धरान उप–महानगरपालिकामा सम्भावनासँगै चुनौतीको पहाड


धरान । सरकारले उप–महानगरपालिका घोषणा गरेपछि धरान नगरपालिकाको बोर्ड फेरिएर उप–महानगरपलिका बनेको छ । बोर्ड त सजिलै फेरियो, समग्र उप–महानगर क्षेत्रको भुगोल फेर्न भने उपमहानगर कार्यालयलाई चुनौतीको पहाड छ ।
गएको मंसिर १६ गते सरकारले धरानसहित ७ वटालाई नगरपालिकालाई उप–महानगरपलिका घोषणा गर्यो । धरानमा पहिला नै छिमेकी पाँचकन्या गाविस गाभिएर उपमहानगर हुने बाटोमा थियो भने उप–महानगरपालिका घोषणा हुदा अर्को छिमेकी गाविस विष्णुपादुका पनि गाभियो । धरान नगर १९ वटा वडाबाट विस्तार भएर २७ वटा नगरपालिका भएको छ । धरानको क्षेत्रफल १०३ वर्गकिलोमिटरबाट बढेर १९२ वर्गकिलोमिर पुगेको छ भने जनसंख्या पनि बढेर १ लाख ३७ हजार ७ सय ५ पुगेको छ । यो घोषणासँगै साविक धरानबासीहरु उप–महानगरबासी भएकोमा खुशी छन् र थप विकास हुने आशामा छन् । भर्खरै धरानमा गाभिएको पाँचकन्या र विष्णुपादुकाका जनतामा पनि थप सेवा सुविधा र विकास पाउने तीब्र आकांक्षा छ । यी तिनै क्षेत्रका जनताको आकांक्षालाई सिमित स्रोत, साधन तथा बजेट भएको उप–महानगरपालिका कार्यालयले भने सजिलै पुरा गर्न सक्ने क्षमता भने छैन । यद्यपी, चुनौतीहरु धेरै हुदाहुदै पनि सम्भावना भने नभएको होइन ।
‘धरानमा गाभिएको दुई गाविस भौगोलिक विकटता छ, पहाडी क्षेत्र धेरै छन् । त्यहाँका जनतामा उप–महानगरबासी भएकोमा विकास, सेवा सुविधाको अपेक्षा ह्वात्तै बढेको छ । ’–उप–महानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खवितडा भन्छन्–‘तर, ती क्षेत्रमा आधारभुत शहरी सेवा पुर्याउन पनि ठुलो समस्या छ ।’ धरानमा गाभिएको विष्णुपादुकामा वडा २७ र पाँचकन्यामा वडा २२ र २३ को केही भागबाहेक सबै पहाडी र भौगोलिकरुपमा विकट क्षेत्र छ । धरानमा पछि थपिएको ८ वटा वडा मध्ये पाचकन्याको २० र २३ वडाबोहक अन्य ६ वडामा एक मिटर पनि पक्की सडक छैन । ती क्षेत्रमा शहरी सुविधा एवं विकासको पूर्वाधारहरु सडक, खानेपानी, विजुली, शिक्षा, स्वास्थ्य, सुरक्षा पुर्याउन उपमहानगरपालिकालाई सहज छैन । ‘पछि थपिएको वडामा भौगोलिक विकटताले विकासको काममा प्राविधिकलाई अनुगमन र काम सञ्चालन गराउन नै कठिनाई छ’–प्रशासकीय अधिकृत खवितडाले थपे ।
थप भएका विष्णुपादुका र पाँचकन्याकामा पर्ने वडामा वस्तीहरु टाढा टाढा भएकोले सबै घरमा विकासका न्युनतम पूर्वाधार एवं सेवा पुर्याउन समस्या हुने योजना शाखा प्रमुख एवं ईञ्जिनियर सुरज श्रेष्ठ बताउछन् । उनका अनुसार भौतिक पूर्वाधार, बाटो, पुललगायत विकासको काम तथा जनताको अपेक्षा पुरा गर्न उप–महानगरपालिकालाई एकदशक समय लाग्नसक्छ । ‘गाविसको नीतिअनुसार सञ्चालनमा रहेको क्षेत्रलाई उपमहानगरमा ढाल्न नै चुनौती हुन्छ, भौगोलिक विकटताको कारण त्यहाँका जनतालाई विकास, सेवा सुविधालगायतमा एकदशकसम्म हामीले चुनौती व्यहोर्नुपर्छ’–उनी भन्छन् ।
.........

प्रशासनिक झमेला

स्थानीय निकायमा जनप्रतिनिधि धरान नगरपालिकामा २ सय ३१ जना कर्मचारीको दरबन्दी थियो । पछि उक्त दरबन्दी २ सयमा सिमित भयो भने अवकाश हुने र राजिनामा दिने कारणले कर्मचारी संख्या १ सय ८८ मा झर्यो । जनप्रतिनिधिविहिन भएपछि एक पटक मात्रै  कर्मचारी नियुक्ती गरिए । अहिले उप–महानगरपलिका भएपछि १९० जना कर्मचारी छन् । सिमित जनशक्तिको कारण थप गरिएको क्षेत्रमा सेवा प्रवाह गर्न उपमहानगरपालिकालाई समस्या छ । विगतमा आफ्नै गाविस भवनबाट सेवा पाइरहेका स्थानीय भौगोलिक विकटता छिचोल्दै धरान आइपुग्नुपर्ने बाध्यता पनि बनेको छ । व्यक्तिगत घटना दर्ता र नागरिकताको सिफारिशबाहेक सबै कामको लागि जनता धरान १२ स्थित उपमहानगरपालिकाको कार्यालय आउनुपर्नेछ ।
उपमहानगरपालिकाका अनुसार हाल पाँचकन्या क्षेत्रको वडा २० लाई १३ वडा समितिको सचिवले काम गरिरहेका छन् भने २१, २२ र २३ वडाको लागि संयुक्त वडा समिति कार्यालय बनाएर सेवा प्रवाह भइरहेको छ । विष्णुपादका क्षेत्रको २४ नम्बर वडालाई वडा १६ को सचिवले, वडा २७ लाई वडा १७ को सचिवले र २५, २६ वडालाई गाविस सचिवले संयुक्तरुपमा काम गरिरहेका छन् । ‘अहिले संयुक्त वडा कार्यालय बनाएर कतिपय सेवा प्रवाह गरिरहको छौं, तर नयाँ वडाबासीहरुले आफ्नै क्षेत्रमा वडा कार्यालय राखेर सेवा दिनुपर्ने माग गर्न थालिसकेका छन्’–प्रशासकीय अधिकृत खतिवडाले भने–‘जनशक्ति कम छ, मन्त्रालयले नयाँ नथप्नु भनेकोले समस्या छ ।’
..........

आर्थिक चुनौती

साविक धरानका जनताको विकासे माग एवं योजना पुरा गर्न धौ धौ थियो । सिमित बजेट एवं स्रोत, साधानको कारण ठुला आयोजना एवं दीर्घकालीन योजना सञ्चालन हुन नसकेको धरानमा उपमहानगरपालिका भएपछिको ठुलो चनौती पनि आर्थिक नै हो । सरदर पौनै ५ करोड आन्तरिक आम्दानी भएको धरानले उपमहानगर भएपछि आम्दानी १० करोड पुर्याउयनुपर्छ । आम्दानीको बार्षिक बृद्धिदर भने १० देखि १५ प्रतिशत मात्रै छ । धरानमा पाँचकन्या र विष्णुपादुका गाविस गाभिदा त्यहाँका जनताको विकासको चाहना थपियो तर आयस्रोत भने थपिएन । उल्टै सरकारले धरानलाई दिदै आएको अनुदानमा कटौती भएपछि उपमहानगरपालिका घोषणासँगै धरानले पहिलो गाँसमा ढुंगाको सामना गर्नुपरेको छ । ‘नयाँ क्षेत्र थपिदा गाविसका बासिन्दाहरुको आकांक्षा ह्वात्तै बढ्यो, तर इटहरीमा जस्तो आयआर्जन हुने क्षेत्र भने थपिएन’–लेखा अधिकृत भेषराज अधिकारी भन्छन्–‘पाँचकन्या क्षेत्रबाट ८, ९ लाख आम्दानी भइरहेको देखिन्छ भने विष्णुपादुकामा डेढ, २ लाख आन्तरिक आय छ । उपमहानगरपालिका घोषणापछि सरकारले अनुदान बढाउनुको साटो कटौती गरिदियो ।’ साविककै धरानलाई बजेट अभावले योजनाहरु थाति राख्नु परिरहेको अवस्थामा अब थप नयाँ क्षेत्रमा बजेट पुर्याउनु उपमहानगरलाई चुनौती छ ।

सम्भावना पनि प्रशस्तै

एपमहानगरपालिका घोषणाले चुनौतीको पहाड खडा गरेपछि धरानको लागि सम्भावना पनि प्रशस्तै देखिएको छ । धरानमा गाभिएको नयाँ क्षेत्रमा प्राकृतिक स्रोतको खानी छ भने पर्यटकीय पूर्वाधार विकासको पनि प्रचुर सम्भावना छ । प्रशस्तै खेतीयोग्य जमिन भएकोले अग्र्यानिक खेती तथा नगदे वाली गरेर जनताको आयस्तर उकास्न सकिन्छ । ‘उप–महानगरपालिका भएपछि सम्भावनाहरु धेरै छ, पर्यटकीय पूर्वाधारको विकास हुनसक्छ, खुला क्षेत्र धेरै भएकोले ठुला आयोजनाहरु ल्याउन सकिन्छ’–योजना शाखा प्रमुख एवं ईञ्जिनियर सुरज श्रेष्ठ भन्छन् ।
उनले भनेजस्तै प्रशासकीय अधिकृत खतिवडा पनि धार्मिक पर्यटकीय महात्वको क्षेत्र विष्णुपादुका, पर्यटकीय गन्तव्य पाँचकन्या गाविसको भेडेटार, ऐतिहासिक साँगुरी गढी धरानमा गाभिएकोले पर्यटकीय पूर्वाधार एवं विकासको प्रचुर सम्भावना देख्छन् । विगतमा पाँचकन्या र विष्णुपादुकामा पर्ने खानेपानीको प्रमुख स्रोत सर्दुजलाधार क्षेत्र अब धरानमा गाभिएकोले पनि संरक्षणको पहल गर्न सकिने उनी बताउछन् । ‘विष्णुपादुका एक गाँउ एक उत्पादनमा बेसारले परिचित ठाउँ हो, यसलाई नगदेवालीकोरुपमा अझ प्रोत्साहन गर्नसकिन्छ’–खतिवडाले भने–‘असिमित आकांक्षाहरु छन्, तर विगतमा जस्तै जनसहभागीताको नीति अवलम्बन गरेर जनताबाट सहयोग जुटाउदै काम अघि बढाउनुपर्छ, समय लाग्छ तर विकास आवश्यय हुन्छ ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे