनी भने बर्षेनी सुर्य नेपाल टुरमा सहभागी हुन नेपाल आउने गर्छन् ।

गल्फबाहेक अरु सोच्ने फुर्सद नभएका सापकोटा प्रशिक्षकबाट रिटायर भएपछि भविष्यमा नेपालमै केही गर्ने योजना छ । नेपालका राम्रो प्रशिक्षण, खेलाडीलाई सुविधा र प्रायोजक भेटिएमा गल्फ खेलको विकास हुने उनले बताए । ‘अहिले धेरै प्रोफेस्नल खेलाडीहरु आउन थालेका छन्, यो राम्रो कुरा हो । तर, गल्फ खेलको विकासको लागि नेपालमा कम्तीमा पनि सुर्य नेपाल जस्तो १० वटा प्रतियोगिता हुनुपर्छ । यहाँको खेलाडीहरु पनि विदेशमा खेल्न जानुपर्छ र मात्रै खेलस्तर पनि राम्रो हुन्छ’–सापकोटाले भने–‘रिटायर पछि म नेपाल आउने ९० प्रतिशत सम्भावना छ, मसँग योजना पनि छ ।’




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे