हरित आवास बनाए छुटैछुट पाइने


धरान । धरान उपमहानगरपालिकाले हरित आवासको कार्यविधि बनाएर आगामी तीन बर्षभित्रमा हरित आवासिय नगरकोरुपमा विकास गर्ने नीति लिएको छ । हरित आवास निर्माणमा जनतालाई आर्कषण एवं प्रोत्साहन गर्न नक्सा पासमा छुट, नक्सा पासको प्रक्रिया चाडै गर्नेलगायत विभिन्न सेवा–सुविधा उपलब्ध गराउने उपमहानगरपालिकाले जनाएको छ ।
धरानमा गत बर्षको जेठ महिनादेखि हरित आवास परियोजना सञ्चालनमा छ । धरानबाहेक ललितपुर र पोखरा उपमहानगरले पनि हरित आवासको अवधारणालाई अघिबढाएको छ । ‘हरित आवास बनाउन चाहनेलाई घरनक्सा पासमा ५० प्रतिशत छुट दिने निर्णय भएको छ । नक्सा पास अवधिलाई पनि छोट्याउने, हरित भवन बनाउनेलाई १५ दिने सुचनाबाहेक चाडै इजाजत दिनेजस्ता सुविधा दिइनेछ’–उपमहानगरपालिकाका योजना शाखा प्रमुख एवं हरित आवासका फोकल पर्सन सुरज श्रेष्ठले भने–‘आगामी बर्षदेखि हरित आवास बनाउने उत्कृष्ट ३ जनालाई विश्व वातावरण दिवसमा सम्मान पनि गछौं, घर निर्माण सम्पन्न गरिसक्ने अवधि २ बर्षदेखि बढाएर हरित आवासलाई ३ बर्षको समय दिइनेछ ।’
तीब्र शहरीकरणले क्रंक्रिटको घरहरु थपिने क्रम ह्वात्तै बढेपछि सरकारले वातावरण अनुकुलको घर निर्माणलाई प्रोत्साहन गर्न हरित आवासबारे निर्देशिका मस्यौदा गरिरहेको छ । ललितपुर, पोखरा र धरानलाई भने युएन ह्वाविट्याटले हरित आवास(ग्रिन होम्स) परियोजनाको लागि छनौट गरेपछि अहिले कार्यान्वयनको क्रममा छ । धरानले हरित आवासलाई कार्यान्वयन गर्न योजना तर्जुमा गरिसकेको छ भने एउटा वर्किङ कमिटि नै बनाइसकेको छ । हरित आवास बनाउन नागरिकलाई प्रोत्साहन गर्न धरानले विभिन्न सहुलियत एवं राजश्व छुटको निर्णय पनि गरिसकेको छ । हरित आवास बनाउने घरधनीहरुलाई निःशुल्क प्राविधिक सहयोग उपलब्ध हुनेछ । ‘हरित आवासमा बर्षात्को पानी संकलन, सोलर प्रणाली, बायोग्याँसलगायत प्रविधि प्रयोग गरे लागत इस्टिमिटको निर्माण खर्चको २५ प्रतिशत वा एक लाख जुन कम हुन्छ, त्यो उपलब्ध गराउनेछौं’–इञ्जिनियर श्रेष्ठले भने ।
धरान राष्ट्रिय भवन निर्माण संहिता लागु गर्ने उपत्यकाबाहिरको पहिलो नगरपालिका हो । ०४५ सालको भुकम्पबाट ठुलो क्षति व्यहोरेको धरान भुकम्प प्रतिरोधी घर तथा भवन निर्माणमा अहिले नमुना शहर बनेको छ । तर, पक्की एवं क्रंकिटको घर(भवन) वातावरणमैत्री(अनुकुल) नहुदा पर्यावरणमा असर पुग्न थालेपछि हरित आवासको आवश्यकता महसुस भएको दिगो आवासका विज्ञ डा.सन्तोष श्रेष्ठले बताए । ‘हरित आवास भनेको हरियो घर वा रुखविरुवा धेरै रोपेको घर भन्ने होइन । दिगोपन भएको आवास बनाउने हो, जसले प्राकृतिक वातावरणलाई जोगाउछ, प्रर्दुषण घटाउछ, बस्न आरामदायी हुन्छ, उर्जा र पानीको बचत हुन्छ र स्वास्थ्य वातावरण पनि सृर्जना गराउछ’–हरित आवासबारे विज्ञ श्रेष्ठले भने ।
उनका अनुसार नेपालमा उहिले बनेका परम्परागत घरहरु सुरक्षित र बलियो नभए पनि ती वातावरण अनुकुलका घर थिए । जसले प्राकृतिलाई क्षति पुर्याउदैनथियो, प्रर्दुषण पनि गराउदैन थियो र उर्जा खपत पनि हुदैन थियो । हिजोआजका पिलरसहितको पक्की घर बलियो बनेपनि ती वातावरण अनुकुलको आरामदायी घर छैनन् । ‘अहिलेको घर भुकम्पबाट जोगाउने उद्देश्यले बनाइएको छ, हरित आवासमा भने झ्याल कहाँ राख्दा उपयुक्त हुन्छ, बेड रुम कता राख्ने, हावा कताबाट बहन्छ, घाम कताबाट छिराउने जस्ता कुराहरु ख्याल गरिएको हुन्छ’–श्रेष्ठले भने–‘हरित आवासले गर्मीमा सितलता र जाडोमा न्यायो दिन्छ । उर्जा र पानीको खपत धेरै कम गराउछ ।’
इञ्जिनियर एवं विज्ञहरुका अनुसार हरित आवासमा वातावरणमैत्री तथा दिगो भवन निर्माणका सामग्री प्रयोग गरिएको हुन्छ भने घाम सदुपयोगी डिजाइन तथा आन्तरिक वायुको गुणस्तर वृद्धि गरिएको हुन्छ । भवनमा सौर्य उर्जा साथ उर्जा किफायती प्रविधिहरुको प्रयोग गरिएको हुन्छ भने बर्षातको पानी संकलन प्रणाली, पानी बचत हुने उपकरणको प्रयोग तथा भवनबाट निस्कने फोहोर पानीको उपयुक्त व्यावस्थान र फोहोर मैलाको विर्सजन वा पुनः प्रयोगको व्यवस्थापन हुनुपर्नेछ । धरानमा हरित आवास कार्यान्वयनको क्रममा योजना गोष्ठी, योजना तर्जुमा, वातावरणमैत्री निर्माण सामग्री(इटाको विकल्पमा हलो क्रंक्रिट ब्लक) निर्माणको तालिम, इञ्जिनियर र ठेकेदारहरुलाई तालिम, प्लम्बर, इलेक्ट्रिसियनहरुलाई तालिम दिने काम भइसकेको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे