६ बुँदे सहमति पछि पूर्वमा यातायात सुचारु


धरान । दुर्घटना न्युनीकरण गर्न सिट क्षमताभन्दा बढी यात्रु चढाएका सवारीलाई ट्राफिक प्रहरीले कडाई एवं कारबाही गर्न थालेपछि दुई दिनदेखि बन्द रहेको पूर्वमा मंगलबार दिउँसोदेखि यातायात सुचारु भएको छ ।
यातायात व्यावसायीहरुको पहलमा मंगलबार धरान ९ स्थित पूर्वाञ्चल यातायात संघको कार्यालयमा सुनसरीका प्रजिअ, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख र मजदुर संगठनका प्रतिनिधिहरुबीच भएको वार्तामा ६ बँुदे सहमति भएपछि यातायात सुचारु भएको हो । धरानबाट पहाडी रुटमा चल्ने माइक्रोमा सिट क्षमता भन्दा धेरै यात्रु चढाएको भन्दै ट्राफिक प्रहरीले कडाई गरेपछि आइतबारदेखि माइक्रो चलेको थिएन भने सोमबारदेखि बस पनि ठप्प थियो । अचानक सवारी ठप्प हुँदा सर्वसाधारण यात्रुहरुको विचल्ली भएको थियो भने टेम्पो, मारुती भेनलगायत साना सवारीमा महंगो शुल्क तिरेर यात्रा गर्न बाध्य भएका थिए ।
वार्तामा स्थानीयस्तरका प्रहरी, ट्राफिक प्रहरीबाट चालक, परिचालकलाई शिष्ट र सभ्य व्यवहार गर्ने र चालक मजदुरहरुले पनि त्यस्तै व्यवहार गर्ने सहमति भएको छ । यसैगरि, सवारीसाधनको ढोका लगाएर मात्रै सवारी सञ्चालन गर्ने र लोकल यात्रीहरुलाई सिट क्षमता र भित्री भागबाहेक अन्यत्र राखी सञ्चालन गर्न नपाउने सहमति भएको छ । यसैगरि, आवश्यक कागजपत्र गाडीमा राख्ने, गाडीको हुटमा झोला, साइकल जस्ता साधारणतया सामानहरुलाई राख्न दिने, गाडीको छत तथा ढोकामा यात्री राखेर गाडी चलाउन नपाउने पनि सहमति भएको छ । साथै, व्यावसायी तथा मजदुरहरुको समस्या विद्यमान ऐन नियममा नपरेको र नमिलेको कुरालाई सिडियोले संस्थागतरुपमा सरकारलाई पेश गर्ने पनि सहमति भएको छ ।
‘व्यावसायी र मजदुरहरुको समस्या छ, तर सर्वसाधारण यात्रुहरुलाई मर्का परेकोले स्थानीयस्तरमा सुल्झाउन सकिने कुरा र माथिल्लोस्तरबाट पुरा हुनसक्ने समस्याबारे सुझाव पेश गर्ने गरि लिखित सहमति भएको छ’–सहजकर्ता एवं सप्तकोशी बस व्यावसायीका अध्यक्ष तिलक राईले भने । वार्ताको क्रममा व्यावसायी र मजदुरहरुले सवारी चेकजाँचको क्रममा ट्राफिक प्रहरीले चालक मजदुरहरुलाई असभ्य भाषा र व्यहार प्रर्दशन गर्ने गरेको गुनासो गरेका थिए । साथै, उनीहरुले दुर्घटना न्युनीकरणको नाममा सरकारले एसएलसी पास गरेकालाई मात्रै लाइसेन्स दिने र नवीकरण गर्ने गरेको निर्णयले गरिखान नदिएको भन्दै एक दर्जन लाइसेन्स नै प्रजिअसमक्ष बुझाएका थिए । ‘दुर्घटनाको वास्तविकता बुझ्दै नबुझी, छानबिन नगरी नै चालकलाई दोषी देखाइन्छ र जेल हाल्ने कानुन ल्याइदैछ’–नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका कोशी अञ्चल सचिव लक्ष्मी बाँनियाले भने ।
पूर्वाञ्चल यातायात संघका अध्यक्ष सरोज श्रेष्ठले पनि सडक क्लियर गराउन राज्य, प्रशासनले ध्यान नदिएको भन्दै सडक आसपासमा लाग्ने हाटबजार र अतिक्रमणलाई नरोके दुर्घटना न्युनीकरण गर्न बाधक हुने बताए । सुनसरीका प्रमुख जिल्ला अधिकारी एवं यातायात व्यवस्थापन समितिका संयोजक रविराज पन्थले ओभरलोड, ओभर स्पिड र ओभर कन्फिडेन्स भएर चालकले सवारी नचलाउन आग्रह गरे । साथै उनले सवारी चेकजाच गर्दा प्रहरीबाट शिष्ट र सभ्य व्यहार एवं भाषा प्रयोग हुने आश्वासन दिए । ‘चालकलाई रिस उठ्ने र तनाव हुने व्यवहार गरिदिनु हुदैन, तनावले मानिसको ध्यान आफ्नो काम भन्दा अन्यत्रै मोडिन्छ र दुर्घटना हुने अधिक जोखिम हुन्छ’–उनले भने ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे