गजल संग्रह प्रष्फुटनको विमाचन


धरान । म जहाँ जहाँ पुग्छु, त्यहाँ केही गरुँ भन्छु
म पुग्ने टारबारीमा सृर्जनाको बिऊ छरुँ भन्छु
गजलको यो शेरले भनेजस्तै गजलकार प्रकाश दिप्साली मिराकले शनिबार धरानमा नयाँ काम गरेर देखाइदिए । साहित्यकार एवं गजलकारहरुको उल्लेख्य उपस्थितिमा उनले यो गजल सुनाइरहदा गर्वानुभूति गरेको प्रष्टै झल्कन्थ्यो । उनी धरान १० स्थित विजयपुर एफएममा गजल कार्यक्रम प्रष्फुटनका प्रस्तोता हुन् । तर, उनी देशको विभिन्न कुनाबाट प्राप्त भएको गजल वाचन गर्नमा मात्रै सिमित रहेनन् । उनले ती गजलहरुलाई जतन गरेर राखे, अनि सबै सर्जकहरुको गजल समेटेर संयुक्त गजल संग्रह प्रष्फुटन प्रकाशन गरिछाडे ।
उनको यो काममा सुधा लिट्रेचर गु्रप नेपाल अमेरिकाले साथ दियो । रेडियो कार्यक्रममा ६ महिनाको अवधिमा प्राप्त भएको २ सय ९ वटा गजलहरुको संग्रहको शनिबार प्रमुख अतिथि एवं गजलकार शिव रेग्मी प्रणत, पिण्डेश्वर विद्यापिठका प्राचार्य प्रा.डा.भिम खतिवडा, जगलकाद्धय एकु घिमिरे, यात्री शेखरलगायतले संयुक्तरुपमा विमोचन गरे । देशभर खुलेका अधिकांश एफएम रेडियोहरुमा गजल सम्बन्धी साहित्यिक कार्यक्रम प्रशारण गरेपनि त्यहाँ सुनाइएको गजलहरुलाई प्रस्तोताले वास्ता गर्दैनन् । तर, एफएममा सुनाइएका गजलहरुलाई दिप्सालीले भने पढ्न योग्य पनि बनाएको भन्दै वक्ताहरुले प्रसंसा गरेका थिए ।
‘रेडियोमा सुनिएको गजलहरुलाई जतन गरेर पढ्ने मौका पनि दिएर दिप्सालील जीले सह्रानीय काम गर्नुभएको छ’–नेपाल गजल प्रतिष्ठानका केन्द्रीय अध्यक्ष यात्री शेखरले भने–‘देशभरका ३६० रेडियो एफएममध्ये ९० प्रतिशतले गजलको कार्यक्रम गर्छन्, तर ती कार्यक्रममा वाचन गरिएका स्रष्टाहरुको रचनालाई प्रकाशन गर्ने काम कमैले गर्छन् ।’ गजलमा हाम्रो(नेपाली)पन आइसकेको र स्वीकार पनि गरिसकेको जिकिर गर्दै उनले आयातित भन्ने वहस अन्त्य भइसकेको दाबी गरे ।
गजलकार एकु घिमिरेले पत्रपत्रिकाको पहुँच नभएको दुर्गम क्षेत्रबाट रेडियो सुनेर आफ्ना रचनाहरु पठाउने गरेको उल्लेख गर्दै रेडियोको साहित्यिक कार्यक्रमहरुले नयाँ स्रष्टाहरुलाई फक्राउने अवसर दिएको बताए । साथै उनले प्रष्फुटनमा गजलको विविधताको फुलबारी भएको पनि बताए । ‘प्रष्फुटन राम्रो संग्रह निस्किएको छ, गजल विधा भएकोले त्यसभित्र विविधता आएको छ । यो संग्रहमा पनि विविधिताको फुलबारी छ’–घिमिरेले भने–‘यहाँ लोक गन्ध, लोक वास्तविकता पाइन्छ । यो संग्रहले ३० वटा जिल्लाका स्रष्टाहरुलाई समेटेको छ ।’
कर्यक्रम प्रस्तोता एवं संग्रहका सम्पादक प्रकाश दिप्सालीले रेडियोमा कार्यक्रम प्रस्तुतीसँगै नयाँ काम गर्ने चाहनाले संग्रहको जन्म भएको बताए । ‘रेडियोमा काम गर्ने इच्छा थियो, पुरा भयो । तर, नयाँ काम गरौं भन्ने पनि थियो’–उनले भने–‘कसैलाई भेदभाव नगरी संग्रह प्रकाशन गरेका छौं ।’ सुधा लिट्रेचर गुप्रकी प्रतिक्षा वान्तवाको अध्यक्षतामा आयोजित विमोचन कार्यक्रममा प्रतिनिधि गजलहरु पनि वाचन गरिएको थियो ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे