दुर्घटना कम गर्न चालकको तीन पुस्ते विवरण राखिदै


धरान । लापरवाहीले होस वा अन्य कारणले, सवारी दुर्घटना भएपछि चालकहरु भाग्ने गरेका छन् । कतिपय चालकको वास्तविक विवरण स्वयम गाडी धनी एवं व्यावसायीलाई पनि नहुदा ती चालकहरु कानुनी दायराबाट सहजै उम्कन्छन् । तर, अब भने दुर्घटना पछि फरार भए पनि चालकहरुले धर पाउने छैनन् ।
मुलुकको विभिन्न भागमा सवारी दुर्घटनामा धेरै मानवीय क्षति व्यहोर्नु परेपछि चालकलाई जिम्मेवार बनाउन पूर्वमा तीन पुस्ते अभिलेख राख्न थालिएको छ । चालकको लापरवाहीले दुर्घटना बढेको भन्दै सरकारले नयाँ नियम बनाएलगत्तै पूर्वका यातायात व्यावसायी र मजदुर संगठनहरुसँगको सहकार्यमा इलाका प्रहरी कार्यालय धरान र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले आइतबारदेखि चालकको अभिलेख संकलन गर्न थालेको हो । सवारी दुर्घटनापछि चालकहरु फरार भइदिने र उनीहरुको वास्तविक विवरण सवारी धनी एवं व्यावसायीसँग पनि नहुदा कानुनी दायराबाट सहजै उम्कने गरेकोले तीन पुस्ते अभिलेख राख्न शुरु गरेको प्रहरीको भनाई छ ।
अभिलेख राखेपछि विगतमा जस्तो सहजै उम्कन नसक्ने भएकोले चालकहरु सवारी चलाउदा बढी जिम्मेवार हुने र दुर्घटना न्युनीकरणमा टेवा पुग्ने इलाका प्रहरी कार्यालयका कार्यबाहक प्रमुख एवं प्रहरी निरीक्षक मुकुन्द रिजालले बताए । ‘कतिपय दुर्घटनामा चालकको गम्भीर लापरवाही भएर मानवीय क्षति भएको प्रतिवेदनहरुले औल्याएको छ । घटनापछि चालकहरु कारबाहीबाट बच्न फरार हुने र उनीहरुको प्रष्ट विवरण थाह नहुदा कानुनी दायरामा ल्याउन नसकिने भएकोले तीन पुस्ते अभिलेख राख्न शुरु गरेका हौं’–प्रहरी निरीक्षक रिजालले भने–‘तीन पुस्ते अभिलेख र चालकको सम्पुर्ण जानकारी भएपछि विगतमा जस्तो फरार भएपनि कानुनी दायरामा ल्याउन सकिन्छ र पीडितलाई न्याय दिलाउन पनि सहज हुन्छ ।’ अभिलेख रहेपछि अपराधिक गतिविधिमा संलग्न रहेका चालकहरुलाई कानुनी दायरामा ल्याउन पनि सजिलो हुने प्रहरीको भनाई छ ।
पहिलो चरणमा तीनकुनेमा तराई भेगबाट धरान भित्रिने सार्वजनिक सवारीका चालकहरुको तीन पुस्ते विवरण संकलन गरिने र त्यसपछि पहाडी रुटमा चल्ने बसहरुको अभिलेख लिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख एवं प्रहरी निरीक्षक प्रदिपकुमार सिंहले बताए । उनका अनुसार दोस्रो चरणमा माइक्रो, भाडा तथा निजी मारुती भेनजस्ता साना सवारीका चालकहरुको पनि अभिलेख लिइनेछ । प्रहरीले सवारीसाधानको चालक, सहचालक र परिचालक तिनै जनाको छुट्टाछुट्टै विवरण संकलन गरिरहेको छ । ‘प्रायःगाडीका चालकहरु चाडो चाडो फेरिने गर्दा गाडी धनीलाई पनि चालकको बारेमा सबै जानकारी हुदैन, जस्ले गर्दा दुर्घटना गराएपछि उक्न सजिलो भएको छ’–सिंहले भने–‘अब भने चालकको नाम, ठेगाना, वतन, उमेर, लाइसेन्सको किसिम, नागरिकता, सम्पर्क नम्बर सबै विवरण हामीसँग रहन्छ । यसले चालकहरुलाई सावधानीपूर्वक गाडी चलाउन जिम्मेवार महसुस गराउनेछ र दुर्घटना कम हुने आशा छ ।’

विवरणमा चालक, सहचालक एवं परिचालकको नाम, चलन चल्तीको नाम, उमेर, अस्थायी र स्थायी ठेगाना, नागरिकता नम्बर, लिएको जिल्ला, फोन नम्बर, मोवाइल नम्बर, शैक्षिक योग्यता, बाबु, बाजेको नाम, बैवाहिक सम्बन्ध, श्रीमतिको नाम सवारी चालक अनुमति पत्र भए नभएको, पत्र जारी भएको मिति र समयावधि, अनुमति पत्रको किसिम, सवारी साधानमा काम शुरु गरेको मिति, हाल काम गर्दै गरेको संस्था, बस नम्बर, सञ्चालित रुट, सवारी धनीको नाम, ठेगाना र सम्पर्क नम्बरलगायत विवरणमा खुलाउनुपर्नेछ । अभिलेख संकलनको क्रममा पनि प्रहरी, व्यावसायीहरुले चालकहरुलाई दुर्घटना न्युनीकरण सम्बन्धी अभिमुखीकरण गराउने गरेको छ ।
चालकहरुको तीन पुस्ते अभिलेख प्रहरी, व्यावसायी, मजदुर संगठन र आवश्यकता भएसम्मका सरोकारवालाहरुले राख्ने व्यावसायीहरुले जनाएका छन् । व्यावसायीहरुका अनुसार धरान भएर दैनिक ६ देखि ७ सयको हाराहारीमा सवारी साधान आवात जावत गर्ने गर्छ । ‘चालकको कमजोरीले दुर्घटना बढ्यो भन्ने आरोप धेरै आएपछि न्युनीकरणको लागि सबै मिलेर पहल गरेका हांै, यो अभिलेखले लापरवाही गर्दा कानुनी दायराबाट उम्कन सकिदैन है भन्ने सचेतना चालकहरुलाई दिन्छ’–पूर्वाञ्चल यातायात संघका अध्यक्ष सरोज श्रेष्ठले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे